Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

श्रमिक दिवस र लकडाउन (गोपाल ढुङ्गेलका चार कविता)

श्रमिक दिवस र लकडाउन (गोपाल ढुङ्गेलका चार कविता)

  • शुक्रवार, बैशाख १९ २०७७

  • नयाँ समाज


  •  

     

    श्रमिक दिवस- १ 


    ............................

    आज श्रमिक दिवस,
    एक बाक्लो तांती
    हिंडेको छ राती
    पुगिन्छ पुगिदैन घर
    अनिश्चित छ साथी !

    हिंड्दा हिंड्दै जुत्ता
    फाटे, मन फाटे
    छर्छरी रगतहरु मिसिए
    अलकत्राहरुमा
    हिंडेको छ राती
    पुगिन्छ पुगिदैन
    घर, अनिश्चित छ साथी
    आज श्रमिक दिवस !!

    यो लस्कर फैलिएको छ
    चुपचाप चुपचाप
    हिंडेका मलामीहरु जस्तो
    भय छ आतंक अनि डर छ
    यहाँ नियम छ कानुन छ
    अनि भोकाहरुको पेट छ
    हिंडेको छ राति
    पुगिन्छ कि पुगिदैन
    घर, अनिश्चित छ साथी
    आज श्रमिक दिवस !!!

     

    श्रमिक दिवस- २
    .........................

    मैले बनाको बाटोमा
    मैले बनाको मोटरमा
    मैले सिलाको सुटमा
    अनि घुम्ने कुर्सी...
    मेरै भोट लिएर
    मेरै गाउँमा न बाटो
    दिन्छ न माटो
    चार पर्खालभित्रका
    पिंजडाहरुमा थुनेर
    जहाँ छौ त्यहिं बस
    भन्दै, ऊ घोषणा गर्छ
    आज श्रमिक दिवस,
    आज श्रमिक दिवस !!

     

    श्रमिक दिवस- ३
    .......................

    ठूला ठूला महल बनाए
    चिल्ला चिल्ला गाडी अनि
    राम्रा राम्रा सुट र बुट नि
    बनाए,
    अनि घुम्ने कुर्सीहरु नि
    यिनलाई थाहा छ...राम्ररी
    आज श्रमिक दिवस

    बडेमानको भरिएको भुंडी
    हल्लाउँदै,
    अनुहारमा चमक देखाउंदै
    झुसिलो डकार फालेर
    कुनै पांचतारे होटल वा
    मंत्रालयको घुम्ने कुर्सीमा
    हल्लिंदै, फेरि
    घोषणा गर्नेछ....
    आज श्रमिक दिवस !
    जहाँ छौ,त्यहीँ बस !
    आज श्रमिक दिवस !!

     

    कालिगड युसुफ-४
    .........................

    उसको हातमा सीप र कलाको बेजोड संगम
    कुर्सीहरु र मेच अनि पलङका
    चमक कति हो कति

    तर युसुफको मनमा कुनै
    चमक छैन
    क्वारेन्टाइनको बास छ
    आकाशमा बाक्लो घाम
    तर उभित्र छ अँध्यारो...
    पाएन उसले रोजा राख्न
    न मस्जिद जान
    रमजान सुरु भएको
    धेरै दिन बिते
    नमाज पढ्न जांदा
    बाटैबाट फर्काइयो ऊ
    ऊ निरास छ,उसको
    इस्लामियां हुटेल नि
    बन्द छ...

    मान्छेहरु डराए डराए
    देख्छ ऊ, उदेखी
    उसका दाह्रीहरुदेखी
    जमाती.... जमाती....
    यिनै स्वरहरुले ऊ
    भयभित छ,

    ऊ आफूलाई राम्ररी
    चिन्दछ,म एक कालिगड
    फर्निचर हाउसको...
    प्यासलाग्दा पानी नपाउने?
    हुटेल बन्द गर्ने?
    हिंड्न खोज्दा
    लकडाउन भन्ने?
    घर जान्छु अब
    भन्दा क्वारेन्टाइनमा राख्ने?

    युसुफलाई राम्ररी
    थाहा छ,
    उसले गएको चुनावमा
    जिताएको मान्छे,
    उसको आफ्नै पार्टीको
    आशालाग्दो मान्छे...
    उसलाई आकाश हेर्न
    नदिने,
    रमजान र जुम्माका दिनहरूमा
    उसको प्रियतमा
    शकिलासंग भेट गर्न नदिने ।।

    प्रतिक्रिया
    सम्बन्धित समाचार