Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

कोरोना, विज्ञान–प्रविधि र पूँजीवाद

कोरोना, विज्ञान–प्रविधि र पूँजीवाद

  • बिहिवार, बैशाख ११ २०७७

  • रमेश सुनुवार


  • इतिहासमा बेला–बेलामा परीक्षाको घडी आउँछ । त्यस्तो परीक्षामा कहिलेकाहीँ महाबलीहरु पनि पराजित हुन्छन् । पृथ्वीमा आजसम्म आएका प्राणीहरुमध्ये सबभन्दा ठूलो भएर पनि डाइनोसर लोप भएर गयो । तर डाइनोसरभन्दा धेरै सानो प्राणी त्यो परीक्षामा उत्तीर्ण भएर आज मानव बनेको छ ।

    अहिले त्यस्तै एउटा परीक्षाको घडी आएको छ । विश्वका साना–ठूला धेरै देशहरु यो परीक्षाको मैदानमा छन् । कसको भाग्यको फैसला कस्तो हुने हो, कसैलाई थाहा छैन । तर विशेष परीक्षार्थीको रुपमा दुई महाशक्ति राष्ट्रहरु देखिएका छन् । एउटालाई कोरोना फैलाएको आरोप लागेको छ र अर्कोलाई कोरोना रोक्न नसकेको आरोप लागेको छ । परीक्षाको तरवार एउटाको शिरबाट अर्कोको शिरमा सरेको छ ।

    प्रारम्भिक चरणमा एउटा महाशक्ति देश चीन यो परीक्षामा उत्तीर्ण भएकोजस्तो देखिएको छ । तर उसले अझै धेरै गर्न बाँकी छ । उसले कोरोना भइरसको उद्भव कसरी भयो र यो कसरी विश्वमा फैलियो भन्ने कुराको विश्वसनीय स्पष्टीकरण दिनसक्नु पर्दछ । किनभने यो भाइरसको उत्पत्ति चीनमा भएको र त्यहाँबाट विश्वभरि फैलिएको देखिएको छ, जसबाट सम्पूर्ण मानवजाति ठूलो संकटमा परेको छ । त्यसैगरी उसले सम्पूर्ण विश्वबाट कोरोनाको महामारी उन्मूलन गर्न यथासम्भव सहयोग गर्नुपर्छ । अन्यथा यो फेरि चीनमा फर्किन सक्छ ।

    अर्को महाशक्ति देश अमेरिकाको भविष्य अनिश्चित छ । उसको भाग्यको फैसला हुन बाँकी छ । ऊ अहिले संकटको भुमरीमा तिलमिलाइरहेको छ । अमेरिकी पीडाको अभिव्यक्ति राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहारमा स्पष्ट देखिन्छ ।

    दोस्रो विश्वयुद्धको बेला जर्मनीमा हिटलर नामका एक शासक थिए । उनले घमण्ड गर्थे– “जर्मनहरु विश्वकै सर्वश्रेष्ठ जाति हुन् ।” उनको त्यो घमण्डको परिणामस्वरुप अथाह धनजनको क्षति हुने विनाशकारी युद्ध भयो र त्यसको ज्वालामा जलेर उनी पनि खरानी भए । तुलनात्मक रुपमा भन्दा त्यसबेलाको जर्मनी अहिलेको अमेरिकाजस्तै शक्तिशाली थियो । त्यसैकारण ऊ विश्वमा निर्विकल्प, एक्लो वीर बन्ने धुनमा थियो ।

    अहिले उही हिटलरको शैलीमा अमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकालाई सर्वश्रेष्ठ घोषणा गरिरहेका छन् र उही विभेदकारी भावना विश्वमा फैलाइरहेका छन् । जस्तो कि उनले कोरोनालाई ‘चाइनिज भाइरस’ नामकरण गरेका छन् ।

    अमेरिकाले सधैं आफ्नो श्रेष्ठताको पूर्वाग्रहमा संसारको भागबण्डा गर्ने गर्छ । गाउँखाने कथामा “राम्रोजति सबै मेरो, नराम्रोजति सबै तेरो” भनेजस्तो शैलीमा उसले भन्छ–“रसजति मेरो, छोक्राजति अरुको; गुदीजति मेरो, बोक्रोजति अरुको ।” अर्थात्, ‘अरबको तेलजति अमेरिकाको, बालुवाजति अरबियनहरुको; संसारका प्रतिभावान मानिसहरुजति अमेरिकाको, प्रतिभाहीन मानिसहरुजति अरुको; एड्सजति एसिया र अफ्रिकाको, सुन्दरीहरुजति अमेरिकाको ।’ डोनाल्ड ट्रम्पले कोरोनालाई चाइनिज भाइरस नामकरण गरेर यही अमेरिकी श्रेष्ठताको पूर्वाग्रहलाई पीडाको आवेगमा दोहोर्याएका छन् ।

    ट्रम्पलाई अरुले उछिनेको सह्य हुँदैन । चीनले कोरोनाको प्रकोपलाई रोकथाम गरेको तथ्यले उनलाई खपिनसक्नु भयो । उनले उपेक्षाको भावमा सजिल्यै भनिदिए–“चीनमा भएको क्षतिको तुलनामा हाम्रो त छेउछाउ पनि होइन ।” सबैलाई थाहा छ, यो आफ्नो देशको दुर्दशालाई ढाकछोप गर्ने असफल प्रयास मात्र हो । यसरी अरुको कमजोरी देखाएर अमेरिका यो परीक्षमा उत्तीर्ण हुँदैन । उनले सफलतापूर्वक अमेरिकालाई कोरोनामुक्त बनाए भने मात्र अमेरिका यो परीक्षामा उत्तीर्ण हुनेछ ।

    आफ्नो तथाकथित श्रेष्ठताको बावजुद अमेरिकाले कोरोना भाइरसको महामारीलाई किन रोकथाम गर्न सकेन ? उसका उच्च प्रविधियुक्त संयन्त्रहरु किन बेकार भए ? इरान र उत्तर कोरियालई घेरा हाल्न पुग्ने कार्ल भिन्सेन्ट युद्धपोत कहाँ बेपत्ता भयो ? कुन म्युजियममा थन्कियो ? F-16, B-52, Stealth-117 फाइटर प्लेनहरु कहाँ हराए ? कुन माकुराको जालमा झिंगा फसेजस्तै फसे ? बाह्य आक्रमणलाई निस्तेज पार्नका लागि क्षेप्यास्त्र कवच (missile-Seald) बनाउने अमेरिकाले कोरोना कवच (Corona- Seald) किन बनाउन सकेन ?

    उत्तर स्पष्ट छ । उसको सम्पूर्ण उद्योग मानवको हितमा केन्द्रित छैन । त्यो विश्वमा हैकम जमाउने कुत्सित नियतमा केन्द्रित छ । उसले मानव जीवनका लागि आवश्यक पर्ने वस्तुहरुको उत्पादन गर्दैन, मानव जीवनलाई ध्वंस गर्ने वस्तुहरुको मात्र उत्पादन गर्छ । त्यसकारण ऊ अहिले कोरोना महामारीको अगाडि असहाय बनेको छ ।

    यो परीक्षाको दोश्रो परीक्षार्थी विज्ञान–प्रविधि हो । सवैलाई लागिरहेको छ– यो विज्ञान–प्रविधिको युगमा पनि एउटा भाइरसले कसरी सम्पूर्ण विश्वलाई आतंकित पारेको होला ?

    मानवजाति आज सभ्यताको जुन उचाइमा पुगेको छ, त्यसमा विज्ञान–प्रविधिको भूमिका अग्रणी छ । विगतमा असंभव मानिएका कुराहरु आज बच्चाका खेलजस्ता भएका छन् । विगतमा काल्पनिक मानिएका कुराहरु आज यथार्थ बनेका छन् । यस्ता महामारीहरु र रोगहरु विगतमा पनि आएका थिए । प्लेग, हैजा, औलो, कुष्टरोग, क्षयरोग, आदि आफ्नो जमनामा कोरोनाभन्दा के कम थिए र ? तर तिनीहरु सवैको निवारण विज्ञान–प्रविधिले गरिसकेको छ ।

    ब्रह्माण्डको उत्पत्तिदेखि अन्त्यसम्म सवै घटनाहरु बताउन सक्ने, विशाल ब्रह्माण्डदेखि सूक्ष्म क्वाण्टमसम्म विचरण गर्न सक्ने र कृत्रिम उपग्रहदेखि कृत्रिम बुद्धि (AI) सम्म बनाउन सक्ने विज्ञान–प्रविधिको लागि यो कोरोना कुन ड्याङको मुला हो र ?

    तर कोरोनाको अगाडि विज्ञान–प्रविधि निरीह बनेको छ । त्यसको कारण के हो भने विज्ञान–प्रविधि नाफाबाहेक अरु केही पनि नसोच्ने पुँजीवादीहरुको कब्जामा परेको छ । जसरी महाभारतमा अपराजेय मानिएका भीष्म कौरवहरुको (दुर्योधनको) अधीनमा परेर निरीह बनेका थिए, त्यसैगरी आज विशाल क्षमतावान विज्ञान–प्रविधि पुँजीवादीहरुको हातमा परेर निरीह बनेको छ ।

    पुँजीवादमा मानवीय हित प्राथमिकतामा पर्दैन । त्यसको लक्ष्य नाफा हो । त्यसकारण विज्ञान–प्रविधिको उपयोग नाफा कमाउनका लागि गरिन्छ, मानव जीवनका लागि गरिंदैन । परिणामस्वरुप शिक्षा, स्वास्थ्य, भोजन र आवासजस्ता मानवका आधारभूत कुराहरु उपेक्षित हुन्छन् ।

    नाफा मात्र बटुल्न पल्नेका पुँजीवादीहरु कोरोनाजस्ता महामारीहरु निवारण गर्नको लागि एक पैसा पनि खर्च गर्न चाहँदैनन् । किनभने उनीहरुलाई त्यसबाट नाफा हुँदैन । उनीहरुको चाहना त “कुचोलो बढार्नुपर्ने कसिंगर हावाले उडाओस्” भन्ने हो । त्यसकै परिणाम हो, अहिलेको संकट ।

    तेश्रो परीक्षार्थी हो– पुँजीवाद । पुँजीवादका पुजारीहरुले यसलाई निर्विकल्प र उत्कृष्ट व्यवस्था घोषणा गरेको धेरै भइसकेको छ । कोही भन्छन्–“विगतका सम्पूर्ण व्यवस्थाहरु अप्राकृतिक, अतर्कसंगत थिए, त्यसकारण तिनीहरु बिलाएर गए । तर पुँजीवाद प्राकृति, तर्कसंगत छ, त्यसकारण आकाशमा घामजून रहेसम्म पृथ्वीमा पुँजीवाद रहिरहन्छ ।” (एडम स्मिथ) कोही भन्छन्–“पुँजीवादको लागि इतिहासको अन्त्य भएको छ ।” (फ्रान्सिस फुकुयामा) तर अहिले यही पुँजीवादको बर्चस्व भएका देशहरु डाँवाडोल भएका छन्, जबकि पुँजीवादद्वारा उपेक्षित अभागी देशहरु यो रोगको प्रकोपबाट धेरै प्रभावित भएका छैनन् । तब पुँजीवाद कति उत्कृष्ट छ र यसले कति प्रगति गरेको छ भन्ने कुरा बुझ्न कठिन छैन् ।

    पुँजीवादमा उन्नति–प्रगति भनेको यथासंभव धन आर्जन गर्नु हो । धन भनेको आजको विश्वमा डलर हो, सुनचाँदी हो र शेयर हो । सवैको ध्यान यसमै केन्द्रित हुन्छ । यहाँ मानव जीवनका लागि आवश्यक पर्ने विषयलाई भन्दा नाफा प्राप्त हुने विषयलाई महत्व दिइन्छ । यहाँ कुन कुरा मानवका लागि उपयोगी हुन्छ र कुन कुरा अनुपयोगी हुन्छ भन्ने विचार गरिंदैन । यहाँ त कुन कुरामा नाफा हुन्छ र कनु कुरामा नाफा हुँदैन भन्ने विचार मात्र गरिन्छ । धनको अगाडि मानव जीवन गौण बन्दछ ।

    त्यसकारण पुँजीवादमा प्रगति एकाङ्गी, एकपक्षीय हुन्छ । यहाँ कतै उन्नति हुन्छ, कतै दुर्गति । कतै अपच (फुड प्वइजन) हुन्छ, कतै कुपोषण । कतै हराभरा हुन्छ, कतै उजाड । कतै स्वर्ग हुन्छ, कतै नरक । कतै सम्पन्नताको शिखर हुन्छ, कतै दरिद्रताको खाडल । परिणामस्वरुप समय–समयमा आउने संकटको आँधीले मानव जीवन धराशयी हुनजान्छ ।

    सही काम अथाह धन थुपार्नतिर लाग्नु होइन, मानव जीवनको लागि आवश्यक पर्ने भौतिक संरचनाको निर्माण गर्नु हो । यदि यसो गरियो भने सामान्यतया यस्ता संकटहरु आउँदैनन्, केही गरी आइहाले पनि तिनीहरुको सामाना सजिल्यै गर्न सकिन्छ । मानवलाई यस्तै काम गर्ने सामाजिक व्यवस्थाको आवश्यकता छ । कोरोना भाइरसको विश्वव्यापी महामारीले सम्पूर्ण मानव जातिलाई यही पाठ सिकाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार