Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

मदन भण्डारीलाई सम्झँदा......

मदन भण्डारीलाई सम्झँदा......

  • शनिवार, जेठ ३ २०७७

  • शरच्चन्द्र वस्ती


  • आज जेठ ३ गते । जननेता मदन भण्डारीकाे दास ढुंगामा हत्या गरिएकाे कालाे दिन । उहाँकाे सम्झनामा शरदन्द्र वस्तीले २७ वर्ष पहिले लेख्नुभएकाे याे लेख पुन: प्रकाशित गरिएकाे छ- सम्पादक ।

    मदन भण्डारीको अवसानबाट समसामयिक राष्ट्रिय राजनीतिमा एउटा शून्य पैदा भएको छ र सन्तुलनको सबैभन्दा महत्वपूर्ण बिन्दु अलप भएको छ । उपलब्ध परिस्थितिहरूको परिप्रेक्ष्यमा न त्यो शून्य पूरा हुने देखिन्छ न त अन्य कुनै बिन्दुले त्यो सशक्त एवं दुर्धर्षताका साथ त्यस बिन्दुको स्थान लिन सक्ने सम्भाना नै छ । शक्ति, सत्ता वा इतिहासको आडमा जनताको भावना र निरीहतासँग खेलवाड गर्न चाहनेहरू जुन नामलाई सम्झेर झस्कन्थे त्यो नाम अब इतिहासका पानामा अंकित भइसकेको छ, प्रजातन्त्रलाई प्रजातान्त्रिक संस्कार र प्रवृत्तिका साथ सही बाटोतिर हिँडाउन चाहनेहरू जसलाई आफ्ना बीच पाएर उत्साहित बन्थे त्यो व्यक्तित्व अब समयको गर्भमा बिलीन भइसकेको छ । म अहिले नै देखिरहेको छु, पहिलो पक्षका प्रतिनिधहरूका आँखामा क्रूर दुस्साहसको कति कालो छाया मडारिन थालिसकेको छ र दोस्रो पक्षका रथी–सारथिहरूका अनुहारमा थकान, क्लान्ति र हतोत्साहिताका मुजाहरू कसरी गहिरिइरहेका छन् ।

    ‘त्यो हुरी भएर आउनेछ, तिमी पात बनेर पछ्याउनेछौ’ – गोपालप्रसाद रिमाल भनेर गएका थिए । साँच्चै हुरी भएर आयो त्यो व्यक्तित्व र पात भएर पछ्याउनुप¥यो सबैले – चाहेर होस् वा नचाहेर, श्रद्धाले होस् वा अश्रद्धाले । धेरैलाई अझै भ्रम हुन सक्छ, हामी त कम्युनिस्टविरोधी – हामीले पछ्याएनौ उसलाई भनेर । तर, उसको प्रखर वक्तृता र अकाट्य तर्कका प्रचण्ड तुफानी झोक्काहरूका सामु को उभिन सक्यो आफ्ना खुट्टामा उभिएर, अविचलित ? पछ्याइनँ भन्ने कुन चाहिँले पछ्याएन उसलाई विरोध, प्रतिवाद, आलोचना वा गालीका निष्प्रभावी हतियार लिएर ? प्रधानमन्त्रीलगायत देशका हरेक दिग्गज नेतालाई बोलीको सन्तुलनसमेत बिग्रने गरी आतेस खेलाएर जथाभावी कराउँदै हिँड्न विवश पार्ने व्यक्तित्व त्यही थिएन र ? धेरैलाई यो सुन्दा असजिलो लाग्ला तर आम निर्वाचनको टिकट बाँड्दा नेपाली कांग्रेसभित्र देखापरेको नीतिगत धरमर त्यही व्यक्तित्वको कारणले होइन ? त्यही दुर्धर्ष प्रतिद्वन्द्वीको भयले आफ्नो इतिहास र सिद्धान्तलाई खोपामा थन्क्याएर खुँखार पञ्चहरूलाई टिकट दिन ऊ बाध्य भएको होइन ? र, टनकपुरको मामिला उठाएर निर्वाचित एकमना सरकारलाई त्यसकै वरिपरि रिङाएको रिङायै गर्ने महाबली पनि त्यही हो कि होइन ? मै हुँ भन्ने व्यक्तिविशेषदेखि सर्वशक्तिसम्पन्न संस्थाहरूसम्म कसले पछ्याउनुपरेन उसलाई र कसलाई पछ्याउन बाध्य बनाएन उसले ?

    मानिसहरू आउँछन्–जान्छन् । तर, प्रजातन्त्र पुनस्र्थापनापछि जनताले पहिलो पटक नाम सुनेको र अझ पछि एमालेको महासचिव भनेर चिनेको त्यो व्यक्तित्व नेपालको राजनीतिमा यति तीव्र गतिमा र यति व्यापक रूपमा प्रवेश ग¥यो, ऊ स्वयं यो संसारबाट गइसक्ता पनि मानिसको मन–मस्तिष्कबाट गएको छैन र जानेवाला पनि छैन । आम निर्वाचनको पूर्वसन्ध्यामा उसका तुफानी भाषणहरूको प्रचण्ड ज्वारभाटाले सारा नेपालीलाई एकाएक आप्लावित गर्यो र झकझकायो । कैयौं शिखरहरू ढले र एउटा अकल्पित, विस्तृत, सम्भावनापूर्ण द्वीपको प्रादुर्भाव भयो । कम्युनिज्मका सारा द्वीपहरू संसारबाट बिलाइरहेको अवस्थामा त्यो एउटा चमत्कार थियो, त्यसैले द्वीपविध्वंसक महारथीको चौथो अंगसमेत उसको अनुशंसामा गीत गाउन पुग्यो – कार्ल माक्र्स नेपालमा जीवित छन् ।’ त्यसपछि सदनदेखि सडकसम्मै उसको सार्थकतार प्रखरता देशले अनुभव गर्दै गयो । यसैबीच त्यो अत्यधिक लोकप्रिय जननेताभित्र साँच्चै माक्र्सले पुनर्जन्म लिने तयारी गरिरहेका रहेछन्, जसको पत्तो कसैलाई थिएन । एकाएक एमाले महाधिवेशनअघि उनी प्रकट भए – आफूमाथि लेनिनले थोपरेको अधिनायकवादको कालो टापी फ्याँकेर, बहुविचारको मान्यता र वैचारिक स्वतन्त्रतासहितको साम्यवाद अर्थात् बहुदलीय जनवादको उद्घोषण गर्दै । सिद्धान्त या नीतिमा मात्र होइन, व्यवहारमै त्यसको निर्भीक प्रयोगको आत्मविश्वासपूर्ण घोषणा गरियो – खुल्ला एवं सार्वजनिक छलफलका रूपमा ।

    त्यो चिन्तन र त्यो व्यवहारले देखायो – युगद्रष्टा थियो ऊ । युगको माग र आह्वानलाई आत्मसात् गरेर सशक्त एवं ठोस धरातल दियो उसले । अचम्म लाग्छ ! कसरी सहमत गरायो उसले ती कम्युनिस्टहरूलाई यो लाइनप्रति, जो माओ र लेनिनका सन्दर्भहीन उग्र वाक्यहरूप्रतिको अन्धश्रद्धा र अन्धविश्वासको परम्परामा दीक्षित , पोषित एवं विकसित थिए, जो अव्यावहारिक अतिवादी नारा र चिन्तनशैलीलाई मात्र आत्मसात् गरेर आएका थिए र जो उग्रताभन्दा अलिकति पनि कम, व्यावहारिक वा प्रजातान्त्रिक कुरा गर्नेलाई सोझै गद्दार र दलाला भन्ने संस्कारमा हुर्केका थिए । त्यो वैचारिक द्वन्द्वमा, बाहिर–बाहिर आफूलाई उदार देखाउने देखाउने गरिआएको एमालेभित्रकै एउटा पक्ष वैचारिक स्तरमा चाहि“ पुरानो कट्टर लाइनबाट अघि बढ्न नसकेको वास्तविकता छर्लंग भएको थियो भने बाहिरी क्रियाकलापमा छट्टर र कठोर देखिने मदन भण्डारी वैचारिक–नीतिगत रूपमा चाहि“ व्यावहारिक, मौलिक एवं उदार सोच राखेर त्यसलाई व्यवहारमा उतार्न उत्साही – सच्चा अर्थमा प्रगतिशील व्यक्तित्वका रूपमा प्रकट भएका थिए । उनको यही लाइन र चिन्तनधारालाई विश्व कम्युनिस्ट समुदायले युगको आवाज र आवश्यकताका लागि रूपमा हालैको कलकत्ता भेलामा स्वीकार गरिसकेको छ ।

    मदन भण्डारीको आकस्मिक अवसानबाट खास गरी त्यो पुस्तालाई, जो २००७ र २०१७ सालबीचको प्रजातन्त्रमा त जन्म्यो तर जसले प्रजातन्त्रको गन्ध सुँघ्नै नपाई पञ्चायतको ग्यास–चेम्बरमा थुनिनुप¥यो, ठूलो घाटा भएको छ । त्यो यस्तो व्यक्तित्व थियो, जोस“ग यस पुस्ताले आफूलाई साधारणीकरण गर्न सक्थ्यो र त्यसा साधारणीकरणबाट गर्वान्वित हुन सक्थ्यो । प्रेरणा लिन सक्थ्यो । प्रेरक व्यक्तित्वहरूको अनिकाल परेको यस मुलुकमा, जहाँ प्रेरणा बन्न सक्ने व्यक्तित्वहरू पनि छोट्टा स्वार्थका अतल गहिराइमा खस्तै गइरहेका मात्र भेटिन्छन्, यो सानो घाटा होइन । यस्तो व्यक्ति थियो त्यो जसले सातसाले–पन्ध्रसाले असान्दर्भिक गफ झिकेर बोर गर्दैनथ्यो र हिप्पी–पंक संस्कृति वा मानसिकताको टनक पनि त्यसमा पाउन सकि“दैनथ्यो ।

    कमजोरीहरू उसमा नभएका होइनन् र ऊ गल्ती पनि गथ्र्यो तर तिनलाई सच्याएर, सुधारेर सही र सत्यका पक्षमा, सन्तुलन र व्यावहारिकताका आधारमा उत्तिकै सशक्तताका साथ खडा हुने अलभ्य आत्मविश्वास पनि ऊसँग थियो । जनताले थाहा पाउँदा लाजै हुने खालका कमजोरी अँगालेको अरूलाई नैतिकताको उपदेश दिएर आफू त्यसका विरुद्ध आचरणमासंलग्न भएको र आफ्ना कमजोरी अरुले कोटयाइदिँदा त्यसलाई प्रजातन्त्रविरोधी भनी हिँड्ने पाखण्डी पनि थिएन ऊ । जेल पर्नुमात्र योग्या तर प्रतिबद्धताको मापदण्ड हुन सक्तैन भन्ने प्रमाण थियो ऊ – जसले विश्वभर कम्युनिज्मको प्रलय भइरहेको बेला नेपालजस्तो मुलुकमा वायुवेगले त्यसलाई सत्ताको शिखतर्फ लम्काएर लगेको थियो ।

    अंग्रेजी पढेर मात्र ठूलो मान्छे भइन्छ र अंग्रेजीमा पड्किने भएपछि मात्र विदेशीहरूका आ“खामा पर्न सकिन्छ भन्ने दास मनोवृत्तिको जिउँदोजाग्दो खण्डन थियो ऊ – जसले विशुद्ध नेपाली चिन्तन र विचार मन्थनद्वारा विश्व समुदायसमक्ष नेपालको शिर ऊँचा पायो । राष्ट्रवादको पुजारी थियो ऊ जसले राष्ट्रिय भावनाको दियो जगाएर देशभरि लाखबत्ती बाल्न कुनै कसर छाडेन । कसैको पनि चुनौती स्वीकार गर्नै र कसैलाई पनिचुनौती दिन पछि नपर्ने त्यो व्यक्तित्व, जसले कहिल्यै पराजित हुन जानेन, भाषणमा जति कडा र आक्रामक थियो – व्यवहारमा उत्तिकै सरल, सहज, विनम्र थियो र संस्कृत पनि । केवल साढे दुई वर्षमा यो चमत्कार देखाउन सक्ने ऊ अरु २५ वर्षमात्र बाँचेको भए पनि – जुन सक्रिय रहने उमेर हो – के के हुन्थ्यो, कल्पनामात्र गर्न सकिन्छ ।

    अन्त्यमा दुइटा कुराः

    १. मदन भण्डारीको मृत्यु दुर्घटना होइन, षड्यन्त्र हो भन्ने आशंका दिन–प्रतिदिन गहिरिँदै जान थालेको छ । परिस्थिति र घटनाक्रमले त्यस आशंकालाई बल पु¥याएका छन् । यस सन्र्दमा बिर्सन नहुने कुरा के छ भने यस अभागी उपमहाद्वीपका साना राष्ट्रहरूमा जब–जब राष्ट्रियताको भावना बढ्न थल्छ – चाहे त्यो जुनसुकै र जस्तोसुकै परिप्रेक्ष्यमा होस् – तब–तब कसैको टाउको बेतोडसँग दुख्न थाल्छ र उसले आफ्नो स्वार्थमा सोझै धक्का लाग्न थालेको महसुस गर्न थाल्छ । त्यस्तो तत्वले राष्ट्रियताको भावना प्रखर बनाउन मुख्य भूमिका निर्वाह गर्ने व्यक्तिलाई राजनीतिक वा भौतिक रूपमा समाप्त पार्न सफल–असफल कुप्रयास गरेका उदाहरणहरू इतिहासमा पर्याप्त अंकित भइसकेका छन् । मलाई लाग्छ, मदन भण्डारीको रहस्यमय मृत्युका सन्दर्भमा यस दिशातिर विशष नियालेर हेर्नु बढी जरुरी छ ।

    २. समयले जस्तोसुकै घाउ पनि पुर्छ । मदन भण्डारीको घाउ पनि पुर्ला । तर, शुरूमै भनिएझैं उनको अभावबाट रित्तिएको ठाउँ भर्न त समयलाई पनि गाह्रै पर्ला । यद्यपि, समयले यदाकदा अप्रत्याशित रूपमा ऐतिहासिक पुरुष पनि –स्वयं मदन भण्डारीलाई झैं प्रकट गराइदिन सक्छ तर त्यस्तो हरेक युगमा हुँदैन र हरेक ठाउँमा पनि हुँदैन । समयले चमत्कार नै गर्ने अठोट लियो भने बेग्लै कुरा, नत्र हाल उपलब्ध परिस्थितिमा त्यो सम्भव देखिँदैन । अहिलेलाई त ‘शोकलाई शक्तिमा बदल्ने’ एमालेको अठोट नै ‘मदन भण्डारी’लाई निरन्तरता दिने एकमात्र उपाय हो । तर, डर के छ भने कतै यसो भन्दाभन्दै मदन भण्डारी भन्ने नाम किंवदन्ती, चमत्कार–कथा र अलौकिकताको घेरामा फँस्न नपुगोस्, त्यो ‘असल मान्छे’ भोलि ‘कम्युनिस्टहरूको बीपी’ बन्ने हालतमा नपुगोस् र कम्युनिस्टहरूमा मदन भण्डारीको सपना बेची खाने प्रवृत्तिको विकास नहोस् । यतातिरबाट सतर्क हुनु पनि मदन भण्डारीप्रति असल श्रद्धाञ्जली होला कि !

     (पुनर्जागरण साप्ताहिक  २०५० साल जेठ १२ गते मंगलबार)

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार