Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

नेपाली समाजको ऐतिहासिक अध्ययन  र विश्वदृष्टिकोणको प्रश्न

नेपाली समाजको ऐतिहासिक अध्ययन र विश्वदृष्टिकोणको प्रश्न

  • शुक्रवार, फाल्गुण ९ २०७६

  • मोहन वैद्य किरण


  • विश्व–दृष्टिकोणको प्रश्न

    ‘‘मानिसको चेतनाले उनीहरुको अस्तित्वलाई निर्धारित गर्दैन, अपितु उल्टो उनीहरुको समाजिक अस्तित्वले उनीहरुको चेनतालाई निर्धारित गर्दछ ।’’
    –माक्र्स

    ‘‘आदिम युगहरुलाई छाडेर समस्त विगत इतिहास वर्गसंघर्षहरुको इतिहास रहेको छ र समाजका यी संघर्षरत वर्ग सदा .आफ्नो युगको उत्पादन तथा विनिमय प्रणालीबाट या एक शब्दमा भन्ने हो भने, आफ्नो युगका आर्थिक परिस्थितिबाट उत्पन्न भएका छन् । समाजको आर्थिक ढाँचा नै वस्तुतः त्यो अधार हो जसमाथि कुनै पनि ऐतिहासिक युगका कानुन र राजनीतिक संस्थाहरुको र धार्मिक, राजनीतिक तथा अरु विचारहरुको उपरिढाँचा खडा गरिन्छ । यो आधारलाई ग्रहण गरेर नै हामीले उपरिढाँचालाई अन्तिम रुपमा सम्झिन सक्तछौं ।’’
    –एङ्गेल्स

    ‘‘राजनीति, कानुन, दर्शन, धर्म, साहित्य, कला आदिको विकास आर्थिक विकासमा भर पर्दछ । परन्तु यी सबैले एकअर्कालाई र आर्थिक आधारलाई पनि प्रभावित पार्दछन् ।’’
    –एङ्गेल्स

    इतिहास र समाजविकासको कुरा गर्दा सर्वप्रथम विश्वदृष्टिकोणको कुरा आउँछ । माक्र्स र एङ्गेल्सका उक्त भनाइहरु यसै विश्वदृष्टिकोणमा आधारित रहेका छन् । इतिहास र समाज विकासको क्षेत्रमा विद्यमान तमाम प्रकारका आदर्शवादी, अज्ञेयवादी तथा अधिभूतवादी चिन्तन प्रणाली विरुद्ध द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको खोज तथा स्थापना गरेर माक्र्स–एङ्गेल्सले एउटा नयाँ वैचारिक क्रान्ति सम्पन्न गर्नुभयो । माक्र्सको पुँजीले ऐतिहासिक भौतिकवादको खोजलाई वैज्ञानितकता प्रदान ग¥यो । तसर्थ, इतिहास र समाज विकासको अध्ययनका लागि द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद नै एकमात्र वैज्ञानिक विश्वदृष्टिकोण बन्न गएको छ । नेपाली समाजको अध्ययनका सन्दर्भमा पनि यसैलाई आधार बनाउनु पर्दछ । इतिहास र समाजको विकासबारे अध्ययन गर्ने क्रममा एङ्गेल्स रचित वानरदेखि नर बन्ने प्रक्रियामा श्रमको भूमिका, परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति शीर्षक रचनाहरु विशेष अध्यान दिन योग्य छन् ।

    आदर्शवादले समाज विकासको मूल कारक र प्रेरक तत्वको रुपमा कुनै ईश्वरीय शक्ति, परम चेतना, व्यक्ति विशेषको निजी विचार आदिलाई लिन्छ । परन्तु, यसका विपरित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले समाज विकासको मूलकारक वा प्रेरक तत्वको रुपमा समाजिक उत्पादनका गतिविधिरु अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना, उत्पीडक र उत्पीडित वर्गबीचका अन्तर्विरोधहरुलाई लिन्छ । आदर्शवादले इतिहास र समाजको निर्माणमा दैवी शक्ति, राजा–महाराजाहरुको भूमिका, कुनै महापुरुषको सदिच्छालाई निर्णायक र अन्तिम मान्दछ । तर यसको ठीक उल्टो द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले उत्पादन कार्य, वैज्ञानिक कार्य र वर्गसंघर्षका सामाजिक गतिविधिमा संलग्न जनसमुदायलाई नै इतिहासको निर्माणमा निर्णायक भूमिका खेल्ने शक्तिका रुपमा स्वीकार गर्दछ ।

    अज्ञयवादले समाज विकासका नियमहरुलाई अज्ञेय, अनिर्वचनीय र ज्ञानको पहुँचभन्दा बाहिर ठान्ने गर्दछ । त्यसको विपरित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले इतिहासलाई आवश्यकता र आकस्मिककताको द्वन्द्वात्मक एकताका रुपमा लिने, इतिहास र समाज विकासका प्रक्रियाहरुलाई जान्न तथा बुझ्न सकिने र तदनुसार आवश्यकताको राज्यबाट स्वतन्त्रताको राज्यमा छलाङ्ग हान्ने कुरा अंङ्गीकार गर्दछ ।

    अधिभूतवादी दृष्टिकोण अनुसार समाजलाई स्थिर, बनिबनाउ, गति र परिवर्तनहीन घटनाअरुको थुप्रो मान्ने गरिन्छ । यसको ठीक विपरित भौतिकवादी द्वन्द्ववादले समाजलाई निरन्तर गति, अन्तर्विरोध, परिवर्तन र विकासका रुपमा एक अवस्थाबाट अर्को अवस्थामा गुणात्मक ढंगले नयाँ उचाइ हासिल गर्दै अगाडि बढिरहने प्रक्रियाका रुपमा ग्रहण गर्दछ । यसले समाज र इतिहासलाई नियममा बुझ्ने र बदल्ने कुरा बताउँछ ।

    पुँजीवादी समाजशास्त्रीहरु प्रत्यक्षवादी दर्शनबाट प्रभावित भै समाजमा वर्ग, वर्गसंघर्ष, वर्गीय पक्षधरता, प्रगति र समाजिक क्रान्ति सम्बन्धी मान्यताको विरोधमा गैरपक्षधरता, तटस्थता, मन्द विकास, पुनरावृत्ति लगाएतका मान्यता प्रस्तुत गर्दछन् । समाज पुँजीवादभन्दा अगाडि बढ्नै नसक्ने कुरा बनाउँछन् । उनीहरुको इतिहासप्रतिको सोंच अज्ञेयवादी रहेको छ । साथै, उनीहरुले समाज विकासका ऐतिहासक एवं वस्तुवादी नियमहरुको निषेध गर्दै जीवविज्ञान र नृवंबबास्त्रका नियम अनुरुप जाति, नस्ल आदिमा आधारित योग्यतमको विजयजस्ता मान्यता थोपर्न चाहन्छन् । यो भन्दा अझै अगाडि बढेर उत्तर–आधुनिकवादीहरुले ऐतिहासिक भौतिकवादमाथि नै पूरा हमला गर्दै इतिहास, विचारधारा, कम्युनिज्मको कथित अन्तको समेत घोषणा गरिसकेका छन् । समाज र संस्कृतिको ऐतिहासिक विकासत्रप्रक्रियाको अध्ययन गर्दा यस प्रकासका गलत चिन्तन र प्रवृत्तिहरुको कडा विरोध गर्न जरुरी छ ।

    माक्र्सवादी विश्वदृष्टिकोणअनुसार विचारको विकास समाजको विकासअनुरुप हुन्छ । मातृगण र पितृगण हुँदै वर्गीय राज्यसत्ताको जन्म हुन्छ, जसको पहिलो रुप दासस्वामी वा सामन्ती व्यवस्था होे । यसरी हेर्दा मातृगणसमाजमा मातृविचार, पितृगणरमाजमा पितृविचार, दासस्वामी समाजमा दासस्वामी विचार वा सामन्ती समाजमा सामन्ती विचारका सिद्धान्तहरु विकसित हुने गर्दछन् । समाज विकासको जटिलता, वक्रता, असमानता, विविधता, विशिष्टता र संश्लिष्टताअनुरुप विचारको विकास वा सिद्धान्तको विकास हुने गर्दछ । यहाँ आधार र उपरिसंरचनाबीचको द्वन्द्वात्मक सम्बन्ध स्थापित भएको हुन्छ । अन्ततः समाज विकासको निर्धारक कारण आर्थिक भए पनि आधार र उपरिसंरचनाबीच अन्योन्यक्रिया चल्दछ ।

    नेपालमा मानवसमुदाय

    नेपाली समाजको सही अध्ययनका लागि विभिन्न पुरातात्विक तथा ऐतिहासिक सामग्रीहरुको आवश्यकता पर्दछ । ती पर्याप्त नभएको आजको स्थितिमा विभिन्न पुराण, वशांवली, लोककला र संस्कृति आदिको पनि भरपर्नु आवश्यक हुन्छ । नेपालको अध्ययनबारे अनेर्को देशी र विदेशी विद्धानहरुले यथेष्ट प्रयास अझै अपर्याप्त छन् । त्यसकारण यो खोजको प्रक्रिया जारी नै रहने कुरा निश्चित छ ।

    नेपालमा मानिसको अस्तित्व आदिम नर–वानरदेखि जंगली अवस्थासम्म र त्यसयता पनि निरन्तर कायम रहिआएको छ । बुटवलको उत्तरतिर प्राप्त करिब एक करोड दशलाख वर्ष अघिको नर–वानरको देब्रे बंगरो, बर्दिया र नबलपरासीमा प्राप्त २ देखि ५ लाख वर्षबीचका र बूढानीलकण्ठमा प्राप्त ई.पू. ३०,००० का मानिने पाषाणकालीन र थानकोट तथा नवलपरासीमा प्राप्त ई.पू. ५००० तिरका नवपाषणकालिन सामग्री र ढुंगे उपकरणबाट यसै कुराको पुष्टि हुन्छ ।

    नृवंशास्त्रीहरुको भनाइअनुसार हिमाली उपमहाद्वीपमा पुरापाषाणकालमा नग्रिटो (निषाद), नव–पाषाणकालमा अष्ट्रिक (अग्नेय), त्यपछि द्रविड तथा मंगोल किरात, पश्चिमी आयत मुण्ड अथार्र्र्त् ककेशीयनको प्रवेश भएको थियो । यो तमाम प्रजातिहरुका बीच रक्तमिश्रण भएर अर्को नयाँ प्रजातिको उत्पात्ति पनि भएको पापइन्छ । यी सबै प्रजाति नेपालमा पनि प्रारम्भदेखि नै पाइन्छन् । पौराणिक मान्यता र वंशावलीअनुसार नेपालमा आदिवासीका रुपमा यक्ष, गन्दर्भ, किन्नर, नाग आदि समुदाय रहेको पाइन्छ । कतिपय विचारकहरु के भन्दछन् भने नेपालमा पाइने मूल निवासी कोल हुन् र यिनलाई कतिले नेग्रिटो र अष्ट्रिकको रक्तसंमिश्रण पनि भन्दछन् । सम्भवतः यी गोपाल, महिषपाल, आभीर आदि पनि हुनसक्दछन् । यद्यपि यहाँ बाहिरबाट थुप्रै मानवसमुदायको प्रवेश भएको पाइन्छ । तर उक्त नरवानरको अवशेष र पाषाणकालीन तथा नव–पाषणकालीन औजारहरुका आधारमा हेर्दा यहाँ पनि प्रारम्भदेखि नै मानवसमुदायको अस्तित्व रहेको अनुमान गर्न सकिन्छ । यहाँसम्म कि केही उत्साही लेखकहरुले बुटवलको रामपिथेकसलाई मानवका पुर्खा घोषित गरेर नेपाललाई प्रथम मानवको उद्गमस्थल मान्न पुगेका छन् ।

    नेपालमा मानवसमुदाय यस प्रकारका प्रजाति हुँदै कविला, जनजाति, जाति, र वर्गका रुपमा विविध ढंगले विकसित हुँदै आएको छ । नेपालको नाम पहिले किरात देश, हिमवत खण्ड आदि रहेको छ । अथर्व परिशिष्टमा कामरुप (आसाम) को परिश्चम, मिथिला, अवन्ती (विन्ध्याचल क्षेत्र) को उत्तर, पञ्जाबको पर्वतिर र उत्तर हिमालसम्म नेपाल रहेको संकेत पाइन्छ । चिनियाँ यात्री हु एन साङ्गेले नेपालको परिधि ४ हजार ली (करीब ६६७ मील) रहेको बताएका छन् । यसरी हेर्दा पहिले नेपालको क्षेत्र ठूलै थियो । आज मेची–महाकाली बीचमा जसरी यो देश अवस्थित छ त्यसैलाई हामीले नेपालको अध्ययनको आधार बनाउनु ठीक देखिन्छ ।

    संस्कृति र सभ्यतासम्बन्धी अवधारणा

    संस्कृति भनेको समाजको ऐतिहासिक विकासको प्रक्रियामा निर्मित भौतिक तथा आत्मिक मूल्यहरुको संश्लेषण हो । संस्कृतिको निर्माण श्रमप्रक्रियाका बीचबाट हुन्छ । संस्कृतिको सामान्य अर्थ निर्माण, रचना, परिस्कृति वा परिमार्जन हुन्छ । संस्कृति अन्तर्गत मूलतः विचार, आचार, मूल्य, मान्यता, रीतिरिवाज, चालचलन, कला आदि आउँछन् । माओको भनाइमा संस्कृति भनेको सम्बन्धित समाजको अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिबिम्बन हो । अमेरिकी समाजशास्त्री मोर्गनका भनाइहरुको सार खिँच्तै एङ्गेल्स के भन्नुहुन्छ भने मानवजातिले जंगली युग र बर्बर युग पार गर्दै सभ्यताको युगमा प्रवेश गरेको हो । जंगली युग भनेको प्राकृतिक वस्तुहरुको अरु बढी प्रशोधन गर्ने कलामा दक्षता प्राप्तिको अवधि हो । वास्तविक अर्थमा उद्योग र कलाको विकासको अवधि हो ।

    मानवजातिको विकासका तीन मुख्य चरणअनुरुप विवाहका पनि तीन ओटै मुख्य रुप देखा पर्दछन् । एङ्गेल्स भन्नुहुन्छ– ‘‘जङ्गली युगमा समूह–विवाह प्रचलित थियो । बर्वर युमा युगल विवाह प्रचलित थियो र सभ्य युगमा एकनिष्ठ विवाह प्रचलित छ ।’’

    संस्कृति र सभ्यता परस्पर सम्बन्धित छन् । सभ्यताको जन्म सामाजिक श्रमविभाजनसँगै व्यक्तिगतम सम्पत्ति, वर्गहरु र राज्यसत्ताको उदयका बीचबाट हुन्छ ।
    नेपाली समाज र संस्कृतिको विकासको लामो ऐतिहासिक प्रक्रिया रहेको छ । नृवंशास्त्री तथा इतिहासविद विद्धानहरुको भनाइअनुसार हिमाली उपमहाद्वीप अर्थात् सिंगो भारतवर्षमा पाँच प्रकारका मानवप्रजातिहरु पाइन्छन् । ती हुन्– निग्रेटो, अष्ट्रिक, द्रविड, मंगोल र आर्य । निग्रेटो अफ्रिकाबाट आएका थिए । यिनले यहाँ धनुकाण र वृक्षपूजाको परम्परा ल्याएका थिए । यिनका अवशेष अण्डमान निकोवार, कोचन, बिहारको राजमहल क्षेत्रमा बस्ने आदिवासी र असमका अंगामी नागाका रुपमा पाइन्छन् । सप्त सिन्धु क्षेत्रमा बस्ने अष्ट्रिक पश्चिम एसियाबाट आएका थिए । भनिन्छ, यिनले कोदालोले खन्ने र कपासको खेती गर्ने परम्पराका सथै तोरी, केरा, नरिवल, मास, सुपारी, सिन्दुर, बेसार पनि ल्याइका थिए । साथै, हात्तीपालन, नाग, बाँदरको पूजा, भाकल गर्ने, देउराली थाप्ने चलन र पूर्वजन्म, पुनर्जन्मको मान्यता यिनकै देन हुन् । आष्ट्रिक समुदायका अवशेषका रुपमा कोल, सन्थाल, सुण्डा, शबर आदिलाई लिने गरिन्छ । यसैगरी सिन्धुक्षेत्रमा बस्ने अर्को महत्वपूर्ण समुदाय द्रविड हो, जुन भूमध्यसागरीय क्षेत्रबाट आएको थियो । यसलाई दास, दस्यु पनि भन्ने गरिएको थियो । यसले नगरको अवधारणा, पूजा शब्द, विष्णुलक्ष्मी आदिको पूजा–परम्परातिरबाट यो उपमहाद्वीपमा आउने अर्को मानवसमुदाय आर्य हो । आर्यहरुको एउटा विशाल शाखाले यहाँ वर्णाश्रम व्यवस्था, यज्ञ, होमलगायतका मान्यता, कला र दर्शन विकसित तुल्याउने काम गरेको थियो । आर्य आउनुभन्दा पहिले यो क्षेत्रमा उत्तरी र पूर्वी भागबाट मंगोल समुदाय आएको थियो । त्यो हिमालको दक्षिणी भेगमा पूरै फैलिएर बसेको थियो । कतिले यो समुयादलाई किरात पनि भन्दछन् । प्रकृति पूजा, नारीप्रति सम्मानभाव आदि अवधारणा मूलतः यसै समुदायसँग सम्बिन्धित मानिन्छन् ।

    नेपाली समाजको ऐतिहासिक अध्ययन

    नेपालको इतिहासबारे द्वन्द्वात्मक भौतिवादी विश्वदृष्टिकोणका आधारमा अध्ययन गर्ने काम कमरेड पुष्पलाल श्रेष्ठबाट थालिएको थियो । वहाँबाट लेखिएका ‘‘नेपालमा मातृसत्तात्मक समाज, राजतन्त्रको उत्पत्ति, विकास र भविष्यलगायतका रचनाहरु विशेष उल्लेखनीय रहेका छन् । यसै सन्दर्भमा नेकपा (माओवादी) का अध्यक्ष क.प्रचण्डले समाजको ऐतिहासिक विकासको प्रक्रिया, वर्गविश्लेषण र क्रान्तिका प्रेरक शक्तिहरुबारे राम्रो प्रकास पारेर उल्लेखनीय भूमिका देल्नुभएको छ । यो क्षेत्रमा मोदनाथ प्रश्रित, सीताराम तामाङ्ग जस्ता विद्वानहरुको भूमिका पनि उल्लेखनीय छ । माक्र्सवादी मान्यताअनुसार सामान्यतः समाज विकासको ऐतिहासिक प्रक्रियालाई मातृगणसत्ता, पितृगणसत्ता, दासस्वामी समाज, सामन्तवादी समाज, पुँजीवादी समाज, समाजवादी समाज र साम्यवादी समाजका रुपमा प्रस्तुत गर्न सकिन्छ । परन्तु यसलाई यान्त्रिक अर्थमा ग्रहण गर्न हुँदैन । माक्र्सको भनाइअनुसार इतिहासको विकास प्रक्रियामा मोटामाटी रुपमा एसियाली, प्राचीन, सामन्ती एवम् आधुनिक पुँजीवादी उत्पादन प्रणालीहरु समाजको आर्थिक संरचनाका अनुक्रमिक युग मानिन्छन् । विकासको प्रारम्भिक रुप आदिम साम्यवाद हो र त्यसको विकसित रुप भाविष्यमा विकसित हुने समृद्ध साम्यवाद हो ।

    मानव समुदायको घुमन्ते र शिकारी अवस्थाबाट पशुपालन र कृषिको अवस्थामा प्रवेश भएपछि नै उसको बसाइमा प्रादेशिक स्थिरताको प्रक्रिया विकसित भएको हो । यो प्रक्रिया र राज्यसत्ता बेनपछि पनि एक–अर्को ठाउँमा सर्ने र आक्रमण गर्ने गरेर मानिसले अर्को ठाउँलाई विजित प्रदेश तुल्याउने हुँदा संस्कृति र विचारको क्षेत्रमा एक–अर्काले प्रभवि पार्ने प्रक्रिया निरन्तर चल्दै आएको पाइन्छ । समाजको विकास प्रक्रियालाई यान्त्रिक र अधिभूतवादी ढंगले लिनु हुँदैन । विभिन्न देशमा समाज विकासको प्रक्रिया विशिष्ट प्रकारको हुने गर्दछ । नेपालमा पनि ठीक यही कुरा लागु हुन्छ ।
    (स्रोतः नेपाली समाज र संस्कृति ः एक संक्षिप्त अध्ययन)

    प्रतिक्रिया
    सम्बन्धित समाचार