Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

मई दिवस र मजदुर आन्दोलनको दिशा

मई दिवस र मजदुर आन्दोलनको दिशा

  • शुक्रवार, बैशाख १९ २०७७

  • कुमार पाैडेल


  • मई दिवस एउटा आन्दोलनको नाम हो, जुन १८८४ मा अमेरिकामा भएको थियो । यो आन्दोलनको प्रारम्भ “८ घण्टा कामको दिन बनाऊ” भनेर भएको थियो । कामको समय ८ घण्टा बनाउन नेशनल लेवर यूनियन बनेको थियो । यो संगठनको संघर्ष र आन्दोलनको परिणामस्वरुप अमेरिकाका कायौं सरकारहरुले ८ घण्टाको कामको दिनको कानून पास गर्न स्वीकार गर्यो । अमेरिकी कांग्रेसले पनि यो कुरा स्वीकार गर्न बाध्य भएको थियो ।

    त्यो समयमा अष्ट्रेलियामा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको नारा लागु भइसकेको थियो । तर मजदुरहरु अमेरिकीलगायत मुलुकहरुमा १८ घण्टासम्म कारखानाहरुमा काम गर्न विवस थिए । कामको घण्टा घटाउनका लागि अमेरिकाको सिकागो शहरमा मजदुरहरुले हडताल शुरु गरे । त्यो आन्दोलन राजनीतिक कम र कामको समय घटाउने विषय मुख्य थियो । जुझारु आन्दोलनका लागि बनेको संघर्ष समितिलाई सेन्ट्रल लेवर यूनियनको पूर्ण सहयोग थियो भने सोसलिष्ट लेवर पार्टीको पनि सहभागिता थियो । यो मजदुरहरुको संयुक्त मोर्चाजस्तै थियो । मेइ १ को अघिल्लो दिन सेन्ट्रल लेवर यूनियले २५००० मजदुरहरुको उपस्थितिमा प्रदर्शन गर्यो । यस दिन विशाल प्रदर्शनको लहर उठ्न पुग्यो । आन्दोलनकारीहरुको आह्वानमा कारखानाको सबै औजार चल्न बन्द भए । यो आन्दोलनले वृहत राजनीतिक रुप ग्रहण गर्दै गयो । १ मेई, १८८६ का दिन यो आन्दोलनले उत्कर्षको रुप लियो । यो आन्दोलनले अमेरिकी मजदुर आन्दोलनको इतिहासमा नयाँ युगको शुरुवात गरेको थियो ।

    बढ्दो आन्दोलनका कारण पुँजीपति वर्गले पनि सरकारसँग गुहार माग्यो । त्यसपछि सरकारले मजदुर आन्लोलन दवाउन शान्तिपूर्ण प्रदर्शनमाथिसमेत दमन गर्यो । ४ मेइको दिन ‘हे मार्केट’ मा ३ मइको दिन मजदुर सभामाथि भएको पुलिसको वर्वर दमनको विरुद्धमा आयोजना गरिएको थियो । यस घटनामा ६ जना मजदुर मारिएका थिए । साथै थुप्रै मजदुर घाइते भएका थिए । यस सभाको अन्ततिर प्रहरीले मजदुरहरुको भिडमाथि दमन शुरु गरेको थियो । भिडमा बम फ्याकियो । उक्त बम हमलामा ४ मजदुर र ७ प्रहरी मारिए । हे मार्केटमा रगतको खोला बग्यो । त्यस आन्दोलनमा चार जना मजदुर नेताहरु पार्सन्स, स्पाइस, फिसर र एंजेलालाई फाँसी लिइयो । कयौंलाई जेल हालियो । यो आन्दोलन “हे मार्केट काण्ड” का नाममा चर्चित छ ।

    यो घटना घटेको एक वर्षपछि ‘अमेरिकन फेडेरेसन अफ लेवर’ ले १८८८ मा ८ घण्टा कामको लागि नयाँ शिराबाट जीवित राख्ने संकल्प गर्यो । मेई १ आन्दोलनको परम्परा बनिसकेको थियो । मेई १, १८९० का दिन अमेरिकन फेडेरेसन अफ लेवरका नेता सेमुयल गैम्पर्सको नेतृत्वमा हड्ताल भयो । तर उनले आन्दोलनलाई संझौताको दिशामा लैजाने प्रयन्त गरे ।

    जुलाई १४, १८८९ मा फ्रान्सको पेरिसमा विभिन्न देशका समाजवादी आन्दोलनका नेताहरु भेला भएर १८७२ मा विघटन भएको मजदुरहरुको पहिलो अन्तर्राष्ट्रिको पुर्नगठनको तयारी गरे । दोस्रो अन्तर्राष्ट्रिय स्थापनाका लागि भेला भएका प्रतिनिधिहरु अमेरिकी मजदुरहरुको आन्दोलनबाट उत्साहित भएर प्रथम कंग्रेसले निम्न प्रस्ताव पारित गरेको थियो– कांग्रेसले एक वृहत अन्तर्राष्ट्रिय प्रदर्शनको आयोजना गर्ने निर्णय गर्दछ कि यो विशेष दिन सबै देशका शहरहरुमा श्रमजिवी जनसमुदायले राज्यका अधिकारीहरुसँग कामको दिन कानूनी रुपमा घटाएर ८ घण्टा गर्ने तथा पेरिस कांग्रेसका अन्य निर्णय लानु गर्न माग गर्यो- अमेरिकन फेडेरेसन अफ लेवरले डिसेम्बर १८८८ को आफ्नो सेन्ट लुइको सम्मेलनले मेई १, १८९० का दिन हडताल गर्ने कुरा तोकिसकेको छ । त्यसकारण यो दिनलाई अन्तर्राष्ट्रिय प्रदर्शसनको लागि स्वीकार गरिन्छ । विभिन्न देशका विद्यमान परिस्थितिअनुसार यो प्रदर्शसन अनिवार्य आयोजना गर्नुपर्दछ ।

    यसरी माक्र्स–एंगेल्सद्वारा सन् १८६४ स्थापना गरिएको पहिलो अन्तर्राष्ट्रियको विघटनपछि एंगेल्सको नेतृत्वमा पुर्नगठित दोस्रो अन्तर्राष्ट्रियले मजदुरहरुको बलिदानको गौरवमय परम्परालाई विश्वभरीका मजदुरहरुले आत्मसात गर्नेगरि मई दिवसलाई संस्थागन गरि मनाउन थालियो ।

    अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको परम्परालाई नेपालमा पनि २०३६ सालबाट निरन्तरता दिन थालिएको छ । बढ्दो महंगी, विश्वपुँजीवाद संगको प्रतिस्पर्धाको अनुपातमा नेपाली मजुदरहरुको अवस्थामा अहिले पनि कठिन छ । दलाद तथा क्रोनी पुँजीवादको प्रभावका कारण मजदुर आन्दोलनले राजनीतिक आन्दोनलनको स्तरमा उठेर उत्पिडित मजदुरहरुबीच पुग्न सकेको छैन् । नेपाल मजदुरहरु राजनीतिक र वैचारिक रुपमा निकै पछाडि परेका छन् । उनीहरु पार्टीहरुका चुनाव चित्ने अस्त्रका रुपमा मात्र प्रयोग हुँदै आएका छन् । त्यसकारण अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउँदै गर्दा नेपाली मजुुदुरहरुले के प्राप्त गरे भन्ने कुरामा ध्यान जान जरुरी छ । नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्ना आन्दोलनलाई मजदुर वर्गको आन्दोलनसँग जोड्न सकिरहेका छैनन्, जसका कारण मजदुर संगठनहरु शिथिल बन्न पुगेका छन् । यसबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

    नेपालको मजदुर आन्दोलनलाई कतिपय कम्युनिष्ट पार्टीहरुले वर्गीय आन्दोलनसँग जोडेर लाने प्रयत्न गरेका छन् । त्यसो गर्दा मजदुरवर्गको भूमिका र महत्व अलि स्पष्ट पारिएको छ । कतिपयले भने मजदुरको काम उत्पादन बढाउने हो, राजनीतिसँग कुनै साइनो रहन्न भनेर उनीहरुको राजनीतिक चेतनालाई भुत्ते पार्दै लगिएको छ । यसको परिणामस्वरुप मजदुर आन्दोलनबाटै उठेका नेताहरु पनि मजदुरबीच पाउन कठिन छ । यसको मुख्य कारण वैचारिक समस्या हो ।

    ट्रेडयुनियनवाद

    आज मजदुर आन्दोलनमा वैचारिक धार कमजोर बनाउन कम्युनिष्ट खोल ओडेका मजदुर वर्ग विरोधी तत्वहरु पूरै शक्ति लगाएर लागेका छन् । लेनिनको समयदेखि मजदुर आन्दोलनमा वर्गिय पक्षधरता विरोधी ट्रेडयुनियनवादीहरु लागिरहेका छन् । यो प्रवृत्ति बिसौं शताब्दीको शुरुतिर रुसको सामाजिक जनवादको आन्दोलनमा देखा परको अवसरवादी प्रवृत्ति थियो । यो नै विश्व मजदुर आन्दोलनको मुख्य समस्याका रुपमा देखिन्छ । मजदुरहरुलाई क्रान्तिकारी सिद्धान्त र राजनीतिबाट अलग गर्नु, मजदुर आन्दोलनलाई तत्कालिन समस्यासम्म सिमित राख्नु नै अर्थवाद वा ट्रेडयुनियनवाद हो । मजदुर आन्दोलनमा सुधारवादी वा अर्थवादीहरुले उत्पादन र आर्थिक विकाशलाई अगाडि बढाउने कुरालाई मुख्य जोड दिने गर्दछ । क्रान्तिकारीहरुले राजनीतिलाई सवभन्दामाथि राख्ने कुरामा जोड दिन्छन् । ट्रेडयुनियनवादीहरुले सिद्धान्त र राजनीतिको भूमिकालाई गौण बनाउने गर्दछन् । आर्थिक उक्षलाई प्रधानता दिने गर्दछन् । यसरी क्रान्तिकारी विचार र राजनीतिलाई कमजोर पारेर जानुको अर्थ हुन्छ, सुधारवादको दिशामा पलायन । क्रान्तिकारी सिद्धान्त र राजनीतिको नेतृत्वबिना आन्दोलन ढिलो चाँडो अर्थवादमा फस्नपुग्दछ । यदि क्रान्तिकारी वर्गसंघर्षको सिद्धान्तलाई एकाकार गरेर लान सकियो भने समाजवादी आन्दोलनको दिशामा अघि जान सक्छ । तर अर्थवादीहरुले तलव वृद्धि, श्रमको अवस्थामा सुधार ल्याउने जस्ता कार्यक्रममा आन्दोलन सिमित राख्ने गर्दछ ।

    लेनिन भन्दछन्, “आर्थिक संघर्ष जनसमुदायलाई राजनीतिक आन्दोलनमा आकर्षित गर्न सवभन्दा व्यापक रुपमा प्रयोग गर्न सक्ने साधन हो भन्ने धारणा, जुन हाम्रा अर्थवादीहरुले सिकाउँछन् आफ्नो व्यावहारिक महत्वमा अति हानिकारक र प्रतिक्रियावादी हो ।” आज पनि दुनियाका धेरै मुलुकहरुमा हिजो र आज पनि आर्थिक मागको लागि संघर्ष हुँदै आएका छन् । त्यस प्रकारको आन्दोलन राजनीतिक चेतनाबिना अगाडि जानुको सट्टा तिनीहरु मजदुर वर्गको विपक्षमा जाने गरेका छन् । पुँजीवादी वर्गले मजदुर आन्दोलनभित्रका अगुवाहरुलाई आर्थिक प्रलोभनमा पारेर फसाउने र उनीहरुको सेवाको लागि संझौता गराउन वाध्य पार्दछन् । तसर्थ मजदुरहरु माक्र्सवादी लेनिनवादी शिक्षाबाट निर्देशित नभै विशुद्ध मागपत्र र ट्रेडयुनियन अधिकारमा सिमित हुँदै आन्दोलन पलायनको दिशामा पुग्दछ । यो वर्तमान मजदुर आन्दोलनको चुनौति हो ।

    मजदुरहरुको संगठनलाई विचारबाट अलग गरेर ट्रेडयुनियनवादको पिछलग्गु बनाउने प्रवृत्ति कहिल्यै पनि लक्ष्यसम्म पुर्याउन सक्दैन । स्वभावैले पनि तत्कालिन उद्देश्य प्राप्त भइसकेपछि दीर्घकालिन लक्ष्यको पक्षमा ऊ लाग्न सक्दैन । तसर्थ यसमा पार्टीको भूमिका महत्वपूर्ण रहन्छ । तर कतिपय राजनीतिक दल निकट मजदुर संगठनले विदेशीले दिने अनुदानको लोभमा परेर मजदुर आन्दोलनलाई एनजिओकरण गर्दै आएका छन् । उनीहरु मजदुरहरुलाई क्रान्तिकारी विचारबाट अलग गर्न चाहन्छन् ल। यसको लागि लेनिनले भने झै सचेत र योजनावद्ध रुपमा मजदुरहरुलाई राजनीतिक संघर्षमा भाग लिन वा भण्डाफोर गरेर जानुपर्दछ । लेनिन अझ अघि भन्नुहुन्छ– आर्थिक संघर्ष जनसमुदायलाई राजनीतिक आन्दोलनमा आकर्षित गर्न सवभन्दा व्यापक रुपमा प्रयोग गर्न सक्ने साधन हो भन्ने धारणा हाम्रा अर्थवादीहरुले सिकाउनछन्, जुन आफ्नो व्यावहारिक महत्वमा अति हानिकारक र प्रतिक्रियावादी हो ।

    लेनिनको स्पष्टिकरण अनुसार कम्युनिष्टहरुले आर्थिक संघर्षमै आफूलाई सिमित राख्न मात्र होइन, उनिअरुले आर्थिक भण्डाफेरको संगठनलाई पनि आफ्नो मुख्य क्रियाकलाप बन्न दिनु हुँदैन । हामीले मजदुर वर्गको राजनीतिक प्रशिक्षण, उसको राजनीतिक चेतनाको विकास गर्ने कामलाई सक्रियतापूर्वक अघि बढाउनु पर्दछ ।

    लेनिनको यसप्रकारको सुझावलाई ध्यान दिन सकिएन भने उनीहरु गैरक्रान्तिकारी संघर्षमा अलमलिने खतरा हुन्छ, जसले कारखानाका मालिक तथा प्रतिक्रियावादी सत्तालाई नै फाइदा पुग्दछ । यस्ता अवसरवादको विरुद्ध जुधेर मात्र मजदुरहरुले आफ्नो लक्ष्य प्राप्तीको मार्ग प्रसस्त गर्न सक्दछन् ।

    कुनै पनि नयाँ आर्थिक वा राजनीतिक प्रणाली आकाशबाट खस्दैन, यसका आधारभूत जराहरु अत्पादक शक्ति र उत्पादन सम्बन्धबाट पैदा हुनेगर्दछ । मजदुर वर्गको सपनाको प्रणाली समाजवाद पुँजीवादी समाजको गर्भबाट पैदा हुन्छ । माक्र्स भन्छन–् पुँजीवादको गर्भबाट पैदा हुने समाजवादी समाजमा अनिवार्य रुपमा आर्थिक, नैतिक र बौद्धिक दृष्टिले पूरानो समाजको गहिरो छाप पर्ने गर्दछ । समाजवादीहरुले सधै यस्तो समाज निर्माण गर्न चाहन्छन्, जसमा मानिसहरुले एक अर्कालाई मानव परवारका सदस्य सम्झिउन, एक यस्तो समाज जो एकअर्काको कल्याणसँग जोडिएको होस् । यस्तो समाज मानव भाइचार र प्रेमको दुनिया हास् । वर्ग र वर्ग सत्रुताके स्थानमा एक यस्तो संघ होस, जसमा प्रत्येकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको सर्त होस् ।

    यस्तो प्रकासको शासन प्रणाली माक्र्सको दृष्टिमा मानिसको सिर्जनात्मक क्षमताको पूर्णरुपमा कार्यान्वयन गर्दै मानव उर्जालाई पूर्ण उपयोगको लागि अनुमति दिन्छ र यस प्रकार सम्पूर्ण मानव शक्तिको विकास आफैमा एक लक्ष्य हुनेछ । १३१ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहदा युगौंदेखि मानव जातिले देखेको समाजवादको सपना साकार बनाउने दिशामा यस आन्दोलनलाई सम्पूर्ण रुपमा केन्द्रित गर्नु जरुरी छ ।

    (लेखक सत्तारुढ नेकपाका केन्द्रीय सदस्य हुन्)

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार