Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

नेपालीको हृदयमा थियो पारिजातको देश

नेपालीको हृदयमा थियो पारिजातको देश

  • आइतवार, बैशाख ७ २०७७

  • छवी सुवेदी


  • प्रिय दिदी पारिजात
    न्यानो अभिवादन ।

    नेपालको सिमानादेखि करीब तीस किलोमीटर पारी पश्चिम दार्जिलिङमा लिङ्गीया चिया बगान छ । त्यही जन्मिएकी विश्णु कुमारी वाइवा तपाईं छेकुडोल्माबाट पारिजात बन्नुभयो । कलिलो प्रेमलाई चिया बगानमै छाडेर काठमाडाैं आउनुभयो । दाई शिवलाई पौडी खेल्ने क्रममा खोलाले खाइदिएपछि विरक्तिएका डाक्टर बा दुई छोरीका साथ काठमाडौं हानिएका थिए । बाको इच्छा तपाइलाई डाक्टर बनाउने थियो, तर तपाईभित्र अजम्बरी पात्रहरु अंकुराइरहेका थिए । तीनै पात्रहरुले तपाइलाई खोल्सी र जङ्गलका एकान्तहरुमा खुब घुमाउँथे । गीत र फुलहरुमा तानेर लैजान्थे । जीवनको नीलो गहिराइमा पुगेर जिउँदो हुनुको अर्थ खोज्न प्रेरित गर्थे । अर्थराइटिसको व्यथाले तपाईंलाई किशोरवयमै लपेट्यो र यसले बाँचुन्जेल सताइरह्यो । यो रोगले तपाइलाई शारीरिक पीडाबिनाको जिन्दगी कस्तो हुन्छ होला भनेर कल्पना गर्ने छेउसम्म पुर्यायो । तपाईंको साहास र स्वाभीमानले जिन्दगीका दुख पीडालाई जहिले पनि काबुमा राखे ।

    कविताबाट शुरु भएको तपाईको लेखनयात्रा प्रेमील बातहरुबाट घोर अधेरी राततर्फ मोडियो । पीडा र निराशाको त्यही मोडमा झरेको थियो “ शिरिसको फूल“। सकम्बरीमार्फत जीवन र प्रेमप्रती खुब तितो पोख्नुभयो । त्यो समय तपाईंको पुरै शरीर कुजो भैसकेको थियो । बहिनी सुकन्याको सहारामा कुजो शरिरभित्र ज्वालामुखीको जीवन बाच्नु आफैमा एक अदभूत सौन्दर्य थियो । शुरुआती अराजकता र शुन्यताको बीचमा आइपुग्यो राल्फाली समूह । त्यो समयमा मलय राम चौधरीलगायतका केही बङ्गाली लेखकहरुले “ हङ्री जेनेरेसन “ का नाममा परम्परागत लेखनका विरुद्ध अभियान चलाएका थिए । हरेक भोगी र ढोङ्गी नियतमाथि राल्फा फुक्काफाल बज्रीयो । यही समयमा त होनि तपाईले भित्तामा चे ग्वेभाराको फोटो टास्न थाल्नुभएको । लिङ्गीया चिया बगानको हावाघरमा भेटिएको प्रेमी अब चे जस्तै विद्रोही बनिसकेको थियो र रुमानी सम्झनाहरुमा त्यसले पीडा होइन, सिमसिम आनन्द अनुभुत गराउन थालेको थियो । तपाईंको ओछ्यानमा जर्मन दार्शनकि हवर्ट मार्कुसको “एक आयामेली मान्छे“ र रेजिस देब्रेको “क्रान्तिभित्रको क्रान्ति“ आइपुगे, जसले दिमागको अँध्यारो कुनाबाट विचारको दियो सल्काउन मद्दत गरे । निर्मल लामासङ्गको भेटले पनि तपाइलाई निराशाको जीवनदर्शनबाट निस्कन मद्दत गरेको थियो। लेखनीले अब सपनाको मृत्यु होइन, रहरलाग्दो जीवनको सपना देख्न थाल्यो ।

    काठमाडा‌ैंको अभावले नजिकबाट तपाइलाई अर्थराइटिसको पीडाले झै जिस्कायो । पुरुषप्रधान समाजको गन्धले निसासिने गरि लखेट्यो । तपाईले बाँचेको समय क्रुर पनि त थियो । पञ्चायत पखेटा फिजाएर काठमाडौंमा बसेको थियो । स्वतन्त्रता नामको चरो आकाशमा चिरबिर गर्दै उडेको त्यो देखिसहदैन थियो । शारीरिक र सामाजिक प्रतिकुलताभित्रबाट तपाईको कलमले तोरीवारि र बाटाहरुमा सपनाहरु छर्यो । उसले रोजेको बाटो कोर्यो । पर्खालभित्रको बासी यन्त्रणाका बिचमा रमेशलाई पर्खालबाहिरको स्वच्छन्द जीवनको सपना साच्ने आशावादी बनायो । प्रिय दिदी, त्यो पर्खाल आज पनि सिमाना कोरेर बसेकै छ । अक्षरसङ्ग आज पनि डराउछ पर्खाल । पहाडले ढुक्क भएर सुत्न अझै पाएको छैन । राकेजुलुस बनेर रात ओछ्यानमा आउँछ । अनिदो पहाडसङ्गैमा तपाईले उतारेको बिम्ब आज पनि उस्तै छ, धमिलो भएको छैन दिदी । शिरिसको फुलजस्तो कमजोर र नरम ओइलिझर्ने जीवन अनिदो पहाडसम्म आउँदा आगोको फिलुङ्गो झै रापिलो र झर्झराउँदो भएको थियो । दिदिको कलमले आँशुका गीतहरुमा जीवन र स्वतन्त्रताको प्राण भरिदियो ।

    प्रिय दिदी बैशाख लागेको छ । वनभरी प्याउली फुलेको छ । न्याउली चरो लालीगुरासको टुप्पोमा बसेर गीत गाइरहेको छ । तपाईं डेरा सर्दै बसेको काठमाडौं यतिबेला घरभित्रै थुनिएको छ । हवाइजहाज चढेर आएको सुक्ष्म भाइरसले शहरलाई आतंकीत पारेको छ । न त त्यो भाइरसका नाममा पक्राउ पुर्जी जारी गर्न सकिन्छ न त पर्खालभित्र लगेर त्यसलाई हुल्न सकिन्छ । मान्छेको शहर चकमन्न र त्रसित भए पनि धुपी, सल्ला र लालीगुरासका शहरहरु भने आफ्नै नियमित लयमा छन् । त्यहाँ वसन्त छाएको छ । तपाईलाई औधी मन पर्ने थरिथरिका फुलहरु स्वच्छन्द हावामा हल्लिरहेका छन् । वल्लो रुख र पल्लो पोथ्रा गर्दै थरिथरिका चराचुरुङ्गीहरु हल्ला मच्चाइरहेका छन् । तपाईं यो सबै हेर्न र लेख्नका लागि आज जिवित हुनुहुन्न । शहरबाट अध्यारोको मौका पारेर आफ्ना पोकाहरु बोकेर मजदुरहरुको जुलुस सुदुरको गाउतर्फ हिडिरहेको छ । जहाँ छौ त्यही बस भन्ने आदेश पालना गर्न नसकी पैदल हिडिरहेका मजदुरहरुको जुलुस देखेर मन अमिल्याउनका लागि तपाईं जिवित हुनुहुन्न । गाउँमा कोरोनाको हल्ला त चलेको छ । तर त्यो आउनुभन्दा अगावै यहाँ पाखोभरी पालुवा पलाएको छ । भुँइकाफल पाकेर बारीका कान्ल्हाहरु रातै भएका छन् । गहुँका बाला लहलह झुलेका छन् । किसानहरुलाई कोरोनाभन्दा पनि असिनाको डर छ । भीर खनेर कोरेको धर्सोमा लडखडाउँदै गाडी गुड्दा गाउँ आज रमिता मान्दै हेर्नका लागि आगनको डिलमा उभिदैन । के जाती कोरोना पो ल्यायो कि भनेर चिन्तीत हुन्छ ।

    नारीमाथिको उत्पीडनका विरुद्ध मात्र होइन समग्र उत्पीडित मानवसमुदायका पक्षमा तपाईं दह्रोगरी उभिनुभयो । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय सहभागी हुनुभयो । साहित्यलेखनमा मात्र आफूलाई सिमित राख्नुभएन । आस्थाका बन्दीहरुका निमित्त सङ्गठन बनाउनुभयो । महिला सङ्गठनको नेतृत्व गर्नुभयो । पञ्चायतको चारोले लोभ्याएन तपाइलाई । कति स्वाभिमानी हुनुहुन्थ्यो दिदी तपाईं ! उपचार खर्चको अभावले रन्थनिदा पनि हात पसार्नु भएन ।

    पछिल्ला दिनहरुमा तपाईंको डेरा बालाजु म्हेपीमा थियो । बहिनी सुकन्या तपाइको जीवनभर भरपर्दो साथीका रुपमा रहनुभयो । चुरोट भने दिदीले छोड्न सक्नुभएन । दुखाइ असह्य हुदा रक्सीको साहारा पनि लिनुभयो । भनिन्छ ,तपाईंका सपनाहरूले तपाइलाई नायकपूजक बनाइदिए । तपाइले पालैपालो मोहनविक्रम सिंह र निर्मल लामामा आफूले खोजेको हिरो भेट्नुभयो । पारिजात नाम त्यतिकै रोज्नुभएको थिएन । तपाईंले कसैको सामु आफुलाई कमजोर साबित गर्नुभएन । हिडडुल गर्न नसक्ने शरीरलाई समेत चकित पार्दै गाउबस्तीहरु डुल्नुभयो । ओझेलमा बाचिरहेको जीवनलाई नजिकैबाट नियाल्नुभयो । घिसेपिटे जिन्दगीलाई लल्कार्नुभयो ।

    दिदी तपाइले दार्जिलिङमा जन्मिएर यो देशका निमित्त धेरै योगदान दिनुभयो । विभिन्न विधाका २३ वटा जति तपाईका पुस्तकहरू प्रकाशित छन् । देशले भने तपाइलाई नागरिकताको एउटा चिर्कटो पनि दिएन । जीवनको अन्तिम घडीमा मात्र नागरिकताविना नै तपाईंको राहदानी बन्यो । त्यति धेरै कलम चलाउने तपाईले आफ्नो राहदानीमा हस्ताक्षर गर्न सक्नुभएन, बहिनी सुकन्याले समातेर तपाइको औठा छाप लगाइदिनुपर्यो ।

    चैत्रको अन्तिम साता वीर अस्पताल पुर्याइएकी तपाईंका अन्तिम दिनहरु अत्यन्तै कठिन थिए । भेट्न आउनेजतिसङ्ग तपाईको शब्द साटासाट पनि भएन । बि. स. २०५० बैशाखको पाँच गते बिहान तपाईले अन्तिम सास फेर्नुभयो । त्यो लिङ्गीया चिया बगानले आफ्नी छोरीको पार्थिव शरीर देख्न पाएन । अहिले भर्खरै त्यो बैशाख पाँच अतीत सम्झाएर गएको छ । उता चिया बगान पनि बन्द छ । चियाका पात टिप्ने मजदुरहरुलाई कोरोना भाइरसको भन्दा बढी भोकको पीर छ । यता पनि त त्यही पीर छ । भोक यस्तो चिज रहेछ दिदी जसले मानिसलाई साह्रा कानुन, परम्परा र शक्तिको उल्लंघन गर्न सक्ने ओखती दिन्छ । भोक बढ्नु अघाएकाहरुको निमित्त खतरनाक कुरा रहेछ दिदी ।

    आकाशमा अलिअलि बादल छ । पिपलको बूढो रुखका पातहरु बजाउदै हावा दगुरिरहेको छ । चराहरु आफ्नै सुरमा सङ्गीत भरिरहेका छन् । टाढा कतै सडकमा पुलिसहरु सिटी फुक्दै मानिसहरुलाइ घरबाट बाहिर ननिस्कन भनिरहेका छन् । टेलिफोनमा मानिसहरु आफ्नो घर फर्किनको लागि पास नामको कागजको सानो टुक्राको माग गरिरहेका छन् । कहिलेकाही कति टिठलाग्दो मागमा पनि मरिहत्ते गर्नुपर्ने रहेछ । म तपाइले लेखेका पानाहरुमा कुदिएका पात्रहरु यतैकतै खोजिरहेको छु । परिवेश धेरै फेरिएको छैन । सपनाहरुले जिन्दगीलाई उज्यालोतर्फ डोर्याइरहेका छन् । खबरदारी गरिरहेका छन् । प्रिय दिदी तपाईंले बाचेको त्यो गजबको जिन्दगीबाट युगौयुग भुइमान्छेहरुलाइ बाच्न र हास्नका लागि उर्जा मिलिरहनेछ ।

    उहीँ तपाइलाई सम्झिरहने भाइ
    छवि ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार