Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

अलविदा ! कमरेड हेलिन बोलेक ...

अलविदा ! कमरेड हेलिन बोलेक ...

  • बुधवार, चैत्र २६ २०७६

  • छवी सुवेदी


  • प्रिय कमरेड हेलिन बोलेक
    हार्दिक श्रद्धासुमन।

    शहर बन्द छ। गाउँ सुनसान छ। चैत्रको हावा हजारौं यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन। न त विश्वभरी उधुम मच्चाइरहेको कोरोना भाइरससङ्ग नै यो हावाको कुनै लिनुदिनु छ। म इस्तानबुलदेखी धेरै टाढा छु । यहाँ त्यहाको जस्तो घना बस्ती छैन। आकाश भने उस्तै छ ,निखुर निलो । शायद पालुवाहरु पनि उस्तै छन् कलिला र जीवनप्रतिको प्रेमले फुरफुर गरिरहेका । सिमानालाई उल्लु बनाउँदै उड्ने चैते हुरिले एउटा खबर इस्तानबुलबाट यो सानो बस्तीसम्म ल्याएको छ । भर्खरै पालुवा फेरेको मेलको रुखतर्फ हेर्छु ,त्यसको हाँगामा बसेर ढिकुर कराउँदैछ मानौ शोकगीत गाइरहेको छ। हो प्रिय कमरेड, तपाईंको मृत्युको खबरले आहात बनाएको छ। तपाईंसङ्ग कहिल्यै भेट भएन, कुराकानी भएन र पनि खबर सुनेर मन अमिलिएको छ। अठ्ठाइस वर्षको कलिलो उमेरमा तपाईंले आफ्नो अमूल्य जीवन एउटा लक्ष्यका निमित्त बलिदान गर्नुभयो। तपाईंप्रती हार्दिक श्रद्धाका सुमन स्वरुप शब्दगुच्छाहरु समर्पण गर्दछु।

    GrupYorum.jpg

    युरोपको बिरामी भनेर चिनिने देश टर्कीको जन्म पहिलो विश्वयुद्धपछि सन् १९२३ मा भयो। राजनीतिक अस्थिरतामा रुमलिएको टर्कीमा सन् १९८० मा सैनिक कु भयो। बोल्न,लेख्नमा कडाइ गरियो। नाटकघरहरु बन्द भए । गीतहरु घन्किन छाडे । लेख्ने, बोल्ने र गाउने मानिसहरु जेलमा बन्दी बनाइए । सन् १९८५ को एक दिन विश्वविद्यालयको सानो कोठामा चार जना विध्यार्थीले गीत गाएको सुनियो। अँध्यारो मौनता चिरेर गीत घन्किदा सुन्नेहरु डराए । अध्यारोप्रती असहमती जाहेर गर्ने उक्त चार जनाको समुहले एउटा संगीत समुहको निर्माण गर्यो । समुहको नाम थियो - योरम समूहू । यो समूह पिर सुल्तान तथा नाजिम हिक्मत जस्ता हिम्मतीला तुर्केली कविहरुलाई आफ्ना आदर्श ठान्थ्यो। वर्गविभाजीत समाजमा केही पनि तटस्थ हुँदैन। उक्त समाजको हरेक चीजमा राजनीति हुन्छ । संगीतमा राजनीति नहुने कुरा भएन। योरम समुहमाथि छिटै निरंकुश राज्यको नजर पर्यो। टर्कीमा सन् १९५५ देखि नै अमेरिकी सेना छ। योरम समुहलाई सत्ताले आफ्ना नागरिकहरुको मुखमा ताल्चा लगाएको हर्कत पटक्कै मन परेको थिएन। त्यसैगरी अमेरिकी सेनाले टर्कीको सम्पत्तिको दोहन गरेकोमा पनि समुहको चित्त दुखेको थियो। यो समुहका गीतहरु जनताद्वारा औधी रुचाइए। गीतमा टर्कीका जनताले आफ्नै आवाज भेटे। सत्ताले जनता भड्किने डरले योरम संगीत समुहमाथि धरपकड शुरु गर्यो। हतियार र कानुनको डण्डाले लोकगीतको गला रोक्न सकेन। गीतहरु झनपछी झन बुलन्द बन्दै घन्किन थाले।

    कमरेड हेलिन ,तपाईं योरम जन्मेको सात वर्षपछि मात्र एक कुर्दिश परिवारमा जन्मिनु भयो। तपाइको परिवार दियार्बकिर भन्ने शहरबाट इस्तानबुलमा सर्यो। दियार्बकिर कुर्दिशहरुको बाहुल्यता भएको शहर हो। सैनिक सत्ताले कुर्दिशहरुको भासा खोस्यो। गाउँहरु जलाइदियो। दियार्बकिरका कुर्दिशहरुले सन्त्रासमा जिउनु पर्यो। तपाइको मस्तिष्कमा पनि त्यो बीभत्स दमनले बिस्तारै चिमोट्न शुरु गर्यो। योरम टर्कीमा मात्र नभएर यसको वरपर युरोप र एशियाका केही देशहरुमा लोकप्रिय भयो। समुहले इस्तानबुलको ओकमेदानीमा इदिल सांस्कृतिक केन्द्र खोल्यो । फासीवादका विरुद्ध आमरण अनसनको क्रममा सन् १९९६ मा मृत्युुवरण गरेकी एयसे इदिल इर्कमेनको नाममा उक्त केन्द्रको नामाकरण गरिएको थियो। अमेरिका र टर्कीले आतंकवादी घोषणा गरेको क्रान्तिकारी जनमुक्ति पार्टीसँग सम्बन्ध भएको आरोपमा सन् २०१५ मा टर्की सरकारले योरम संगीत समुहमाथि प्रतिबन्ध लगायो। कलाकारहरुलाइ धमाधम गिरफ्तार गर्यो। इदिल केन्द्रमा आक्रमण गर्यो। बाजाहरु भाँचिदियो। पुस्तकहरु फालिदियो । गीत गाउने गाइनेहरुलाई आतंककारीको बिल्ला भिराइदियो। सरकार कठोर बन्दै जादा न्याय र स्वतन्त्रताका पक्षपाती युवाहरुको समुहप्रतिको लगाव घटेन। दमनको कालो बादलले इस्तानबुलको आकाश ढाकिदै गएको बेला तपाईंले आफुलाई रोक्न सक्नुभएन। जनताको गीत घन्काउदै देश विदेशका विभिन्न ठाउँहरुमा जानुभयो। टर्कीमा मात्र होइन ग्रिसमा पनि तपाइको ख्याती बढ्यो। तपाइले स्वतन्त्रता ,समानता र सामाजिक न्यायका निमित्त गाउनुभयो। विदेशी हस्तक्षेपका विरुद्ध गाउनुभयो। गाउदा गाउदै सरकारले झण्डै दुई वर्ष अघि तपाइलाइ गिरफ्तार गर्यो।

    जेलमा पनि यातना दिने अभियान नै सरकारले चलायो । अमानवीय यातनाका विरुद्ध तपाईंलगायत केही साथीहरू जेलभित्रै अनसन बस्नुभयो। तपाइहरुमाथि आतंकवादी संगठन बनाएर राज्य विरुद्ध विद्रोहको योजना बनाएको अभियोग लगाइएको थियो। विश्वभरका लेखक, बुद्धिजीवीहरु, मानव अधिकारवादीहरुले तपाइहरुको रिहाइको लागि टर्कीको सरकारसँग माग गरे। वकिलहरुको समूह रिहाइको माग गर्दै अनसनमा बस्यो। गएको नोवेम्बर १९ मा तपाईंहरुलाइ रिहा गरियो। तर योरम समुहमाथी लगाइएको प्रतिबन्ध नहटाएसम्मका लागि तपाइहरुको अनसन जारी राख्ने निश्चय गर्नुभयो। स्वास्थ्य एकदमै बिग्रन थालेपछि मार्च एघारमा तपाईं र इब्राहिम गोचेकलाइ प्रहरीले अस्पताल लग्यो । तर तपाइ्हरुले आफ्ना मागहरु पूरा नभएसम्म उपचार स्वीकार नगर्ने भनी अडान लिएपछी पुन घर फिर्ता गरियो।

    Turkish-folk-singer-Helin-BOlek-dies-after-288-days.img.jpeg

    प्रिय कमरेड ,महिनौको भोको पेट कति कष्टपुर्ण भयो होला ! तपाईंका एकजना साथी मुस्ताफा कोसाकले अनसनको २५० दिनमा भनेका थिए । बितेका यी दिनहरुले मलाई धेरै सिकाएका छन् । प्रतिरोधका कठिनाइ र व्यथा पनि मैले भोगेको छु। जिउनु कति सुन्दर कुरा छ ! म मर्न चाहान्न । म यो अन्याय चाडो खतम भएको हेर्न चाहान्छु।

    मलाई बचाउनुहोस। तपाइकी आमा यतिबेला सबैभन्दा धेरै दुखी हुनुहोला। उहाँले केही समय पहिला भन्नुभएको थियो- छोरीका स्नायुहरु सुन्निएका छन् । पीडाले ऊ निदाउन सक्दिन । म मेरि छोरीलाई पुन: स्टेजमा उभिएर जनताका गीत गाएको हेर्न चाहान्छु। म मेरो बच्चा मरिरहेको हेर्न सक्दिन। यस्तो राम्रो मान्छेले स्टेजमा उभिएर गित गाएको मन पराउँदैनौ ? मेरा यी शब्द सुन्नेहरु कृपया केही गरिदिनुहोस। 

    तर टर्कीको सरकारले कसैको कुरा सुनेन। ऊ तपाईको आवाजसँग अचम्मै डराएको थियो। तपाईहरुले गाउँने लोकगीत सरकारको लागि कोरोना भाइरसको आतंकभन्दा अझ डरलाग्दो थियो। सरकारले तपाईको दारुण मृत्यु पर्खिरह्यो। आमरण अनसनको २८८ औं दिन, यहि अप्रील ३ गते शुक्रबार तपाईंको जीवनको अन्तिम दिन बन्यो।

    प्रिय कमरेड हेलिन ,तपाईंको मृत्युु मानवताको ,स्वतन्त्रताको निमित्त समर्पित छ। म निलो आकाशको गहिराइमा तपाईको गीत सुनिरहेको छु। आम जनताको गीतलाई मार्ने कुनै कानुन र हतियार यो बूढो र बहुलठ्ठी पुँजीवादसँग छैन।

    अलविदा कमरेड हेलिन! हामी विश्वभरिका भुँइ मान्छेहरु तपाइलाई सदा सम्झिरहनेछौं।
    उहि
    छवि।

    प्रतिक्रिया
    सम्बन्धित समाचार