Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

सन्दर्भ लेनिन जयन्ती: महान अक्टोबर समाजवादी क्रान्ति र वर्तमान युग

सन्दर्भ लेनिन जयन्ती: महान अक्टोबर समाजवादी क्रान्ति र वर्तमान युग

  • मंगलवार, बैशाख ९ २०७७

  • रमेश सुनुवार


  • महान अक्टोबर क्रान्ति र लेनिनलाई अलग गरेर हेर्न मिल्दैन । हामीले लेनिनलाई सम्झनुको अर्थ हो- उनको नेतृत्वमा सम्पन्न भएको महान समाजवादी अक्टोबर क्रान्तिक । लेनिन जयन्तीको सन्दर्भमा महान अक्टोबर समाजवादी क्रान्ति र वर्तमान युग शीर्षकको यो लेख  प्रकाशित गर्नु उपयुक्त हुने ठानेर नयाँ समाजमार्फत पाठक समक्ष प्रस्तुत गरिएको छ- सम्पादक ।

    कुनै दुई युगहरुलाई एउटा घटनाले छुट्याउँछ । प्राचीनकालको अन्त्य र मध्यकालको आरम्भ सन् ४७६ मा कन्स्टेन्टीनोपलको पतनबाट भएको थियो । त्यसैगरी मध्यकालको अन्त्य र आधुनिक कालको आरम्भ सन् १४५३ मा बैजन्तियाको पतनबाट भएको थियो । यस्ता घटनाहरुमा कुनै–कुनै त यति साना र साधारण हुन्छन् कि तिनीहरुलाई सीमाना मान्न पनि गाह्रो हुन्छ । उदाहरणको लागि, चैत ३० गते र वैशाख १ गतेको बीचमा कुनै उल्लेखनीय भिन्नता हुँदैन । तर त्यो एक रातले दुई महिनाहरुलाई र सँगसँगै दुई वर्षहरुलाई पनि छुट्याउँछ । प्राचीनकालको अन्त्य र मध्यकालको आरम्भ तथा मध्यकालको अन्त्य र आधुनिक कालको आरम्भ हुने घटनाहरु पनि यस्तै साधारण नै थिए । तर कुनै घटनाहरु चाहिँ यति महान हुन्छन्, जसले उथल–पुथल ल्याउँछन् र सिङ्गै युगलाई नै बदल्छन् । जस्तो कि कवि गोपालप्रसाद रिमालले लेखेका छन्– ‘एक जुगमा एकदिन एकचोटि आउँछ, उलट–पलट उथल–पुथल हेरफेर ल्याउँछ ।’

    सन् १९१७ को अक्टोबर २४ मा भएको रुसी क्रान्ति एउटा यस्तै महान घटना थियो । त्यो क्रान्तिले दुई विपरित सामाजिक व्यवस्थाहरुलाई छुट्याएको थियो र पूँजीवादी युगको अन्त्य र समाजवादी युगको आरम्भलाई संकेत गरेको थियो । महान अक्टोबर क्रान्तिले जुन युगको ढोका खोलेको थियो, त्यो हाम्रो वर्तमान युग हो ।

    इतिहासमा धेरै क्रान्तिहरु भएका छन् तर अक्टोबर क्रान्तिको समकक्षी चाहिँ सन् १७८९ मा भएको फ्रान्सेली क्रान्ति मात्र देखिएको छ । यी दुई क्रान्तिहरुको बीचमा धेरै समानता छ । दुवै क्रान्तिहरु सुदृढ वैचारिक आधारमा उभिएका थिए । फ्रान्सेली क्रान्तिको पृष्ठभूमिमा अठाराैं शताब्दीका फ्रान्सेली प्रबोधनकालीन दार्शनिकहरुको तर्कवाद थियो र अक्टोबर क्रान्तिको पृष्ठभूमिमा मार्क्सवाद थियो । त्यसकारण आफ्नो लक्ष्यप्रति क्रान्तिकारीहरुमा कुनै द्विविधा थिएन । एउटाको लक्ष्य थियो– सामन्तवादको अन्त्य र प्रजातन्त्रको स्थापना । अर्कोको लक्ष्य थियो– पूँजीवादको अन्त्य र समाजवादको स्थापना । यसरी यी क्रान्तिहरुले आफ्नो विगतसँग पूर्णरुपले सम्बन्धविच्छेद गरेका थिए ।

    क्रान्तिको परिवेश

    अक्टोबर समाजवादी क्रान्ति एउटा परिवेशमा भएको थियो, जुन मार्क्सवादको पूर्वशर्तभन्दा भिन्न थियो । यो परिवेशका दुई पक्षहरु थिए– आन्तरिक र बाह्य । आन्तरिक परिवेशको रुपमा रुसको आन्तरिक आर्थिक–सामाजिक अवस्था थियो र बाह्य परिवेशको रुपमा पूँजीवादको अन्तर्राष्ट्रिय स्वरुप थियो । रुसको आर्थिक अवस्था पश्चिमी युरोपको तुलनामा धेरै पिछडिएको थियो । सन् १८६१ मा भूदास प्रथाको अन्त्य भए पनि किसानहरुको अवस्थामा कुनै परिवर्तन भएको थिएन । पूँजीवादको विकास प्रारम्भिक चरणमा थियो र उद्योग तथा कलकारखानाको स्थापना पनि धेरै कम मात्रामा भएको थियो । अर्थतन्त्रको प्रमुख आधार कृषि थियो । त्यसकारण मार्क्सवादको दृष्टिकोणबाट हेर्दा रुसको अर्थतन्त्र समाजवादी क्रान्तिको लागि तयार थिएन ।

    त्यसैगरी बाह्य परिवेशको रुपमा रहेको पूँजीवादको अन्तर्राष्ट्रिय स्वरुप पनि बदलिएको थियो । पूँजीवाद प्रतिस्पर्धी चरणबाट एकाधिकारी चरणमा प्रवेश गरेको थियो । परिणामस्वरुप त्यो प्रतिस्पर्धाको कारण उत्पन्न हुने संकटबाट मुक्त भएको थियो । त्यसकारण केही हदसम्म क्रान्ति टरेको थियो ।

    मार्क्सको समयमा पूँजीवाद प्रतिस्पर्धी चरणमा थियो र प्रतिस्पर्धाकै कारण पूँजीवाद संकटमा पर्दथ्यो । त्यही आधारमा मार्क्सले क्रान्तिको सिद्धान्त बनाएका थिए । तर सन् १९०० बाट पूँजीवाद एकधिकारी चरणमा प्रवेश ग‍‍र्‍यो । त्यसरी बदलिएको नयाँ परिवेशको कारण समाजवादी क्रान्तिको मार्गमा समस्या उत्पन्न भएको थियो ।

    क्रान्तिको सूत्रधार

    यस्तो विषम परिवेशमा समाजवादी क्रान्ति सम्पन्न गर्नको लागि एकजना विशिष्ट व्यक्तिको आवश्यकता पर्दथ्यो । इतिहासको आवश्यकताले त्यस्तो व्यक्तिको जन्म पनि भयो । त्यो व्यक्ति थिए– भी. आई. लेनिन । वास्तवमा महान अक्टोबर समाजवादी क्रान्तिको सूत्रधार लेनिन थिए । उनको सुझबुझ, दूरदृष्टि र असाधारण परिश्रमबाटै त्यो क्रान्ति सम्भव भएको थियो ।

    लेनिनको जन्म सन् १७७० मा रुसको एउटा सानो शहर सिम्बीस्र्कमा भएको थियो । उनी सानैदेखि कुशाग्र बुद्धि भएका व्यक्ति थिए । तर उनलाई राजनीतिमा लाग्न उत्प्रेरित गर्ने कुरा चाहिँ एउटा भयानक र दुःखद घटना थियो । सन् १८८७ मा उनका दाजुलाई जार अलेक्जेण्डर तृतीयको हत्या गर्ने षडयन्त्र गरेको अभियोगमा फाँसीमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । लेनिनका दाजु अलेक्जेण्डर ‘नरोदनया भोल्या’ नामको एउटा भूमिगत पार्टीमा सम्लग्न थिए । त्यो पार्टीले रुसमा जारको शासनलाई अन्त्य गरेर किसानको नेतृत्वमा समाजवाद ल्याउने लक्ष्य बनाएको थियो । त्यही क्रममा त्यसले जार अलेक्जेण्डर द्वितीयलाई मृत्युको मुखमा पुर्‍याइसकेको थियो । त्यसपछि त्यसले सत्तामा आएका जार अलेक्जेण्डर तृतीयको हत्या गर्ने योजना बनाएको थियो, जसमा लेनिनका दाजुलगायत सम्पूर्ण योजनाकारहरु पक्राउ परे । उनीहरुलाई मृत्युदण्ड दिइयो । त्यो घटनाले किशोर लेनिनको मनमा ठूलो चोट लाग्यो । त्यसपछि उनले आफ्नो सम्पूर्ण जीवन क्रान्तिमा लगाउने र जार शासनलाई समूल नष्ट गर्ने प्रण गरे । 

    त्यसको लागि उनले मार्क्सवादको गहन अध्ययन गरे । त्यसमा उनले क्रान्तिको सूत्र भेट्टाए । उनले के बुझे भने नरोदवादीहरुको लक्ष्य ठिक छ, तर तरीका मिलेन । जार शासनलाई अन्त्य गर्ने कुरा ठिक छ, तर त्यसको तरीका ठिक छैन । व्यक्तिहत्या, आतंकवाद र नायकवादबाट समस्याको वास्तविक समाधान हुँदैन । निश्चित सिद्धान्तको आधारमा जनआन्दोलनद्वारा सम्पन्न साजाजिक क्रान्तिबाट मात्र समस्याको वास्तविक समाधान हुन्छ । त्यसपछि उनी यस्तो क्रान्तिको मार्गमा अगाडि बढ्छन् ।

    लेनिनले आफ्नो क्रान्तिको यात्रामा तीनवटा अवरोधहरुलाई पार गर्नुपरेको थियो । उनले तीनवटा वैचारिक धाराहरुको विरुद्ध कठिन संघर्ष गर्नुपरेको थियो । ती वैचारिक धाराहरु थिए– नरोदवाद, कानूनी मार्क्सवादर मेन्शेभिक धारा । यी तीन धाराहरुमाथि विजय प्राप्त गरेपछि मात्र महान अक्टोबर समाजवादी क्रान्ति सुनिश्चित भएको थियो ।

    नरोदवाद रुसको पहिलो वैचारिक धारा थियो, जसमा लेनिनका दाजु अलेक्जेण्डर पनि लागेका थिए । त्यो माक्र्सवादको घोर विरोधी थियो । त्यसले के निस्कर्ष निकालेको थियो भने रुसमा पूँजीवादको विकास भएको छैन, त्यसकारण मजदूर वर्गको नेतृत्वमा समाजवादी क्रान्ति हुँदैन, त्यसको सट्टा किसान वर्गको नेतृत्वमा किसानहरुको सामुदायिक खेतीलाई समाजवादमा बदल्न सकिन्छ । त्यसैगरी त्यसले व्यक्तिहत्या गरेर शासन बदल्न सकिन्छ भन्ने विश्वास गर्दथ्यो र बहुसंख्यक जनताको भूमिकालाई भन्दा एक–दुईजना बीरहरुको भूमिकालाई महत्व दिन्थ्यो । त्यति मात्र होइन, त्यसले रुसका क्रान्तिकारी युवाहरुको मन–मस्तिष्कमा ठूलो प्रभाव जमाएको थियो । त्यसकारण समाजवादी क्रान्तिको लागि मार्गप्रशस्त गर्नको लागि नरोदवादलाई समाप्त पार्नु आवश्यक थियो ।

    नरोदवादको खण्डन गर्ने पहिलो कदम जी. बी. प्लेखानोभले उठाएका थिए । तर त्यसलाई पूर्णरुपले ध्वस्त पार्ने काम लेनिनले गरे । उनले त्यो काम आफ्ना दुई कृतिहरुद्वारा गरेका थिए– ‘जनताका मित्र को हुन् ?’ र ‘रुसमा पूँजीवादको विकास’ । लेनिनले ‘जनताका मित्र को हुन् ?’ मा नरोदवादीहरु जनताका असली मित्र होइनन्, जनताका असली मित्र त माक्र्सवादीहरु हुन् भन्ने कुरा सिद्ध गरेका थिए । त्यसैगरी अर्को कृति ‘रुसमा पूँजीवादको विकास’ मा उनले रुसमा पूँजीवादको विकास भएको छैन र त्यसैकारण मजदूर वर्गको नेतृत्वमा समाजवादी क्रान्ति संभव छैन भन्ने नरोदवादीहरुको तर्कलाई खण्डन गर्दै रुसमा पूँजीवादको विकास भइरहेको छ र मजदूर वर्गको नेतृत्वमा समाजवादी क्रान्ति पनि संभव छ भन्ने कुरा तथ्यगत रुपमा सिद्ध गरेका थिए । लेनिनका यी दुई कृतिहरुको प्रकाशनपछि नरोदवादको नाम–निशान रहेन ।

    समाजवादी क्रान्तिको मार्गमा दोस्रो अवरोध कानूनी  मार्क्सवादी धारा थियो । कानूनी  मार्क्सवादीहरु  मार्क्सवादी नै थिए, तर उनीहरुको ज्ञान सतही थियो । उनीहर जार शासनद्वारा स्वीकृत वैधानिक पत्रिकाहरुमा आफ्ना विचारहरु प्रकाशित गर्दथे । त्यसकारण उनीहरुलाई कानूनी मार्क्सवादी भनिन्थ्यो । उनीहरु माक्र्सवादलाई पूँजीवादको हितमा लगाउन चाहन्थे । त्यसैगरी उनीहरु मजदूर वर्गको आन्दोलनलाई पूँजीवादीहरुको अनुकूल बनाउने र मार्क्सवादको क्रान्तिकारी तत्वलाई निकालेर त्यसलाई उदारवादी सिद्धान्तमा बदल्ने प्रयत्न गर्दथे । लेनिनले कानूनी  मार्क्सवादीहरुको आदर्शवादी तथा उदारवादी पूँजीवादी स्वरुपको पनि भण्डाफोर गरिदिए ।

    कानूनी मार्क्सवादीहरुजस्तै अर्काथरी माक्र्सवादीहरु पनि थिए, जसलाई ‘अर्थवादी’ भनिन्थ्यो । उनीहरु मजदूर वर्गलाई आर्थिक संघर्षमै सीमित गर्न चाहन्थे । उनीहरुको दृष्टिमा राजनीतिक कार्य पूँजीवादी पार्टीहरुको जिम्मेवारी हो । यसरी उनीहरुले मजदूर वर्गलाई राजनीतिक भूमिकाबाट वञ्चित गर्न चाहेका थिए । अर्थवादीहरुको यस्तो दृष्टिकोण मार्क्सवादबाट पलायन थियो । त्यसलाई पनि लेनिनले पूर्णरुपमा ध्वस्त पारिदिए ।

    तेस्रो र अन्तिम अवरोध मेन्शेभिक धारा थियो, जुन सवभन्दा बलियो र खतर्नाक थियो । किनभने त्यो रुसी सामाजिक–जनवादी पार्टीको बीचबाटै उत्पन्न भएको थियो । त्यसको अतिरिक्त मेन्शेभिक धारामा प्लेखानोभ, मार्तोभ तथा ट्रटस्कीजस्ता मार्क्सवादी विद्वानहरु थिए ।

    वास्तवमा मेन्शेभिक धारा अवसरवादी तथा बुर्जुवा वर्गको सहयोगी थियो । त्यसले रुसमा समाजवादी क्रान्तिको कुनै भविष्य देख्दैनथ्यो । त्यो सर्वहारा वर्गलाई एउटा स्वतन्त्र क्रान्तिकारी शक्ति होइन, पूँजीवादी वर्गको सहायक मात्र बनाउन चाहन्थ्यो ।

    मेन्शेभिकको दृष्टिमा जारशासनको उन्मूलनपछि रुसमा धेरै समयसम्म पूँजीवादी सत्ता रहनुपर्दथ्यो, रुसमा समाजवादी क्रान्तिको लागि अवस्था तयार भइसकेको थिएन र मजदूरहरु आफ्नो हातमा सत्ता लिन र राज्य संचालन गर्न समर्थ भइसकेको थिएन । त्यसैगरी मेन्शेभिकलाई बदलिएको पूँजीवादको स्वरुपबारे पनि अत्तोपत्तो थिएन ।

    लेनिनले आफ्नो नयाँ क्रान्तिकारी सिद्धान्तद्वारा मेन्शेभिक धारामाथि विजय प्राप्त गरेर समाजवादी क्रान्तिको मार्गप्रशस्त गरे ।

    नयाँ पार्टीको निर्माण

    पश्चिमी युरोपमा मार्क्सवादी पार्टीहरु त्यसवेला शान्तिपूर्ण संघर्षको लागि उपयुक्त हुनेगरी बनाइएका थिए । तर लेनिन एउटा क्रान्तिकारी पार्टी बनाउन चाहन्थे । त्यसको लागि नयाँ प्रकारको पार्टी हुनुपर्दथ्यो ।

    लेनिनको दृष्टिकोणमा नयाँ क्रान्तिकारी पार्टी वैचारिक रुपमा स्पष्ट, देशव्यापी, क्रियाशील, संगठित र अन्तर्सम्बन्धित सञ्जालको आधारमा निर्माण हुनुपर्दथ्यो । त्यसप्रकारको सञ्जाल बनाउने विधिको रुपमा उनले एउटा पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो– ‘इस्क्रा’ (झिल्को) । ‘इस्क्रा’ का दुईवटा भूमिकाहरु थिए– मुखपत्र र संगठक ।
    लेनिनले परिकल्पना गरेको पार्टी क्रान्तिकारी कार्य सम्पन्न गर्ने पार्टी थियो, जुन पछि बोल्शेभिक पार्टीको रुपमा स्थापित भयो । त्यही पार्टीको नेतृत्वमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो । वास्तवमा एउटा सही मार्क्सवादी सर्वहारा पार्टीको निर्माण गर्ने श्रेय लेनिनलाई जान्छ ।

    लेनिनद्वारा स्थापित बोल्शेभिक पार्टी सर्वहारा वर्गको अग्रदस्ता थियो, जसले क्रान्तिमा सर्वहारालाई सही नेतृत्व प्रदान गर्नसक्दथ्यो ।

    नयाँ सिद्धान्तको सूत्रपात

    लेनिनको लागि मार्क्सवादको मूल करा ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ थियो । त्यसकारण उनी कुनै सूत्रको मात्र पछि लाग्दैनथे । उनले तत्कालीन आन्तरिक र बाह्य परिवेशको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेर समाजवादी क्रान्तिको लागि एउटा नयाँ निष्कर्ष निकाले । त्यो थियो एउटा देश वा केही देशहरुमा मात्र क्रान्ति हुन्छ भन्ने निष्कर्ष, जुन परम्परागत माक्र्सवादीहरुले निकाल्न सक्दैनथे । किनभने मार्क्सवादले विश्वभरि एकैपटक क्रान्ति हुन्छ भन्ने निष्कर्ष निकालेको थियो ।

    तर त्यसको कारण मार्क्सवाद गलत हुनु थिएन, बरु पूँजीवादको स्वरुपमा परवर्तन हुनु थियो । मार्क्सवादले विश्वभरि (कम्तीमा पनि बेलायत, फ्रान्स र जर्मनीमा) एकैपटक क्रान्ति हुन्छ भन्ने निष्कर्ष पूँजीवादको प्रतिस्पर्धी चरणमा निकालेको थियो । तर सन् १९०० देखि पूँजीवाद एकाधिकारी चरणमा प्रवेश गरेको थियो । त्यसकारण अब विश्वभरि एकैपटक क्रान्ति हुनसक्दैनथ्यो । साम्राज्यवादको कडी कमजोर भएको स्थानमा मात्र क्रान्ति हुनसक्दथ्यो । यसरी साम्राज्यवादी युगमा क्रान्तिको नयाँ सिद्धान्त प्रवत्र्तन गरेर लेनिनले माक्र्सवादको थप विकास गरेका थिए । त्यसलाई पछि लेनिनवाद भनियो । लेनिनवादले नै वास्तवमा अक्टोबर समाजवादी क्रान्ति संभव बनाएको थियो ।

    क्रान्तिको आरम्भ

    रुसमा १९१७मा दुईवटा क्रान्तिहरु भएका थिए । एउटा क्रान्ति फेब्रुअरी २७ मा भएको थियो र अर्को अक्टोबर २४ मा भएको थियो । फेब्रुअरीमा भएको क्रान्ति पूँजीवादी क्रान्ति थियो, जसले जारशासनलाई अन्त्य गरेको थियो र सत्ता पूँजीवादीहरुको हातमा हस्तान्तरण गरेको थियो । तर लेनिनको निष्कर्ष अर्कै थियो । उनले त्यो क्रान्तिमा सत्ता मजदूर–किसान वर्गको हातमा आउँछ भन्ने सोचेका थिए । परिणाम त्यस्तो नआएपछि उनले क्रान्तिलाई अपूर्ण ठाने । त्यसकारण उनले अब समाजवादी क्रान्तिमा जानुपर्छ भन्ने धरणा अगाडि ल्याए र त्यसको तयारीमा लागे ।

    सन् १९१७ को अप्रिलमा लेनिन विदेशबाट रुस फर्किए र प्रसिद्ध अप्रिल थेसिस लेखे । त्यसमा उनले समाजवादी क्रान्तिको मार्गचित्र प्रस्तुत गरे ।

    फेब्रुअरी क्रान्तिपछि रुसमा द्वैतसत्ताको अवस्था सृजना भएको थियो । अस्थायी संयुक्त सरकारसँग वैधानिक सत्ता थियो र सोभियतहरुसँग अवैधानिक सत्ता थियो । लेनिनको दृष्टिमा सोभियतहरु भावी समाजवादी सत्ताका भ्रूणहरु थिए र तिनीहरुसँग रहेको अवैधानिक सत्ता नै वास्तविक जनसत्ता थियो । त्यसकारण उनी सोभियतहरुमा आफ्नो पार्टीलाई सुदृढ बनाउनतिर लागे । जब सोभियतहरुमा बोल्शेभिक पार्टीको बहुमत भयो, त्यसपछि उनले ‘सम्पुर्ण सत्ता सोभियतलाई सुम्प !’ भन्ने नारा अगाडि सारे ।

    सोभियतहरु फेब्रुअरी क्रान्तिको बेला स्वतःस्पूmर्त रुपले उत्पन्न जनसत्ताहरु थिए । त्यस्ता सोभियतहरु तीन प्रकारका थिए– मजदूर सोभियत, किसान सोभियत र सैनिक सोभियत । तर आरम्भमा सोभियतहरुमा मेन्शेभिक र अन्य पार्टीहरुको बहुमत थियो, जसले तिनीहरुको महत्वलाई बुभ्mदैनथे । त्यसकारण लेनिनले सोभियतहरुलाई बोल्शेभिक पार्टीको पक्षमा ल्याउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरे ।

    त्यसैगरी लेनिनको कुशल निर्देशनमा बोल्शेभिक पार्टीले अस्थायी संयुक्त सरकारको अर्थहीनताबारे जनतालाई सुसूचित पार्ने र मजदूरहरु तथा किसानहरुलाई समाजवादी क्रान्तिको लागि तयार पार्ने कार्य तीव्र गतिमा अगाडि बढायो ।

    र लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले शान्तिपूर्ण ढंगबाट समाजवादी क्रान्तिको तयारी गर्दागर्दै जुलाइ ३ मा अस्थायी संयुक्त सरकारले दमनको नीति लियो र जुलाइ ५ माबोल्शेभिक पार्टीको राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगायो । त्यसपछि लेनिन र अन्य बोल्शेभिक नेताहरु भूमिगत हुनुपर्यो । अब सशस्त्र विद्रोहबाट मात्र सर्वहारा वर्गले सत्ता आफ्नो हातमा लिनसक्ने अवस्था सृजना भयो । त्यसकारण लेनिनले सशस्त्र विद्रोहको कार्यक्रम बनाए र बोल्शेभिक पार्टी पूर्णरुपले सशस्त्र विद्रोहको तयारीमा लाग्यो ।

    लेनिनले सेप्टेम्बरदेखि अक्टोबरसम्म सशस्त्र विद्रोह गर्ने योजना बनाएका थिए । त्यसअनुसार बोल्शेभिक पार्टीले सशस्त्र विद्रोहको तयारीलाई तीव्र बनायो ।
    अक्टोबर १० मा बोल्शेभिक पर्टीको केन्द्रीय समितिको ऐतिहासिक बैठक बस्यो र केही दिनमा सशस्त्र विद्रोह शुरु गर्ने निर्णय गरियो । त्यसैगरी अक्टोबर १६ मा सशस्त्र विद्रोहको संचालन गर्नको लागि पार्टी केन्द्र निर्माण गरियो, जसको प्रमुख जोसेफ स्टालिन थिए ।

    स्थायी संयुक्त सरकारले विद्रोहलाई दबाउने अवसर नपाओस् भन्ने उद्देश्यले तोकिएको मितिभन्दा पहिले विद्रोह शुरु गर्ने निर्णय गरिएको थियो ।अन्ततः अक्टोबर २४ को दिन क्रान्तिकारी सेनाले शिशिर दरवारमाथि आक्रमण गर्यो र त्यसलाई नियन्त्रणमा लियो, जहाँ अस्थायी संयुक्त सरकारका प्रतिनिधिहरु बसेका थिए । त्यसको भोलिपल्ट अक्टोबर २५ मा बोल्शेभिक पार्टीले एउटा घोषणापत्र जारी गर्यो, जसमा अस्थायी संयुक्त सरकार अपदस्त भएको र सोभियतले राज्यसत्ता आफ्ने हातमा लिएको घोषणा गरिएको थियो । यसरी महान अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियो ।

    अक्टोबर क्रान्तिको परिणाम

    रुसमा भएको अक्टोबर समाजवादी क्रान्तिलाई एउटा महान ऐतिहासिक घटनाको रुपमा मूल्यांकन गरिएको छ । त्यो क्रान्तिबाट मुख्य रुपमा तीनवटा परिणामहरु आएका थिए ।
    पहिलो परिणाम थियो, समाजवादी व्यवस्थाको स्थापना । अक्टोबर क्रान्ति भएपछि विश्वको ६ भागको १ भागमा समाजवादी व्यवस्था स्थापित भएको थियो र ‘सोभियत संघ’ नामको एउटा विशाल देश बनेको थियो ।

    अक्टोबर क्रान्ति लेनिनवादको विजय थियो । त्यो लेनिनवादद्वारा निर्देशित बोल्शेभिकहरुको लामो, दृढ तथा कठिन परिश्रम र बीरतापूर्ण संघर्षको परिणाम थियो । र, यदि क्रान्तिकारी मार्क्सवादी पार्टीले नेतृत्व गर्यो भने मजदूरहरु र किसानहरु एउटा महान क्रान्तिकारी शक्ति बन्नसक्छन् र उनीहरुले एउटा नयाँ समाजको निर्माण गर्नसक्छन् भन्ने कुराको प्रत्यक्ष प्रमाण थियो ।

    अक्टोबर क्रान्तिले रुसमा पूँजीवादी व्यवस्थाको अन्त्य गरेको थियो, मानव इतिहासमा पहिलो पटक सर्वहारा अधिनायकव लागु गरेको थियो र मजदूरहरु तथा किसानहरुको राज्यसत्ता स्थापित गरेको थियो । त्यो क्रान्ति विशुद्ध राजनीतिक परिवर्तन मात्र थिएन, त्यो त जनताको जीवनमा सर्वाङ्गीण परिवर्तनको सूचक थियो । त्यो क्रान्तिले देशको क्रान्तिकारी पुनर्निर्माण गरेर नयाँ समाजवादी समाजको सृजना आरम्भ गरेको थियो ।

    दोस्रो परिणाम थियो, विश्वभरि सर्वहारा क्रान्तिको विस्तार । अक्टोबर क्रान्ति भएपछि विश्वभरि त्यसको प्रभाव पर्नथाल्यो, विश्वभरि सर्वहारा क्रान्तिको लहर चल्नथाल्यो । सर्वप्रथम पूर्वी युरोपका देशहरुमा समाजवादी सत्ता स्थापना भए । त्यसपछि चीन, कोरिया, क्युबा, भियतनाम, कम्बोडिया, आदि देशहरुमा सर्वहारावर्गीय क्रान्तिहरु भए । त्यसैगरी त्यो क्रान्तिको प्रेरणाबाट सर्वहारा आन्दोलनहरु पनि विश्वव्यापी रुपमा चल्नथाले । परिणामस्वरुप विश्व दुई धारामा विभाजित भयो– पूँजीवादी धारा र समाजवादी धारा ।

    तेस्रो परिणाम थियो, पूँजीवादी व्यवस्थामा सुधार । अक्टोबर क्रान्तिपछि विश्वमा आएको समाजवादको लहरले पूँजीवाद संकटमा पर्यो । अब त्यसले थोरै मात्र भए पनि लोककल्याणकारी काम नगरी आफूलाई बचाउन नसक्ने भयो । त्यसकारण त्यसले आफ्नो शोषणकारी, अमानवीय तथा व्यक्तिवादी चरित्रलाई परिमार्जन गरेर समाजको हितमा ढाल्ने प्रयत्न गर्यो । त्यसैगरी त्यसले विशुद्ध पूँजीवादको सट्टा ‘प्रजातान्त्रिक समाजवाद’ नाम दिएर भ्रम छर्नथाल्यो ।

    पूँजीवादले समाजवादका धेरै तत्वहरु लिएर आपूmलाई परिमार्जन गरेको छ । तर पूँजीवादको चरित्रअनुसार यो सुधार अस्थायी मात्र हो ।

    अक्टोबर क्रान्तिको मूल्यांकन

    वर्तमान युगको लगि महान अक्टोबर समाजवादी क्रान्तिको ठूलो महत्व छ । किनभने त्यसले वर्तमान युगलाई परिभाषित गरेको थियो । त्यसबाट मानव समाजमा जुन परिवर्तनहरु भए, तिनीहरु वर्तमान युगका विशेषता र गरिमा हुन् । अक्टोबर क्रान्तिले नै सर्वप्रथम पूँजीवादभन्दा भिन्न र पूँजीवादी व्यवस्थाको विकल्पमा नयाँ सामाजिक व्यवस्थालाई अस्तित्वमा ल्याएको थियो ।

    तर अक्टोबर क्रान्तिमा केही गल्ती पनि भएको थियो । त्यो गल्ती थियो, राज्यलाई प्रमुख बनाउनु । त्यसले सम्पूर्ण सम्पत्तिको स्वामित्व र सम्पूर्ण शासकीय अधिकार राज्यलाई सुम्पेको थियो । परिणामस्वरुप राज्यनियन्त्रित समाजवादको विकास भयो, जुन समाजवादको नकारात्मक पक्ष बन्यो ।

    काम गर्दा गल्ती हुनसक्छ, यो स्वाभाविक कुरा हो । जस्तो कि स्वयं लेनिन भन्छन्–‘काम गर्ने मानिसले गल्ती गर्छ । गल्ती त त्यसले मात्र गर्दैन, जसले केही काम गर्दैन । तर फेरि त्यो मानिस मात्र अगाडि बढ्न सक्छ, जसले पुरानो गल्तीलाई दोहोर्याउँदैन ।’

    हो, त्यसकारण यदि हामी पनि अगाडि बढ्न चाहन्छौं भने, हामीले पुरानो गल्तीलाई दोहोर्याउनु हुँदैन । महान अक्टोबर समाजवादी क्रान्तिबाट हामीले लिने एउटा शिक्षा यही हो ।
    त्यसैगरी लेनिनको अर्को कथन पनि मननयोग्य छ । उनले भनेका थिए– ‘मार्क्सवादले त्यो विज्ञानको जगमात्र हालेको छ, जसलाई, यदि समाजवादीहरु जीवनमा पछि पर्न चाहँदैनन् भने, चौतर्फी विकास गर्नुपर्छ ।’

    अक्टोबर क्रान्तिले पनि समाजवादको जगमात्र हालेको छ । यदि हामी जीवनमा पछि पर्न चाहँदैनौं भने, यसलाई चौतर्फी विकास गर्नुपर्छ । यदि अक्टोबर क्रान्तिबाट स्थापित समाजवादलाई पूर्ण मानियो भने, सोभियत संघ ढलेपछि समाजवाद नै ढल्यो भन्ने निष्कर्ष निस्किन्छ, जुन पूँजीवादीहरु र संशोधनवादीहरुले निकालेका छन् । त्यसकारण हामीले यस्तो सोच्ने गल्ती गर्नुहुँदैन । यो पनि अक्टोबर क्रान्तिबाट हामीले लिने शिक्षा हो ।

    अक्टोबर क्रान्तिको अर्को महत्वपूर्ण शिक्षा के हो भने एउटै देशमा पनि क्रान्ति हुनसक्छ । त्यसकारण क्रान्तिकारीहरुले परिस्थिति तयार हुनासाथ क्रान्ति गर्ने प्रयत्न गर्नुपर्छ ।
    त्यसैगरी अक्टोबर क्रान्तिबाट हामीले लिने अन्तिम महत्वपूर्ण शिक्षा यो हो– पूँजीवादी वर्गको पक्षपोषक बनेर मेन्शेभिकहरु आउँछदछन् र तिनीहरुलाई परास्त गर्दै क्रान्तिको मार्गमा अगाडि बढ्नुपर्छ ।

    अन्त्यमा, महान अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको उपलक्ष्यमा हामी यिनै शिक्षाहरुलाई मनन गर्दै अगाडि बढ्ने प्रतिज्ञा गरौं !

    स्रोत:आधारशीलाको प्रकाशन 'प्रस्थान'

    प्रतिक्रिया
    सम्बन्धित समाचार