Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

दर्शनशास्त्रः  दुनिया बुझ्ने र बदल्ने दृष्टि  (भाग- १)

दर्शनशास्त्रः दुनिया बुझ्ने र बदल्ने दृष्टि (भाग- १)

  • बिहिवार, फाल्गुण २२ २०७६

  • राजकुमार श्रेष्ठ


  • दर्शनको परिचय

    सामान्य भाषमा दर्शन भनेको हेर्नु हो । हरेक मानिसका आफ्नै दर्शन हुन्छन्, संसारलाई हेर्ने र बुझ्ने आफ्नै तरिका/दृष्टिकोण हुन्छन् । अर्को शब्दमा भन्दा दर्शनशास्त्र भनेको प्रकृति, समाज र चिन्तनको सामान्य नियमबारे अध्ययन गर्ने पद्धति पनि हो । दर्शन भनेको निकै गहन र गहिरो विषय भएकाले दुईचार जना ठूलठूला विद्धान, पण्डित, भलाद्मी, बुद्धिजीवी, साधुसन्त र ऋषिमुनीहरू तथा लामालामा दाह्री पाल्नेहरूले मात्र यसलाई बुझ्न र पढ्न सक्ने विषय हो, साधरण मानिसले यसलाई बुझ्न सक्दैनन् भन्ने गलत सोचाइ रहेको छ । दर्शन त हरेक व्यक्तिको सरोकारको विषय हो । दर्शन त हरेक मानिससँग हुने विषय हो । फरक यति हो कि कसैसँग सहि दर्शन हुन्छ त कसैसँग गलत दर्शन हुन्छ । सहि दर्शन हुने व्यक्तिले आफ्नो जीवन र समाजलाई उन्नती/प्रगतिको मार्गमा डोर्याउन मद्दत गर्दछ भने गलत दर्शन हुने व्यक्तिले आफू र समाजलाई नै खराव मार्गमा लैजान सघाउ पु¥याउँदछ । हरेक व्यक्तिको कुनै पनि घटना र समस्याको व्याख्या विश्लेषण गर्ने ढंग र जीवन जिउने एउटा आफ्नै शैली हुन्छ ।

    यो संसारको उत्पत्ती कसरी भयो होला ? यो कहिलेदेखि थियो होला र कहाँसम्म फैलिएको होला ? यो पृथ्वीमा मानिस कहिले, कहाँबाट र कसरी आयो होला ? भन्ने जस्ता अनेक जिज्ञासा मानिसको दिमागमा आउने गर्दछ र यस्ता विषयमाथि हरेक व्यक्तिको एउटा धारणा बनेको हुन्छ । प्राचीन यूनानका महान दार्शनिक प्लेटोले भनेका छन् कि ‘‘दर्शनको स्रोत आश्चर्य र जिज्ञासामा छ ।’’ मान्छेको यहि जीवन र जगतलाई हेर्न, बुझ्न, बदल्न र जिउन सहयोग गर्ने विचारधारा दर्शन हो ।

    दर्शनको परिचयलाई परिभाषा, कार्य र लक्ष्य गरी तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ ।

    दर्शनको परिभाषा

    दर्शन’ संस्कृत शव्द हो । संस्कृतमा ‘दर्शन’ शव्दको अर्थ हेर्नु हुन्छ । अंग्रेजी भाषमा दर्शन शव्दलाई philosophy भनिन्छ र यो ग्रीक शव्द ‘philosophia बाट आएको हो । ग्रीक भाषामा philo को अर्थ– प्रेम र sophia को अर्थ– ज्ञान/वुद्धि हुन्छ । यसरी philosophy को अर्थ– ज्ञानप्रतिको प्रेम हुन्छ । तसर्थ पाश्चात्य मान्यताअनुसार दर्शनशास्त्र भनेको ज्ञान–प्रेम र दार्शनिक भनेको ज्ञान–प्रेमी हो । पश्चिमी दार्शनिक प्लेटोले सत्य वा सत्य साक्षात्कार भनेर दर्शनशास्त्रको व्याख्या गरेका थिए ।

    विसौं सताव्दीका प्रसिद्ध भारतीय दर्शनशास्त्री सर्वपल्ली राधाकृष्णले ‘‘दर्शनशास्त्र जगतको विषय बोध गर्ने मानव प्रयत्न हो’’ भनेका छन् । पहिला दर्शन हेर्ने, बुझ्ने र व्याख्या गर्ने शास्त्र मात्र थियो । तर विश्व जर्मन दार्शनिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनका प्रवर्तक कार्ल माक्र्सले पहिलो पटक दर्शनको परिभाषा नै बदलिदिए । उनले दर्शनलाई नयाँ ढंगले परिभाषीत गर्दै भने कि–‘‘ अहिलेसम्म संसारको व्याख्या विश्लेषण त धेरैले गरेका छन् तर मुख्य कुरा भनेको त्यसलाई बदल्नु हो ।’’

    औपचारिक रुपमा जीवन र जगतलाई हेर्ने दृष्टिकोणलाई दर्शन भन्ने गरिएको छ तर त्यति मात्र भन्नु अर्थपूर्ण छैन । त्यसकारण सहि अर्थमा दर्शन भनेको मूल सत्ताको खोज वा ज्ञान हो जसको आधारमा संसारको व्याख्या वा अध्ययन गर्न सकिन्छ । । त्यसो भए मूल सत्ता के हो र मूल सत्ताको आधारमा संसारको व्याख्या कसरी गर्न सकिन्छ ? भन्ने विषयलाई केहि उदाहरणद्वारा प्रष्ट गर्न सकिन्छ ।

    प्राचीन ग्रीसका दार्शनिक थेलिजले पानीलाई मूल सत्ता/तत्व मानेका थिए र पानीको आधारमा यो संसारको व्याख्या गर्न सकिने कुरा उनको थियो । पानी तत्व नभएपनि उनको ‘तत्वबाट संसार बनेको छ’ भन्ने धारणा आधारभूत रुपमा सही देखिन्छ । आधुनिक विज्ञानले पनि ९२ वटा तत्वको आधारमा संसारको व्याख्या गर्न सकिने कुरा सिद्ध गरेको छ । संसारका जे जति वस्तुहरू छन् ती सबै ९२ वटा तत्वबाट बनेका छन् । संसार ठोस, तरल र ग्यासको रुपमा देखिएको र पानी पनि ती तीनै रुपमा पाइने भएकाले थेलिजले संसारको मूल तत्व पानीलाई मानेका थिए । प्राचिनकालमा पूर्वमा पञ्चमहाभूत (पृथ्वी, जल, वायु, अग्नी, आकाश) लाई मूल तत्व/सत्ता मानिन्थ्यो । पश्चिममा पनि ५ वटा तत्व (पृथ्वी, जल, वायु, अग्नी र इथर(आकाश)लाई नै मूल सत्ता मानिएको पाइन्छ । यिनै पाँचवटा तत्वबाट यो सारा संसार बनेको छ भन्ने मान्यता पूर्व र पश्चि दुवै दर्शनमा पाइन्छ ।

    प्राचीन ग्रीसका गणितज्ञ पाइथागोरसले संख्या/मात्रालाई मूल सत्ता मान्दथे । संसारका सबै चिजहरूको बारेमा संख्याको आधारमा जान्न सकिन्छ । जसरी गीतार भन्ने बाजामा भएका तारहरूले फरक–फरक धुन दिनुको कारण तिनीहरूको बीचमा भएका आपसी लम्वाइ र दुरीका भिन्नता हो । त्यसैगरी फरक–फरक वस्तुहरूमा पनि फरक–फरक गुण हुन्छ । जस्तै सेतो रङ्गबाट तरङ्ग–लम्बाइकोे आधारमा फरक–फरक रङ्गहरू देखिन्छन् । ९२ वटा हाइड्रोजनदेखि युरेनियमसम्मका तत्वहरूमा फरक–फरक गुणहरू हुनुको कारण इलेक्ट्रोनको संख्या/मात्राको भिन्नता हो । इलेक्ट्रोनको संख्या एक हुँदा हाइड्रोजन बन्छ भने इनेक्ट्रोनको संख्या ९२ हुँदा युरोनियम बन्दछ । तापक्रमको मात्राको भिन्नताले गर्दा पानीबाट बरफ र वाफ बन्दछ तर यी वस्तुहरू आपसमा गुणात्मक रुपमै भिन्न वस्तुहरू हुन् । त्यसकारण मात्रात्मक भिन्नताबाट– गुणात्मक रुपमै भिन्न वस्तुहर बन्दछन् । यसरी संख्याको आधारमा यो संसारको व्याख्या गर्न सकिने कुरा पनि सिद्ध भएको छ ।

    पूर्वेली दार्शनिक कर्णादले वैशेषिक दर्शनमा परमाणुको व्याख्या गरेका छन् । पश्चिमा दार्शनिक डेमोक्रिटसले पनि परमाणुको आधारमा संसारको व्याख्या गर्न सकिने कुरा सैद्धान्तिक रुपमा अगाडि सारेका थिए । पछि बेलायती वैज्ञानिक जोन डाल्टनको परमाणु सिद्धान्त आएपछि वैज्ञानिक रुपमै परमाणुको अस्तित्व प्रमाणित/सिद्ध भयो । अमेरिकी वैज्ञानिक रिचार्ड फिनम्यानले त डाल्टनको परमाणु सिद्धान्तको महत्व दर्शाउँदै भनेका थिए, ‘‘डाल्टनको परमाणु सिद्धान्तबाहेक बाँकी सबै ज्ञान–सिद्धान्तलाई नष्ट गरे पनि केही फरक पर्दैन ।’’ यसको मतलब परमाणुबाट सबै कुरा निर्माण गर्न सकिन्छ भन्ने थियो र हो । संसारका सबै वस्तु परमाणुबाट बनेको छ । जस्तै हाइड्रोजनको दुईटा परमाणु र अक्सिनको एउटा परमाणुलाई मिलाउँदा पानी बन्दछ ।

    पश्चिमेली प्राचीन दार्शनिक एरिस्टोटलले आफ्नो ग्रन्थ ‘‘मेटाफिजिक्स’’मा भनेका छन्– ‘‘दार्शनिकको कार्य द्रव्य (मूल सत्ता) को ज्ञान प्राप्त गर्नु हो ।’’ त्यसैगरी प्राचीन चिनिया दार्शनिक कन्फ्युसियसले आफ्नो ग्रन्थ ‘‘द एनालेक्ट’’मा दार्शनिकले आधारभूत तत्वमा मात्र ध्यान दिन्छन भनेका छन् । यी दुई परिभाषाले पनि दर्शन भनेको मूल सत्ताको खोज हो भन्ने कुरालाई नै सङ्केत गरेका छन् ।

    दर्शनको कार्य

    विज्ञानको कार्य भनेको अंश–अंशहरूको अध्ययन र सत्यको खोज गर्ने हो । तर दर्शनको कार्य भनेको विज्ञानका सत्य र तथ्यहरूको समष्टिगत अध्ययन र बोध गर्ने हो अर्थात् ज्ञान र विज्ञानका विशिष्ट पक्षहरूलाई एकीकृत गरेर अध्ययन गर्ने हो । दर्शनले विभिन्न छरिएर रहेका सिद्धान्तहरूलाई एकीकृत गर्दछ । यसले सार्वभौमिक पक्षलाई हेर्दछ । दर्शन विज्ञानहरूको पनि विज्ञान हो । विशिष्ट विज्ञानहरूमा स्वयम् विज्ञानहरूका आ–आफ्ना गुणहरू मात्र हुन्छन् भने दर्शनमा सबै विज्ञानहरूका गुणहरू÷विशेषताहरू विद्यमान रहेका हुन्छन् ।

    दर्शनका सम्बन्धमा कार्ल माक्र्सले अर्को महत्वपूर्ण र सान्दर्भिक कुरा गरेकाछन्, ‘‘हरेक सही दर्शन भनेको आफ्नो समयको बौद्धिक सारतत्व हो ।’’ दर्शनको काम भनेको विज्ञानले गरेको भिन्न–भिन्न वस्तुको भिन्न भिन्न खोजलाई एकै ठाउँमा संकलन गरेर त्यसको संश्लेषण गर्नु अथवा निचोट निकाल्नु हो ।

    एउटा विज्ञानले एउटा सुक्ष्म वस्तुको मात्र अध्ययन गर्दछ भने दर्शनले सारा ब्रमाण्डको विषयदेखि सूक्ष्म जगतसमेतको विषयको समष्टिमा अध्ययन गर्दछ ।

    दर्शनको लक्ष्य

    दर्शनको लक्ष्य मानव मुक्ति हो । जसरी दर्शन बुझ्ने दृष्टिकोणहरू युगअनुसार फरक–फरक छन्, त्यसैगरी दर्शनको आधारमा लक्ष्य प्राप्ती गर्ने बुझाई वा मान्यताहरू पनि फरक–फरक छन् । मुख्यतः मुक्ति प्राप्त गर्ने दूई विधिहरू छन्– संसारको व्याख्या गर्ने विधि र संसारलाई बदल्ने विधि ।

    १) संसारको व्याख्या गर्ने विधि: यो माक्र्सवाद आउनुभन्दा अगाडिको मुक्तिको विधि हो । माक्र्स अगाडिका दार्शनिकहरू अधिभूतवादी थिए । त्यसकारण माक्र्स अगाडिका अध्यात्मवादी र भौतिकवादी दुवै धाराका दार्शनिकहरूले संसारको व्याख्या गरेरै मुक्ति प्राप्त गर्न सकिने कुरा गरेका पाइन्छन् । यो विधिअनुसार संसार स्थीर छ, यो बदल्न सकिँदैन । हामी संसारमा भ्रमका कारण बन्दनमा छौँ । यो भ्रमबाट, सांसारिक मोहबाट मुक्त हुन सकीयो भने दुःखबाट मुक्ति प्राप्त गर्न सकिन्छ । वेदान्त दर्शनले ‘‘यो संसार भ्रम हो, मायाजाल मात्र हो । आत्मा भन्ने कुरा मात्र सत्य छ । त्यसलाई चीन मुक्ति प्राप्त हुन्छ’’ भनेको छ ।

    बुद्ध भौतिकवादी हुन् र मुक्ति सम्बन्धी उनको चार आर्य सत्य निकै चर्चित छन् । बुद्धको चार आर्य सत्य हुन्– संसार दुःखमय छ, दुःखको कारण छ, कारण थाहा पाउन सकिन्छ र कारण थाहा भयो भने दुःखबाट मुक्ति पाउन सकिन्छ । यहाँ बुद्धले दुःखलाई सास्वत सत्य मानेका छन् र दुःखको कारण थाहा भयो भने दुःखबाट छुटकारा मिल्ने कुरा गर्दछन् । बुद्ध दुःखको कारण तृष्णा हो र त्यसलाई त्यग गर्नाले मुक्ति मिल्ने कुरा गर्दछन । उनी समाजको व्यवस्था फेर्ने कुरा गर्दैनन् ।

    २) संसारको बदल्ने विधि: जर्मनका भौतिकवादी दार्शनिक कार्ल माक्र्सले दर्शनको परम्परागत मान्यतालाई खारेज गर्दै भने, 'संसारको व्याख्या त धेरैले गरेका छन् तर मुख्य कुरा त्यसलाई बदल्नु हो ।'  माक्र्सले मानव मुक्तिको सन्दर्भमा संसारलाई/समाजलाई बदल्नु पर्ने कुरा गरे । माक्र्सवादअनुसार संसारमा दुःखमय अवस्था सास्वत थियो भन्ने कुरा गलत हो । आदिम कालमा सुखै थियो । वर्गीय समाजका कारण दुःख आएको हो । वर्गीय समाजलाई वर्गविहीन समाजमा फेरेपछि दुःखको निवारण हुन्छ र सुख आउछ । आदर्शवादी दर्शले मुक्तिको बाटोका रुपमा ज्ञान, कर्म र भक्ति मार्ग अगाडि सरेका थिए । तर माक्र्सले ती सबै खारेज गरेर वर्ग संघर्षको सिद्धान्त अगाडि सारे । माक्र्सवादको यहि सिद्धान्तका आधारमा दुँनियामा ठूल्ठूला क्रान्तिहरु भए । 

    संसार परिवर्तनशील छ . परिवर्तनशील परिणामका कारण दुःख उत्पन्न हुन्छ र परिवर्तनकै कारण मुक्ति प्राप्त हुन्छ । परिवर्तनले उत्पन्न गरेको दुःख वा भ्रमलाई परिवर्तनबाटै समाधान गर्न सकिन्छ । द्वन्द्वात्मक भौतिकवादको मानव मुक्तिको विधि भनेको बुझ्नु मात्र होइन बदल्नु र बदलिनु हो ।  

    माथिका उल्लेख गरिएका मुक्तिमा दुई मार्ग मध्य कुन मार्गमा हिड्ने त्यो व्यक्तिको आफ्नो विवेकको कुरा हो तर मुक्तिको सहि मार्ग एउटै छ– परिवर्तनको मार्ग ।

    (दर्शनशास्त्रबारे क्रमशः सामग्री प्रस्तुत गरिनेछ ।)

    प्रतिक्रिया
    सम्बन्धित समाचार