Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

सन्दर्भ मार्क्स जयन्ती: मार्क्सवादकाे मूल पक्ष नछाेडाैं

सन्दर्भ मार्क्स जयन्ती: मार्क्सवादकाे मूल पक्ष नछाेडाैं

  • मंगलवार, बैशाख २३ २०७७

  • गाेपाल ढु‌ंगेल (बामपन्थी लेखक)


  • कार्ल हेन-रिक मार्क्स (५मे१८१८-१४मार्च १८८३) एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो। उनको विचारको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो। मार्क्स र फ्रेडरिक एंगेल्सले सन १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणा पत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सारमा लेखेका थिए-"अहिलेसम्मकै सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।" यसमा मार्क्सले "पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारणले विनाश भएर जानेछ। जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ, त्यसरी नै समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउने छ । अनि राज्य विहीन, वर्ग विहीन शुद्ध साम्यवादी (कम्युनिज्म) समाजको निर्माण हुनेछ" भन्ने तर्क प्रस्तुत गरेका छन्।

    कार्ल मार्क्स र उनका साथी फ्रेडरिक एंगेल्स जर्मनका निवासी थिए। पूँजीवादी समाज के हो ? यसले कसरी मजदुर र आम जनतालाई लुट्छ र त्यस ब्यवस्थालाई कसले र कसरी फेर्न सक्तछ ? आउने समाज याने कम्युनिज्म कस्तो हुन्छ ? मजदुर वर्गले कुन भूमिका निर्वाह गर्नुपर्छ भन्ने यावत बिषयहरुमा सबभन्दा पहिले यिनै दुई नेताहरुले मजदुर माझ राखेका थिए।

    मार्क्सले समाजमा रहेका वर्गहरु चिनेर कसरी पूँजीवादले मजदुर वर्गको शोषण गर्छ भन्ने छर्लङ्ग पारे, उनले यो पनि भने कि एक अवस्था यस्तो आउँछ, जब पूँजीवादले उत्पादन र उत्पादनका साधनहरुमा विकास नगरेर अवरोध खडा गर्न थाल्छ। उत्पादनलाई अगाडि बढाउनुको सट्टा त्यसलाई रोकेर खाद्यान्न संकट, लत्ताकपडाको संकट निम्त्याउँछ। गरिबी र बेरोजगारी बढाएर वस्तुहरु महंगो पार्छ। मुनाफाखोर र कालोबजारीहरुले जनतालाई जबर्जस्ती महंगीको मारमा भोकभोकै मार्छन् र कमजोर देशहरूलाई एक आपसमा लडाएर युद्ध सामाग्री बिक्री गर्छ्न, उपनिवेश अर्ध उपनिवेश बनाउन जबर्जस्ती बम हानेर आतंक पार्ने, जनता मार्ने आदि कार्य गर्दछन् । हालै देखिएको कोरोना नामक जैविक(हतियार)पनि पूँजीपतिहरुकै उत्पादित वस्तु हुन सक्छ, जो आज सम्पूर्ण मेहनतकश जनताको चिहान बनाउन मुख बाएर खडा छ। समाजको भलाईको निमित्त पूँजीवादलाई खतम गर्नु नै आजको मुख्य कार्यभार हो। समाज त्यतिबेला मात्र अगाडि बढ्न सक्छ, जब सत्ताको बागडोर पूँजीपतिको हातबाट खोसेर सर्वहारा वर्ग याने मजदुर वर्गले आफ्नो हातमा लिन्छन्। पूँजीवादी समाजमा हुने "वर्ग संघर्ष" लाई जोड दिएर भनेका छन्- कसरी अन्तिममा बुर्जुवा वर्गको सत्ता पल्टाएर, पूरा संसारमा आफ्नो सत्ता कायम गर्न सर्वहाराले सक्तछन्। मार्क्सले पूँजीवादको विरुद्ध, जुन दार्शनिक तर्क तथ्यसहित प्रस्तुत गरेका छन्, त्यसलाईं कुनै पनि दार्शनिकले उल्ट्याउन सकेका छैनन, त्यो तर्कका अगाडि सबै नतमस्तक हुन्छन्।

    २०औं शताब्दीमा मजदुरहरुले रुस,चीन, क्युवा र अन्य अरु देशमा पूँजीपतिको शासन उल्टाए र निजी सम्पत्ति र उत्पादनका साधनहरुमा कब्जा जमाए। ब्रिटेनको स्कुल अफ इकोनोमिक्सका जर्मन इतिहासकार अलब्रेख्त रिसल भन्छन्, "भूमण्डलिकरणको पहिलो आलोचक थिए- मार्क्स । उनले संसारमा हुने र नहुनेहरुको बीच बढिरहेको खाल्डोप्रति चेतावनी दिएका थिए। मार्क्सको सिद्धान्तको अर्को महत्वपूर्ण अंग भनेको "अतिरिक्त मूल्य" को सिद्धान्त हो, यो त्यो मूल्य हो जो एउटा मजदुरले आफ्नो ज्याला बाहेक अरु थप ज्याला उत्पन्न गर्दछ। मार्क्स भन्छन्- उत्पादनको स्वामित्व भएकाले मालिकले त्यो अतिरिक्त मूल्य लिन्छ सर्वहारा(श्रमिक) को सस्तो ज्यालामा र आफ्नो ध्यान कसरी बढी मुनाफा हुन्छ भन्ने कुरामा लगाउँछ । यसैकारण पूँजी एक ठाउँमा वा केही व्यक्तिहरुको हातमा केन्द्रित हुन्छ, जसको कारण बेरोजगारी र श्रम शक्तिमा व्यापक ओरालो लाग्दछ।

    "कम्युनिस्ट घोषणा पत्र" मा मार्क्सले पूँजीवादको भूमण्डलीकरणले नै अन्तर्राष्ट्रिय अस्थिरता उत्पन्न गर्नमा मुख्य कारक बन्दछ भनेको २० औं र २१ औं शताब्दीमा घटेका आर्थिक मन्दी र त्यसबाट उत्पन्न परिणाम र हालै अब कोरोना अवधि समाप्तिपछि यसले निम्त्याउने आर्थिक संकट वा मन्दी झन चरम अवस्थामा पुग्छ,पूँजीवादले यो समस्या हल गर्न सक्तैन, यी घटनाहरु हेर्दा मार्क्सको भनाईको सार्थकता अझ बढेर गएको पाउँछौ। पूँजीवादले आफ्नो चिहान आफैं खन्छ सो कुराको पुष्टि हुँदै गइरहेको छ।

    मार्क्सवाद फेल खायो, अब यसको काम छैन भन्दै दुनियाँभरका प्रतिक्रियावादीहरु एक स्वरले कोकोहोलो मच्चाइरहेका छन्, जबकि मार्क्स-एंगेल्सले परिकल्पना गरेको राज्य व्यवस्था कहिले पो आयो ? त्यो त फगत एउटा बाटो थियो कम्युनिज्म प्राप्त गर्ने, त्यो कम्युनिस्ट समाज नै बनेको थिएन । त्यो त खालि पूँजीवादी शोषणको अन्त्य र पूँजीपती वर्गको अन्त्य मात्र भएको थियो, समाजवादी समाजको मात्र स्थापना भएको थियो, क्रान्तिका अरु सांस्कृतिक कार्यभारहरु, जसले समाजवादलाई बलियो बनाउँछ । त्यो कार्य गर्न बाँकी हुँदै संशोधनवादी ख्रुश्चोभहरुले सत्ता हत्याए । समाजवाद कम्युनिज्मको पहिलो अवस्था हो, पूँजीवाद र कम्युनिज्म बीचको अवस्था, जुन कम्युनिज्ममा पुग्ने एक बाटो मात्र हो।संशोधनवादीहरुले सत्ता लिन सफल भएपछिको परिणामलाई उचित ठान्नु गंभिर प्रकारको भूल हुनेछ। ती पतित वा पतनशिल देशहरुलाई हेरेर मार्क्सवादको मूल्यांकन गर्ने नै होईन, कम्युनिज्म त कहिल्यै आएकै छैन् । नआएको चिज कसरी पतन हुन्छ ?

    कम्युनिस्ट समाज कुनै एकदिनमा निर्माण हुने चिज होईन, यो त घुमाउरो, टेडो मेडो बाटो हुँदै कहिले फैलिंदै कहिले खुम्चिदै अवस्था हेरेर अघि बढ्दै जाने अन्तिम इकाई हो।समाजवादको मूल सिद्धान्तहरुलाई लागु गर्दै जानु नै कम्युनिस्ट समाज निर्माणका आधारहरु हुन। यो मूल सिद्धान्त भनेको उत्पादन र उत्पादकत्वका साधनहरुमा समाजको आधिपत्य, उत्पादक शक्तिहरुको क्षमता र उन्नतिका आधारमा भागबण्डा र योजनाको तर्जुमा हुने राष्ट्रको अर्थ नीतिले समाजवादी राज्यसत्ता बलियो हुँदै अन्ततः कम्युनिज्म समाजमा प्रवेश गर्दछ। मार्क्स-एंगेल्सले परिकल्पना गरेको समाज कम्युनिज्म हो । उनीहरुले समाजवादलाई कहिल्ये लक्ष्य मानेकै छैनन्। समाजवादमा त वर्गहरु रहेकै हुन्छ्न। समाजवाद त मात्र एक खुड्किलो हो,अहिले हेर्दा अलि पछि परे जस्तो देखिएको मात्र हो, यो संघर्ष त नयाँ समाज स्थापनाका निम्ति निरंतर निरंतर विश्वभरि चली रहेकै छ।जबसम्म समाजमा वर्गहरु विद्धमान छन, वर्ग संघर्षका रुपहरु फेरिए पनि वर्ग संघर्ष भने रहिरहन्छ। वर्गहरुको बीचमा संघर्ष नहुने अवस्था अर्थात् वर्ग विहीनताको समाज नै मार्क्सले प्रस्तुत गरेका सैद्धान्तिक पक्षकाे मूल तत्व हो, सच्चा मार्क्सवादीहरुले यिनै विशेषतालाई दह्रोसंग पक्रेर अगाडि बढेमा मार्क्सको जन्म जयन्तीको सार्थकता रहनेछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार