Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

सोभियत कम्युनिस्ट पार्टीको विघटन: एक संशोधनवादी प्रयोग

सोभियत कम्युनिस्ट पार्टीको विघटन: एक संशोधनवादी प्रयोग

  • सोमवार, बैशाख २२ २०७७

  • छवी सुवेदी


  • मार्च महिनाको १३,सन् १९८८ को दिन । सोभेत्स्काया रोसिया नामक रुसी पत्रिकामा रसायनशास्त्रकी प्राध्यापक निना आन्द्रेयेभाको एउटा खुला चिठी छापियो । शिर्षक थियो, “म मेरा सिद्धान्तहरुलार्ई त्याग्न सक्दिन ।” त्यो समय सोभियत संघको कम्युनिस्ट पार्टी र सत्ताका प्रमुख मिखाइल गर्वाचोव युगोस्लाभीया भ्रमणमा थिए । उक्त चिठी नौ सयभन्दा बढी रुसी पत्रिकाहरुले छापे । सोभियत संघभरी चिठीले ठूलो हलचल ल्यायो । चिठीमा निनाले प्रेस्त्रोइका र ग्लास्नोस्तको धज्जी उडाएकी थिइन् । आधारभूत कम्युनिस्ट सिद्धान्तलार्ई त्यागेर बजार पुँजीवादको शरणमा गएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेकी थिइन् । त्यो चिठीले लाखौं सोभियत मनहरुलाई तरङ्गीत बनायो । व्यवस्थामा ल्याइएको सुधारले आम नागरिकहरुलाई अभावको पहरोमा लगेर जोतिदिएको थियो । पाउरोटी किन्नसमेत घण्टौ लाइन बस्नु पर्ने अवस्थाबाट आजीत जनताहरुलार्ई चिठीले जुलुसमा बदल्यो । शहरहरुमा र्यालीहरु निस्किए । मिखाइल गर्वाचोव भ्रमण छोट्याएर मस्को फर्किए । उनले कम्युनिस्ट पार्टीको पोलिटब्युरोको बैठक डाके । बैठकले उक्त चिठीलार्ई एकमतले खारेज गर्यो । सुधारका आलोचकहरुलाई राष्ट्रघातीको आरोप लगाइयो ।

    बुढा कोन्स्त्यान्टिन चेर्नेन्कोको सन् १९८५ मा निधन भएपछि ५४ वर्षका मिखाइल गर्वाचोव पार्टी महासचिव बनेका थिए । महासचिव बन्नुपुर्व गर्वाचोवले क्यानडा, बेलायतलगायत केही मुलुकको भ्रमण गरेका थिए । उनी समाजलार्ई खुकुलो बनाउने र अर्थतन्त्रको पुनर्निर्माण गर्ने सोचमा थिए । ख्रुस्चेभको कार्यक्रमबाट गर्वाचोव प्रभावित थिए । महासचिव बनेलगत्तै गर्वाचोवले जनताका कुरा सडकमै सुन्ने, आफ्नो फोटो चोकहरुमा नटास्ने, पोलिटब्युरोमा छलफललार्ई बृहत् बनाउनेजस्ता कदमहरु चाले । सोभियत समाजवाद ख्रुस्चेभको पुँजीवादपरस्त कार्यक्रमबाट सन्क्रमित भएकोले त्यो झन मक्किदै गएको थियो। सन् १९८६ मा चेर्नोवील आणविक दुर्घटना भयो। केही पश्चिमा विश्लेषकहरुले त चेर्नोवील आणवीक दुर्घटनाले सुधारका निमित्त दबाब दिएको बताएका छन् । आणवीक होडबाजीले उकुसमुकुस भएको दुनियाका निमित्त चेर्नोवील दुर्घटनाले चर्चा पाउनु अस्वभाविक थिएन । सोही साल भएको पार्टीको सत्ताइसौं महाधिवेशनबाट गर्वाचोवको आर्थिक पुनर्निर्माण “प्रेस्त्रोइका” र राजनीतिक खुलापन “ ग्लास्नोस्त“ कार्यक्रम पारित भयो । गर्वाचोवले समाजवादलार्ई अझ सुदृढ गर्न यस्तो सुधारको कार्यक्रम ल्याएको व्याख्या गरे । सन् १९८७ को जुनमा सम्पन्न पार्टीको विस्तारित बैठकमा उनले आर्थिक सुधारलार्ई बल पुग्ने दस्तावेज पेश गरे । उक्त बैठकमा उनले बहुदलीय व्यवस्थाको प्रस्ताव पनि राख्न खोजेका थिए । तर त्यो प्रस्ताव उनले बाहिर ल्याएनन् । आर्थिक सुधारको कार्यक्रमले निजि व्यापारलाई कानुनी मान्यता प्रदान गर्यो । सरकारी उत्पादन कम्पनीहरुले आफ्नो उत्पादनको तीस प्रतिशत निजि व्यापारी र सहकारीलार्ई बेच्न पाउने प्रावधान बन्यो । खबरपत्रिकाले सरकारका गतिविधिको आलोचना छाप्न पाउने भए । पार्टी र समाजवादविरोधी कार्य गरेको आरोपमा बन्दी बनाइएकाहरु रिहा भए । सुधारको कार्यक्रमपश्चात सरकारी कम्पनीहरूको घाटा बढ्यो । निजि व्यापारीहरुको नाफा तीब्र रुपमा बढ्यो । कालोबजारी र भ्रष्टाचार त्यही मात्रामा वृद्धि भयो ।

    सुधारवादी बाटोको विपक्षमा कम्युनिस्ट पार्टीभित्र आवाज बुलन्द हुँदै गयो । आम नागरिकहरुमा पनि सुधारले आकर्षण पैदा गरेन् । रुसी कम्युनिस्ट पार्टीभित्र हुर्किरहेको नोकरशाहीतन्त्र र कालोबजारीहरु एवं तस्करहरुको गठजोडले नयाँ प्रणाली कामकाजी हुनुपूर्व पुरानो प्रणाली ध्वस्त बनायो । महंगी र अभावले असन्तोष ह्वात्तै बढ्यो । सरकारका सीमित अधिकारी र केही व्यापारी रातारात धनी बने । आम जनताले नचिताएको गरिबी व्योहोर्नुपर्यो । यही परिवेशमा निना आन्द्रेयेभाको चिठी बाहिरिएको थियो । कम्युनिस्ट नोकरशाह र नाफाखोरहरुमाथि औला उठाइएको थियो । लेनिनले भने झै सुधारवादले पुँजीवादको सेवा गर्ने तथ्यको व्यवहारिक रुपले पुष्टि भएको थियो । पश्चिमी पुँजीवादी वृत्तले मिखाइल गर्वाचोवको प्रशन्सामा शब्दहरु खर्चिन शुरु गरेको थियो । सन् १९८८ मा टाइम पत्रिकाले गर्वाचोवलाई “वर्ष पुरुष” घोषणा गर्यो।

    ख्रुश्चेवको उदयपश्चात स्टालीनले लागू गरेको राष्ट्रीय समाजवादको कार्यक्रम अप्ठ्यारोमा पर्यो। पुर्वी युरोपमा सोभियत संघले अनावश्यक हस्तक्षेप गरेर आफ्नो स्वरुप पनि अमेरिकाको झै साम्राज्यवादी भएको झल्को दियो । राज्यको धेरै ठूलो सम्पत्ति आणविक हतियारका निमित्त खर्च हुन थाल्यो । सन् १९६१ मा सम्पन्न पार्टीको बाइसौ महाधिवेशनमा ख्रुश्चेवले आउदो २० वर्षमा साम्यवादको स्थापना गर्ने घोषणा गरे । स्टालीनको नामोनिसान मेटाउन उनको नाम दिइएका शहरहरुको नाम पुरानै राख्ने निर्णय भयो । इतिहासकार आर्की ब्राउनकाअनुसार झुठो वाचा गरिएको भए पनि रुसी इतिहासमा साम्यवाद स्थापनासम्बन्धी त्यो अन्तिम दस्तावेज थियो । ख्रुश्चेवले लेनिनको नयाँ आर्थिक नीतिको खुलेर प्रशन्सा गरे भने स्टालीनलाई इभान जस्तो डरलाग्दो राक्षसको उपमा दिए। चीनसङ्गको वैचारिक सम्बन्ध भङ्ग गरे। सन् १९६२ को क्युबाली मिसाइल संकटले ख्रुश्चेवको नीतिलार्ई कमजोर बनाउन मद्दत गर्यो। ख्रुश्चेवलाई ब्रेझनेवले सजिलै अपदस्थ गरे । ब्रेझनेवले लीक बाहिर गैसकेको सोभियत समाजवादलाई सच्याउन सकेनन् । ब्रेझनेवको मृत्युपछि युरी आन्द्रोपोव महासचिव भए । उनले भ्रष्टाचारविरोधी अभियान चलाए। आन्द्रोपोवले मिखाइल गर्वाचोवलाई पार्टीमा अघि सारे। आन्द्रोपोवपछी चेर्नेन्को नेतृत्वमा आए । यी दुवै बुढा र रोगी थिए। आन्द्रोपोवपछी मिखाइल गर्वाचोव महासचिव भए। यहासम्म आउदा ख्रुश्चेवको सुधारवादले लामो भूमिगत यात्रा तय गरिसकेको थियो । उनले बढाएको हस्तक्षेपको नीति शिखरबाट ओरालो झर्ने तरखरमा थियो ।

    गर्वाचोवले पूर्वीयुरोपका समाजवादी मुलुकहरुमा बढेको अमेरिकी सक्रियतालार्ई रोकेनन । आणवीक अप्रसारको नीति अख्तियार गर्न तयार भए । अफगानिस्तानबाट रुसी सेना फिर्ता गरे । हेर्दाहेर्दै पूर्वी युरोप ढल्यो । बर्लीनको पर्खाल भत्कियो । सन् १९८९ मा टाइम पत्रिकाले गर्वाचोवलाई “दशक पुरुष” घोषणा गर्यो । पुँजीवादको विश्वव्यापीकरण बेलगाम घोडा झै बर्लीन, क्रेमलीन हुँदै तियानमेनसम्म पुग्यो । सोभियत सत्ताले समाजवादको नाममा आफूमाथि आश्रित परजीवी समाजवाद स्थापना गरेको थियो । सोभियत संघ आफै चर्मराउन थालेपछि ती आश्रित सत्ताहरु ढल्नु स्वभाविक नै थियो ।

    गर्वाचोवले बजारको ढोका खोलेपछी उनले भनेका थिए, “हामीले सन् २००० सम्ममा अमेरिकी उत्पादनलार्ई भेट्नेछौ ।” उनले भोड्का उत्पादनमा चालीस प्रतिशत कटौती गरे । रक्सी सेवनमा कडाइ गरे । यसरी आर्थिक सुधारसँगै सामाजिक सुधारलाई पनि अघि बढाए । यी सुधारका कार्यक्रममा उनलाई नजीकबाट सहयोग गर्ने नेतामध्येका एक थिए– अलेक्जेण्डर यकोव्लेव । उनी अमेरिकामा एक वर्ष पढेर आएका थिए । रुसको कम्युनिस्ट व्यवस्था जोगाउन आर्थिक पुनर्निर्माणलार्ई उनी अचुक हतियार ठान्थे । उनलाई “ग्लास्नोस्त” का पितामह पनि भनिन्छ । सन् १९८७ मा रुसी राष्ट्रवादी सङ्गठन पाम्यातले यकोव्लेवलाई सरकारबाट हटाउन चेतावनी दियो। सन् १९९० सम्म आउदा आर्थिक सुधारको कार्यक्रमले सोभियत सत्तालाई एक सय अरबभन्दा बढीको चुना लगायो। यसको बदलामा मस्कोले केही थान अरबपति जन्मायो। मस्कोमा म्याक डोनाल्ड रेस्टुरेन्ट लगायतका विदेशी व्यापारका केन्द्रहरु खुले । जहाँ धनाढ्यहरु आफ्नो आम्दानीको सानो भाग खर्च गर्न सक्थे । सन् १९९० को शान्तितर्फको नोवेल पुरस्कार गर्वाचोवलार्ई दिइयो ।

    ग्लास्नोस्त र प्रेस्त्रोइकाले सोभियत संघमा राष्ट्रवादलाई बिउझाए । बाल्टिक गणराज्यहरुले सन् १९८९ को अन्त्यसम्ममा आफुलाई स्वतन्त्र घोषणा गरिसकेका थिए। अन्य गणराज्यहरुमा पनि स्वातन्त्रताको आन्दोलन शुरु भएको थियो । गर्वाचोव सोभियत संघलार्ई जोगाउन चाहान्थे । तर उनले अख्तियार गरेको नीतिले विघटनको बीउ रोपिसकेको थियो । सन् १९९० को जुन महिनामा सोभियत संघको कम्युनिस्ट पार्टीको अट्ठाइसांै महाधिवेशन भयो । गर्वाचोवले “मानवीय प्रजातान्त्रिक समाजवादतर्फ” नामक दस्तावेज पेश गरे । यो नै सोभियत कम्युनिस्ट पार्टीको अन्तिम महाधिवेशन थियो । यहाँसम्म आउदा गर्वाचोव मार्क्सवादी लेनिनवादीबाट युरोपेली समाजवादी भैसकेको पुष्टि हुन्छ । सुधारको बाटोबाट छिरेको बजार पुँजीवादले आफू हिडेको सुधारवादी बाटो भत्काएर पुँजीवादलाई फराकिलो बनाइसकेको थियो । राज्य नियन्त्रित उत्पादन फर्महरु बन्द हुने चरणमा पुगेका थिए । किसान र मजदुरको अवस्था सन् १९१७ को झै भैसकेको थियो । राज्यको नियन्त्रणमा रहेका उत्पादनका साधनहरुमा नोकरशाहीतन्त्रले कब्जा जमाएको थियो ।मौका पाउनासाथ नोकरशाहीतन्त्रले ती उत्पादनका साधनहरु कमिसनको भरमा उदारवादलार्ई सुम्पिदियो । अब गर्वाचोवसँग पार्टी र सत्ताको पदबाहेक अरु सिन्को पनि बाँकी थिएन । उनी आत्मसमर्पण गर्न टिठलाग्दो गरि उदारवादको कठघरामा उभिएका थिए । गर्वाचोव अब आफ्नो चाहानाले केही गर्न सक्दैनथिए । यो अवसानको यात्रा गर्वाचोवले अचानक शुरु गरेका थिएनन् । जब उत्पादनका साधनहरु मजदुर र गरिब किसानहरुबाट वेतनभोगी नोकरशाहहरुले आफ्नो कब्जामा लिए, त्यही समयबाट यो यात्रा शुरु भएको थियो ।

    गर्वाचोवलाई अब कम्युनिस्ट पार्टीको पद भारी लाग्न थालेको थियो । उनी उदारवादी र मार्क्सवादी लेनिनवादीको चेपुवामा निर्णयविहीन भएर तैरिरहेका थिए । सन् १९९१ अप्रिलको केन्द्रिय समिति बैठकमा उनले राजीनामा दिए । पोलिट्व्युरोको बैठक उनीबिना तीन घण्टा चल्यो । केन्द्रिय समितिको आग्रहमा पछि उनले आफ्नो राजीनामा फिर्ता लिए, सन् १९९१ अगस्त १८ को दिन । गर्वाचोव आफ्नी श्रीमती र छोरीको साथ क्रीमियास्थित सरकारी आवासमा विदा मनाइरहेका थिए । अचानक उनको घरमा एउटा टोलि पुग्यो र राजीनामा गर्न भन्याँे । यता मस्कोमा मन्त्रीमण्डलका आठ जनाको एउटा समूहले गर्वाचोवलाई सत्ताच्युत गर्ने योजना बनाएको थियो। गर्वाचोवले राजीनामा गर्न मानेनन् । उनलाई आफ्नै निवासमा बन्दी बनाए। त्यो समय रुसी गणराज्यका प्रमुख कम्युनिस्ट पार्टी छाडिसकेका वोरिस एल्त्सिन थिए। उनले सन् १९८७ मा कम्युनिस्ट पार्टीको पोलिट्व्युरो सदस्यबाट राजीनामा दिएका थिए । गर्वाचोवले उनलाई राजनीतिक निरक्षर भनेका थिए । आफुलाई बहुदलवादी भन्ने एल्त्सिनले गर्वाचोवविरुद्ध गरिएको सत्तापलटको विरोध गरे । उनले रुसमा सत्तापलटका विरुद्ध आम हडतालको घोषणा गरे । मानिसहरु सडकमा जम्मा भए । सैनिक ट्याङ्कहरुलाई घेरा हाले । अन्तमा वोरिस एल्त्सिनको अथक प्रयासको फलस्वरूप सत्तापलटको अभ्यास असफल भयो । २१ अगस्तमा गर्वाचोव मस्को ल्याइए । मस्को आएपछि गर्वाचोवले कम्युनिस्ट पार्टीबाट राजीनामा दिए । केन्द्रिय समिति भङ्ग गरेको घोषणा गरे । २४ अगस्तको दिन इभास्को पाँच दिनको लागि कार्यवाहक महासचिव भए । उनले कम्युनिस्ट पार्टीलाई बिउझाउन सकेनन् । २९ अगस्तमा एल्त्सिनले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाए । त्यो समय सोभियत कम्युनिस्ट पार्टीका झन्डै एक करोड नब्बे लाख सङ्गठित सदस्य थिए ।

    १७ डिसेम्बरका दिन एल्त्सिनसङ्गको बैठकमा गर्वाचोवले सोभियत संघ विघटनको प्रस्तावमा हस्ताक्षर गरे । २४ डिसेम्बरमा सोभियत संघको राष्ट्रपतिको हैसियतमा गर्वाचोवले अन्तिम सम्बोधन गरे (“सुधारका सबै प्रयासहरु असफल भए । .. यो समाजले स्वतन्त्रता प्राप्त गरेको छ ।” २५ डिसेम्बरका दिन उनले राष्ट्रपति पदबाट राजीनामा दिए । आणवीक हतियारको साँचो रुसी गणराज्यका राष्ट्रपति वोरिस एल्त्सिनलाई हस्तान्तरण गरे । त्यो अक्टोबर क्रान्तिको उपज सोभियत सत्ता पूर्णत ढालिएको थियो । पुँजीवादले विजय उत्सव मनाएको त्यो दिन क्रेमलिनमा हँसिया हथौड़ा अंकित रातो झण्डा अन्तिम पटक फहराइएको थियो ।

    सोभियत सत्ताको पतनलाई कम्युनिस्टको अन्त्यका रुपमा खुब प्रचार गरियो । रुसको ऐतिहासिक भूमिले सोभियत सत्ता ढल्दै गर्दा धनी र गरिबबिचको ठूलो खाडल तयार पारिसकेको थियो । जसको दोष कम्युनिस्ट पार्टीमाथि थोपरेर पुँजीवादका एजेन्टहरु क्षणिक समयको लागि आत्मरती लिइरहेका थिए । सुधारवाद पहिरेर संशोधनवाद नामको भाइरस कम्युनिस्ट पार्टीमा छिरेको थियो । त्यसैले विशाल पार्टीलाई एउटा गोली पनि खर्च नगरी ढालेको थियो ।

    अर्थशास्त्री डेविड एफ रुकियोकाअनुसार सोभियत संघको पतनपश्चात आर्थिक असमानता रुसमा एकदमै बढेको छ । यो असमानताले युरोपका धेरै मुलुकहरुलाई उछिनिसक्यो । फोबर्स पत्रिकाको सन् २०१५ को प्रतिवेदन अनुसार रुसको करिव ४० प्रतिशत सम्पत्ति सिमित अर्बपतिहरुको हातमा छ । दुई तिहाइभन्दा रुसी जनता गरिबीमा जिउन बाध्य छन् । यो शाश्वत सत्य हो कि विश्वका सबै सत्ताहरु गरिवहरुको धैर्यमाथि टिकेका हुन्छन् । रुसमा पुँजीवादको पुनर्स्थापना विश्व कम्युनिस्ट आन्दोलनका निमित्त ठूलो पाठ पनि हो । समाजवाद एकपटक ढलेपपछि फेरि उठ्न नसक्ने भौतिक जीवन होइन, यो त आम उत्पीडित भौतिक जीवनहरुका निमित्त कालक्रममा सचेततापुर्वक जन्मिने एक बैज्ञानिक व्यवस्था हो ।

    सन्दर्भ सामाग्रीः
    १. सोभियत संघमा पुँजीवादको पुनर्स्थापना ,मार्टिन निकोलास।
    २. द न्युयोर्क टाइम्स, २६ डिसेम्बर १९९१ ।
    ३. विकिपेडिया ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार