Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

लकडाउन डायरीः कोरोनाले गाउँप्रतीको प्रेम बढाइदिएको छ

लकडाउन डायरीः कोरोनाले गाउँप्रतीको प्रेम बढाइदिएको छ

  • शनिवार, चैत्र २९ २०७६

  • छवी सुवेदी


  • घाम ओरालो लागिसकेपछी हामी उकालो लाग्यौ । मुलुक त के विश्वको ठूलो भाग लकडाउनमा छ। मानिसहरु घरभित्र छन् । सडकहरु सुनसान र बिरानो बनेका छन् । जिल्ला प्रशासनको अनुमतीपत्र लिन नै समय लाग्यो। गाडीमा चालक गगन रावल ,कर्णाली प्रदेशसभा सदस्य माननीय अम्मर बहादुर थापा र म मात्र तीन जना यात्री थियौ। कपासे व्यारेकदेखी सडकको दुवैतर्फ घना जङ्गल छ। सालका बुढा रुखहरुमा समेत कलिलो पालुवा पलाएको छ। छेडामा प्रहरीले हाम्रो गाडी रोक्यो। केही सोधपुछ गर्यो। सडक पहाडको काखमा अप्ठ्यारोसङ पसारिएको छ। रानीमत्ताको चिसो हावामा एकजना प्रहरी जवान ड्युटीमा थियो। उसले पनि सोधपुछ गर्यो। चालकको फोन नम्बर टिप्यो। यो सन्क्रामक महामारीको बेला सुरक्षाकर्मीको खटनपटन राम्रो छ। उच्च जोखिममा रहेर पनि यिनीहरु जनताको स्वास्थ्य रक्षाका निमित्त खटीरहेका छन् ।गुरासेको बजारसम्म नपुग्दा सडकमा कोहि पनि भेटिएन। गुरासेमा फाट्टफुट्ट मानिसहरू देखिए।

    घोडावासमा सडकमा मानिसहरू देखिए। उनिहरुले पिठ्युँमा झोला बोकेका थिए। तालपोखरीको ओरालोमा सडकको कुनामा एक हुल युवाहरु चुरोट तानिरहेका थिए। सडकको अर्को छेउमा बीस पच्चीस जना महिला पुरुषहरु थकाइ मारिरहेका थिए। उनिहरुदेखि केहि तलपट्टी तीस पैतीस जना यात्रुहरु सुस्ताएका थिए। यात्रुहरुको मुखमा कालो कपडाको मास्क थियो। केहिको भने मुखमा मास्क थिएन । गाडी उनीहरुको नजिकै पुगेपछि मास्क नलगाएकाहरुले हातले नाकमुख छोपे। सायद हत्केलाले कोरोना भाइरसलाइ छेक्न खोज्दै थिए। ती जम्मै बटुवाहरु थकित देखिन्थे।

    हाम्रो गाडी लगभग खाली नै थियो र पनि ती मध्ये कसैको मद्दत गर्न सक्दैनथियौ। उनीहरु धेरै टाढाबाट लकडाउन छल्दै पैदल हिडेका थिए। यी बटुवाहरुमध्ये एक जना मात्रलाई कोरोना भाइरसको संक्रमण भए अरु सबैलाइ सर्ने खतरा प्रष्ट थियो। हामी के गर्न सक्थ्यौ र । गाडी आफ्नै रफ्तारमा दगुरिरह्यो। डुङेस्वरदेखि अगाडि मटेलामा पनि मानिसहरू हुल बाधेर हिडिरहेका भेटिए। एक जोडी दम्पतीले हात हल्लाएर गाडी रोके र आफुहरुलाइ लगिदिन अनुरोध गरे । उनीहरुले मास्क लगाएका थिएनन् ।

    त्यो जोडी बर्दियाबाट पैदल हिडेको रहेछ। उनीहरुभन्दा केही अगाडि प्लास्टर गरेको हात घाटीमा झुण्डाएको युवाले पनि गाडी रोकेर लिफ्टको लागि अनुरोध गर्यो। उसङ सात आठजना युवाहरु थिए। ती युवाहरुले भारतबाट पैदल हिडेको बाह्र दिन पुगेको र आफुहरुलाइ कोरोना संक्रमण नभएको बताए। हामीले भने एकतर्फी सुन्यौ मात्र। लकडाउन भए पनि मानिसहरु जोखिम मोलेर हिड्न बाध्य छन् । यात्रा न हो कहाँ रोकिन्छ र। विशेषत कामको सिलसिलामा गाउघर छोडेकाहरु काम बन्द भएपछि भोकको डरले घर फर्किरहेका थिए । कतिपयलाई कोरोनाको त्रासले शहरको डेराबाट लखेटेको छ। मानिस मानसिक र शारीरिक कमजोरीका बेला प्रवासमा बस्न रुचाउदैन । उसलाई आफ्नै घर कटेरोको मायाले तान्छ। भारतको विभिन्न भुभागमा मजदुरी गर्ने नेपाली मात्र होइन भारतीयहरुले पनि हप्तौं पैदल यात्रा गरेको समाचारहरु आइरहेको छन् । यस्ता मजदुरहरुको दुखदर्द संसारका धेरैजसो सरकारको कानमा सितिमिति पुग्दैन। मनमनै आफैसङ बात मारे । कतिको त डेरा हुदो हो ,एकाध महिना धान्ने खर्च हुदो हो ,किन कुद्नु परेको होला ! कति भने बेखर्ची भएर हिडेका पनि होलान् । चुप्रा आइपुग्यो। भोक पनि लाग्यो । पसलहरु खुलेका छैनन् । केही खान पाइने कुरै भएन। साझ झमक्क पर्ने बेला किमुगाउ पुग्यौ। नारायण नगरपालिकाका मेयरको घर अगाडि गाडी रोकियो। त्यहा एक गिलास दूध खान पाइयो। मेयरका अनुसार स्वास्थ्यकर्मीहरुबाट मास्क,पिपिइलगायतका माग आइरहेको छ भने जनताबाट खानेकुराको माग आइरहेको छ। हामी धेरैबेर नरोकिएर अघि बढ्यौ। जिर्कु भन्नेठाउमा अध्यारोमा जुफियाबाट झरेका घट्टालुहरु भेटिए । बेस्तडा पुग्दा रातको नौ बजेको थियो। राती बेस्तडा खोलाको सुसेली सुन्दै निदाइयो। बिहान गाउपालिकाका निमित्त प्रदेश माननीय अम्मर बहादुर थापाले आफ्नो तलब खर्च गरि किनेर ल्याइदिएको स्वास्थ्य सामाग्री हस्तान्तरण भयो। बजारमा सामान्य चहलपहल थियो। मानिसहरु कोरोना भाइरसबारे विभिन्न चर्चा गरिरहेका थिए।

    बडाभैरवको एकजना मानिस मात्र क्वारेन्टाइनमा बसेका रहेछन् । महामारीको प्रकोप बढेपछी भगवतीमाइ गाउपालिकामा विदेशबाट त्रिपन्न जना आएका रहेछन् । बेस्तडामा धेरै नभुलेर हामीहरु हिड्यौ। सालघारीमा बिहानको घाम आइसकेको थियो। नारायण नगरपालिकामा केही बेर भुलेर हामीहरु नौमुलेतर्फ हिड्यौ।

    नौमुलेमा हामीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा गयौ। डाक्टर विप्लव सुवेदी ,स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्र शाही एवं अन्य स्वास्थ्यकर्मी साथीहरुसङ भेट भयो। अहिलेको महामारीविरुद्धको युद्धमा अग्रमोर्चाका सिपाही यिनै स्वास्थ्यकर्मी साथीहरू हुन। यिनिहरुलाइ भौतिक र मानसिक हतियारले सुसज्जित बनाइएन भने लडाइँ हारिने खतरा हुन्छ। प्राथमिक स्वास्थ्य केन्द्रमा एउटा मात्र आइआर थर्मोमिटर छ। पिपिइ र मास्कको अभाव छ। गाउपालिकाका अध्यक्ष एवं पार्टीका साथीहरुसङ पनि भेट भयो । माननीयबाट गाउपालिका अध्यक्षले यहाँ पनि स्वास्थ्य सामाग्री बुझे।नौमुलेमा विदेशबाट आउनेको संख्या भगवतीमाइको भन्दा धेरै छ। केहिको थ्रोट स्वाव संकलन गरेर सुर्खेत पठाइएको रहेछ। यहाँ वार्ड नम्बर तीनमा एकजना क्वारेन्टाइनमा बसेको रहेछन् । जनताबाट खानेकुराको माग आउन थालिसकेको रहेछ। लोहोरे खोलामा पौडी खेल्नेहरुको घुइचो थियो। नौमुले बजारमा एकजनाले भने ( यो कोरोना आयो भने त के बाकी राख्ला हजुर। त्यस्तो धनी देश अमेरिकालाइ त ओछ्यान पारिसक्यो। छेउमा उभिएको अर्कोले भने( आ आउन्न कोरोना। घरमा बस्ने। कसैसङ नजीक नपर्ने। भाग्छ नि कोरोना हाम्रो यस्तो भीरपाखा देखेर।

    नौमुलेबाट महाबुतर्फ हिड्दा दिन ढल्किन थालेको थियो। कच्ची बाटो, महाबु पुग्न नौमुलेबाट दुई घण्टाभन्दा धेरै समय लाग्यो। घोडामर्चेको डाडामा घोडामर्चे भुइभरी फुलेको थियो। दैलेख बजारबाट थपिएका पत्रकार विशालका अनुसार यहाँ डाडैभरी घोडामर्चे पाइन्छ। महाबु गाउपालिकाको सदरमुकाम गैडावाजमा जाडो थियो। मानिसहरु बजारमा हिडिरहेका थिए। गाउपालिकाका अध्यक्षलाई माननीयले स्वास्थ्य सामाग्री बुझाएपछि हामी फर्किने सुरसारमा लाग्यौ। रात झमक्क परिसक्यो। गाडी अँध्यारो छिचोल्दै अघि बढ्यो।

    बस्तीहरुमा गरिबी छ। दैलेखका यी चार वटा स्थानीय तह प्रत्येकमा तीन महिनाभन्दा बढी समय खान नपुग्ने परिवारको संख्या हजारभन्दा बढी छ। विदेशबाट आएका जति सबैको जाँच भैसकेको छैन। रोकथामका निमित्त पहल भने भएको छ। नागरिकहरुमा महामारीप्रती चासो बढेको छ। यतिबेला यहाको मुख्य चुनौती भनेको भारत लगायत विभिन्न मुलुकबाट फर्किएकाहरु सबैलाइ निश्चित समयसम्म क्वारेन्टाइनमा राखेर परिक्षण गर्न नसक्नु हो। बनेका क्वारेन्टाइनहरुमध्य धेरैजसो फोटो खिच्नका लागि मात्र छन् । राहात वितरणको भरपर्दो मापदण्ड नबन्नुले पनि थप समस्या निम्त्याएको छ।

    खरिगैरा हुँदै ओरालो झर्यौ। जूनको शितल उज्यालो पहाडभरी छरिदै थियो। दैलेखमा गाउहरुको वस्ती प्राकृतिक क्वारेन्टाइन भन्न मिल्ने खालको छ। घरहरु एक अर्कादेखी टाढा छन् । मानिसहरुको यसै पनि धेरै भिडभाड र भेटघाट हुदैन यहाँ। भेट भैहाले पनि हात मिलाउने ,गला मिलाउने र चुम्बन गर्ने संस्कार यहाँ छैन। घरमा मानिसहरु कोकोकोला जस्ता चिसो पेय पदार्थ भन्दा तातो चिया पिउछन। मासु या अन्य परिकार काचो खाने प्रचलन पनि छैन । यी यावत कुराहरु कोरोनाको संक्रमणका लागि प्रतिकुल छन । महामारीले गाउप्रतिको प्रेम बढाइदिएको छ। यहाँ खुला आकाशमुनी आफ्ना दैनिक कामहरु एक्लैदुक्लै गर्दै मानिसहरुलाइ सामाजिक दुरी कायम गर्न सजिलो छ।

    स्थानीय स्तरमा आठ दस ओटा परिवारको एउटा युनिट बनाउनु उपयुक्त हुन्छ। उक्त युनिटले तापक्रम जाँच गर्ने ,बाहिरबाट आएका मानिसहरुको निगरानी गर्ने आदि काम गर्दछ। कृषिका कामहरुको चाजोपाजो मिलाउछ। खाद्यान्न अभाव भएका परिवारको लगत स्थानीय सरकारलाइ बुझाउछ। स्थानीय साना युनिटहरु बनाएर सुचारु गर्न सके यो महामारीबाट क्षती बिना पार पाउने सम्भावना बढ्दछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार