Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

मिश्रको 'लोकतन्त्र र आजको मार्क्सवाद'माथि टिप्पणी

मिश्रको 'लोकतन्त्र र आजको मार्क्सवाद'माथि टिप्पणी

  • शुक्रवार, बैशाख ५ २०७७

  • छवी सुवेदी


  • xabi subedi 12.PNG

    (मार्क्सवाद, समाजवाद र समसामयिक विषयमा कलम चलाउँदै आउनुभएका सुवेदी नयाँ समाजका स्तम्भकार हुनुहुन्छ ।)

    कार्ल मार्क्सले लेखे, “दार्शनिकहरुले दुनियाँको व्याख्या गरे, तर मुख्य कुरा यसलाई बदल्नु हो ।" यो कथनको अर्थ दुनियाँ बदल्न सचेत र संगठित ताकत चाहिन्छ। मार्क्सको यो भनाइको प्रयोग रुसमा भयो। “लोकतन्त्र र आजको मार्क्सवाद “मा चैतन्य मिश्र लेख्छन् -“जबकि सामाजिक लोकतन्त्रवादी थिए लेनिन सन् १९१३ सम्म पनि। सन् १९१७ मा उनी हठात कम्युनिस्ट भए। ... मार्क्सका अनुसार पुँजीवाद उच्च विन्दुमा पुगेपछि ओरालो लाग्छ भनेका थिए । लेनिनले त्यतिबेलै उच्च बिन्दुमा पुगिसक्यो भन्दिए, जब कि पुगेकै थिएन । लेनिनले मार्क्सलाइ बुझ्न चाहेनन् ।“ मिश्रका अनुसार व्यवस्था परिवर्तनको आफ्नो नियम हुन्छ । हठात बल प्रयोग गरेर ल्याइने परिवर्तन टिकाउ हुदैन। उनले लेनिन र माओ दुबैलाई ऐतिहासिक द्वन्दवादको सार कुल्चेको, राज्यवाद र दलवाद लादेको आरोप लगाएका छन् ।

    नोवेम्बर ७ ,१८४८ मा नयाँ राइन पत्रिकामा प्रकाशित “भियनामा प्रतिक्रान्तीको विजय “शिर्षकको लेखमा कार्ल मार्क्स लेख्छन्- “पुरानो समाजको अन्त्य र नयाँको उदयका क्रममा बग्ने रगतको खोलो र हत्यालाई कम गर्ने एक मात्र उपाय भनेको क्रान्तिकारी आतंक हो। “मार्क्सले पुँजीवादले आफ्नो साथमा आफ्नै कालको भ्रुण ल्याएको उल्लेख गरेका छन् । तर त्यो काल समय परिपक्व भएपछि आफै चुपचाप आउँछ, कसैले केही गर्नु पर्दैन भनेका छैनन् । मार्क्सको समयमा विश्वले औद्योगिक पुजीवादको उपनिवेश खेपिरहेको थियो। नाफा त्यति साह्रो मैमत्त बनिसकेको थिएन। उत्पादनका साधनहरु विकसित हुने क्रममा थिए। मार्क्सको निधन भएको पाँच दशकपछि मात्र रुसमा कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न भयो। उक्त क्रान्तिपश्चात् पुँजीवादी कार्यक्रम लागु गर्नुपर्नेमा छलाङका साथ समाजवादी कार्यक्रम लागु गरेकोमा मिश्र पछुतो मान्छन् । सोभियत संघको पतनमा उनी त्यही जबर्जस्तीलाई दोषी ठहर्‍याउछन् । मिश्रका अनुसार चीनमा माओ शुरुमा राष्ट्रिय र्यक्रमका पक्षपाति थिए र सन् १९५६ पश्चात् मात्र कम्युनिस्ट बनेका थिए।

    विभिन्न विषयमा विश्लेषण गरिएको पुस्तक “लोकतन्त्र र आजको मार्क्सवाद" को केन्द्रभागमा लोकतन्त्र उभिएको छ । यसले मार्क्सवादलाई तत्कालको लागि आफ्नो छाताको रुपमा प्रयोग गरेको छ। पुस्तकले सात सालको परिवर्तनलाई मध्यम वर्ग र निम्न वर्गले आत्मसात नगरेको हुदा नै राजाले खोसेको बताएको छ। राजाले चीनको कम्युनिस्टको प्रभाव नेपालमा नपरोस् भनेर भुमिसुधार लगायतका कार्यक्रम लागू गरेको अनुमान गरेको छ पुस्तकले। राजापछिका दलहरु पनि लोकतान्त्रिक बन्न नसकेको , चरम केन्द्रिकरण र नोकरशाहीको शिकार भएको गुनासो पुस्तकमा उल्लेख छ। माओवादी आन्दोलनको श्रेष्ठताबाट मिश्र मोहित हुन्छन् । तर यसको हिंसात्मक पक्षसंग तिब्र असहमति राख्दछन। वर्तमान संविधानमा उल्लेख भएको “समाजवाद उन्मुख “ शब्दावलीबारे आफू प्रष्ट नभएको मिश्र बताउछन् ।

    उनले अबको नेपाली बाटोको रुपमा सामाजिक लोकतन्त्रलाइ अघि सारेका छन् । मिश्रका अनुसार नेपालमा अंग्रेजहरुको हस्तक्षेपको साथमा पुँजीवाद आयो। खुला सिमाना र उदारिकरणले पुजीको विकास हुन दिइरहेका छैनन् । पुजीवादको बाटो जति अवरुद्ध हुन्छ,लोकतन्त्र पनि त्यतिकै अस्थीर हुन्छ । मुनाफाको लागि लगानी नगर्ने एउटा ठूलो श्रमिक वर्ग नेपालमा उदय भैरहेको छ। हाम्रो पुँजीवाद प्रारम्भिक चरणमा छ वा एकदमै बिग्रेको अवस्थामा छ। लगानीको दायरा फराकिलो बनाएर एवं वितरण प्रणाली व्यवस्थित गरेर मात्र लोकतन्त्रलाइ स्थिर र मजबुत बनाउन सकिने धारणा मिश्रको छ।

    लोकतान्त्रिक समाजवाद मार्क्सवादी समाजवादभन्दा भिन्न छ। लोकतान्त्रिक समाजवादले निजि स्वामित्वलाई प्रश्रय दिन्छ । नाफामा छुट हुन्छ। वितरणमा जोड दिन्छ। राज्यले कर लिन्छ। मार्क्सवादी समाजवादमा यी कुनै पनि हुँदैनन् । लोकतान्त्रिक समाजवादले नाफा र श्रमिकलाई एकसाथ बढाउँछ। पुँजीवादको मृत्यु नहुदासम्म यो व्यवस्थालाई कम्युनिस्ट पार्टीले पनि अपनाउनुपर्छ। मिश्रले नेपालमा मात्र होइन विश्वमा पुँजीवाद अझ कम्तीमा तीन चार पुस्ता चल्ने देख्छन् । यो केही मन्दी या अन्य समस्या आउदैमा समाप्त हुँदैन। केही दबाइ खान्छ र पुन स्वस्थ भएर अघि बढ्छ । अर्कोतर्फ पुँजीवादले नेतृत्व हस्तान्तरण गरिरहन्छ। युरोप र अमेरिकाबाट पुँजीवादको नेतृत्व एसियातर्फ आउँदैछ।

    यसरी लोकतन्त्रको आडमा मिश्र पुँजीवादमा हाललाई विकार देख्दैनन्। उनी मार्क्सका भनाइहरु अघि सार्छन र पुँजीवादलाई प्रगतिशील देखाउछन। लेनिन र माओको पुच्छर झुण्डाउने झन्झट नबिसाउन पार्टीहरुलाइ सुझाउँछन। केही कम्युनिस्ट पार्टी आफैले तयार पारेको साम्राज्यवादी भुतलाई लखेटेको देखेर उदेक मान्छन् । उनका कतिपय तर्कहरुले असहमति जन्माएका छन् । ती तर्कहरुले उनलाइ मार्क्सवादको आधारभुत प्रस्थानविन्दुबाट उचालेर वित्तीय पुजीवादको रहमा चोबलिदिन खोजेका छन् । लेनिनबीनाको मार्क्स एक काल्पनिक व्यवस्थाको आख्यानकार मात्र ठहर्‍याएइन्थे। लेनिनले त्यो संगठन निर्माण गरे जसले मार्क्सको दर्शनलाई व्यवहारमा उतार्यो। रुसमा मजदुरहरुले जारशाही पल्टाएर आफ्नो शासन शुरु गरेपछी संसारका पुँजीवादी सत्ताहरु एक भएर मजदुरहरुको सत्ता उखेल्न धुरिएका थिए । तल्लो वर्गको सत्ताअभ्यासलाई डरलाग्दो तानाशाहीको नाम दिएका थिए। यसबाट प्रष्ट हुन्छ कि पुँजीवादीहरु श्रमिकहरुलाइ आफुले तोकेको ज्यालाबाहेक अरु धेरै दिन रतिभर तयार हुदैनन् । माओको नेतृत्वमा चीनिया जनताले विदेशी अतिक्रमणका विरुद्धको लडाइ जित्ने स्थिति बनेपछी विश्वका पुँजीवादी शासकहरु सैन्य हस्तक्षेपको तयारीमा लागेका थिए। यी इतिहासका तथ्यहरुले ठुला अक्षरमा प्रष्ट पार्दछन कि पुँजीवाद कतिसम्म प्रभुत्ववादी हुन्छ । यदि पुँजीवाद प्रगतिशील र प्रजातान्त्रिक नै हुन्थ्यो भने मार्क्सलाई देशनिकाला गर्न, विदेशमा पनि लखेट्न र नागरिकता नै खोस्न किन हतारिन्थ्यो होला।
    एक समय थियो- विश्वको झन्डै एक तिहाइ भूभागमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता चलेको थियो। ती सत्ताहरुले कालान्तरमा असफलता व्योहोर्नु पर्यो। सत्तासीन कम्युनिस्टहरुलाइ कुनै न कुनै नामको नाफाले हत्या गर्न सघायो भन्दा अत्युक्ति नहोला। मार्टिन निकोलासको “सोभियत संघमा पुँजीवादको पुनर्स्थापना  "डोङ पिङ हानको" अपरिचित सान्स्कृतिक क्रान्ति“ ले कम्युनिस्ट पार्टीले नेतृत्व गरेका सत्तामा देखा परेका कमजोरीबारे उजागर गरेका छन् । नेपालमा कम्युनिस्ट पार्टी सरकारमा छ। संविधानमा “समाजवाद उन्मुख शब्दावलीको प्रयोग भएको छ। चैतन्य मिश्रले भनेझै यो शब्दावली कतातर्फ सोझिने हो केही संकेत देखिइसकेको छैन। यो सरकारको पालामा मुलुक कम्तीमा मिश्र सरको समाजवादी लोकतन्त्रतर्फ सोझियो भने सन्तोष मान्नुपर्छ । परिवेश भने यो सरकारको हुर्मत लिन जहिल्यै तम्सिरहेको हुन्छ।

    सन् २०१३ मा प्रकाशित थोमस पिकेटीको “एक्काइसौं शताब्दीमा पुँजीवाद “मा पुँजीवादको मुख्य विशेषता असमानतालाई मानिएको छ। सन् १९०० पछि बेलायत र फ्रान्सका एक प्रतिशतसंग पचास प्रतिशत सम्पत्ति छ। दस प्रतिशतसंग नब्बे प्रतिशत सम्पत्ति छ। पिकेटीका अनुसार अमेरिकामा दस प्रतिशतसंग बहत्तर प्रतिशत सम्पत्ति छ भने पचास प्रतिशतसंग दुई प्रतिशत मात्र सम्पत्ति छ। उनले असमानता बढ्दै जादा वर्गीय क्रान्तिको सम्भावनाभन्दा पनि खरबपतिहरुले विश्वलाई खरिद गर्ने डरलाग्दो अनुमान गरेका छन् । “लोकतन्त्र र आजको मार्क्सवाद“ मा मिश्र सरले उल्लेख गरेको पुँजीवाद पिकेटीको पुँजीवादभन्दा प्रजातान्त्रिक देखिन्छ । जुन व्यवहारमा अनुभुत गर्न शायदै सकिन्छ । वर्तमान कोरोना भाइरसको विश्वव्यापी आतंकमा पनि सबैभन्दा बढी मारमा मजदुरहरु नै परेका छन् । यो महामारीको समयमा करोडौं मजदुरहरु रोजगारविहीन भएका छन् । खुला आकाशमुनि सुत्न बाध्य छन् । सयौ किलोमीटर पैदल हिड्न विवश छन् । पुजीवाद कोरोनाबाट बच्न झ्यालढोका थुनेर घरमै नजरबन्द छ। उसले आफ्नो घर आगनमा या आफ्नो मनमा श्रमिक वर्गको लागि एक बित्ता पनि ठाउँ राखेको देखिदैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार