Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

मार्क्सवादी स्कुलकाे डायरीबाट:  समाजको संरचनाबारे आधारभूत अध्ययन

मार्क्सवादी स्कुलकाे डायरीबाट: समाजको संरचनाबारे आधारभूत अध्ययन

  • बिहिवार, चैत्र २० २०७६

  • राजकुमार श्रेष्ठ


  • हामी यतिवेला लकडाउनमा छौं । यो निकै तनावको समय हो । कोरोना भाइरसको महामारीका कारण मनोवैज्ञानिक त्रास पनि त्यतिकै छ । यो समय पुस्तक अध्ययन गर्नु धेरै हिसावले लाभदायी हुन्छ । अध्ययनमा रुचि रहेका मित्रहरुका लागि हामीले यहाँ केही उपयोगी सामग्री पस्कने प्रयात्न गरेका छाैं । के पढ्ने भन्ने विषयमा विशेषगरी वामपन्थीहरुका लागि पढ्ने विषयमा एउटा मूर्त धारणा बनाउन सजिलो हुने विश्वासका साथ मार्क्सवाद अध्ययन-अनुसान्धान प्रतिष्ठानमा रमेश सुनुवारसँग लिइएको कक्षाको नोटको सम्पादित अंशका थुप्रै भागहरुमध्ये एक भाग यहाँ प्रस्तुत गरिएको छ ।

    "तपाई कम्युनिष्ट तव मात्र बन्न सक्नुहुन्छ, जब तपाईले आफ्नाे दिमागलाई मानव जातिले आजसम्म आर्जन गरेको सम्पूर्ण ज्ञानराशिद्वारा सुसज्जित पार्नुहुन्छ ।" - भी आई लेनिन  

    कम्युनिष्ट हुने भनेको सबैभन्दा बुद्धिमानी र वैज्ञानिक हुने कुरा हो । यसका लागि दर्शन, विज्ञान र इतिहासको अध्ययन गर्न अनिवार्य हुन्छ । 

    यी तीन विषयको अध्ययन गरियो भने मानव समाजले आर्जन गरेको सम्पूर्ण ज्ञानराशी त्यसैमा आउँछ । पढ्ने रुचि हुनेका लागि फ्रान्सिस वेकनको एउटा भनाइ निकै महत्वपूर्ण रहेको छ । वेकन भन्छन्–‘‘केही पुस्तक चाख्न लायक हुन्छन्, केहि पुस्तक चपाउँन लाइक हुन्छन्, केही पुस्तक निल्न लायक हुन्छन् र केही पुस्तक पचाउँन लायकका ।’’  वेकनले भनेजस्तै माक्र्सवादीहरुका लागि कार्ल माक्र्सले लेख्नुभएको महान कृति पुँजी चाख्न लायक कृति हो । माक्र्स—एंगेल्सले लेख्नुभएको कम्युनिष्ट घोषणा पत्र चपाउँन लायकको कृति हो । फ्रेडरिक एंगेल्सले लेख्नुभएको पुस्तक ड्युरिङ मतखण्डन निल्न लायकको कृति हो । र, एंगेल्सकै अर्को पुस्तक लुडविग फायरबाख पचाँउन लायक कृति हो ।

    कुनै पनि समाज व्यवस्था निर्माणका लागि पहिलो आवश्यक कुरा विचारधारा हो । हरेक समाज व्यवस्थाको आफ्नै विचारधारा हुन्छ । 

    हामी अध्ययनकै बारेमा कुरा गर्दै छौं । संसारलाई तीन भागमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ— प्रकृति, समाज र चिन्तन । त्यसमा प्रकृतिको अध्ययन गर्ने शास्त्र विज्ञान, समाजको क्षेत्रमा अध्ययन गर्ने शास्त्र इतिहास र चिन्तनको क्षेत्रमा अध्ययन गर्ने शास्त्र- दर्शन हो । यी तीन शास्त्र क्रमशः दर्शन, विज्ञान र इतिहासको अध्ययनबाट मात्र माक्र्सवादलाई बुझ्न र विकास गर्न सकिन्छ ।

    तर नेपालको कम्युनिष्ट आन्दोलनमा यो विधिमा व्यवस्थित रुपमा अध्ययन गर्ने र गराउने संस्कृतिको शुरुवातसमेत हुन सकेन । जसका कारण नेपालको कम्युनिष्ट आन्दोलनमा डरलाग्दो विचलन देखा परेको छ । कम्युनिष्ट आन्दोलनलाई सहि ट्रयाकमा ल्याउने उपाए हो— प्रष्ट विचारधाराको निर्माण र तदनुरुपको संगठन ।

    कुनै विषयको आधारभूत धारणा नबनाइ त्यसको विकास गर्न सकिंदैन । हामी यहाँ इतिहासको अध्ययनमा समाजको संरचनाबारे आधारमूत रुपमा चर्चा गर्छौं । 

    इतिहास 

    सामान्यतया इतिहासलाई विगतका घटना भनेर बुझिन्छ । इति र हास मिलेर इतिहास शब्द बन्दछ । जसमा इतिको अर्थ–यस्तो र हासको अर्थ– प्रकाश अर्थात इतिवृत्तान्त वा विगतका घटनालाई प्रकाश पार्ने भन्ने हुन्छ । तर इतिहासलई समाजको अध्ययन गर्ने शास्त्रको रूपमा लिनुपर्छ ।

    माक्र्सले ‘इकोनोमिक एण्ड् साइकोलोजिकल स्क्रिप्ट’ (१८४४–१८५८) मा लेखेका पाण्डुलिपीमा भनिएको छन्– ‘‘मान्छेले आफ्नो सार समाजमा मात्र प्राप्त गर्न सक्दछ ।’’ कुनै पनि क्षेत्रमा क्रान्ति ल्याउन प्रयोग र सिद्धान्त दुवै थाहा हुनुपर्छ । एडिसन र फराडेलाई विज्ञानको प्रयोग मात्र थाहा थियो तर सिद्धान्त थाहा थिएन । फ्रान्सिस वेकनलाई सिद्धान्त मात्र थाहा थियो तर न्युटन र ग्यालिलियोलाई सिद्धान्त र प्रयोग दुवै थाहा थियो । त्यसैकारण न्युटन र ग्यालिलियोको युगमा विज्ञानको क्षेत्रमा ठूलो क्रान्ति भयो ।

    माक्र्सले पनि यो संसारलाई समग्ररूपमा माथिबाट हेर्ने काम गरे, जसरी पहाडको टुप्पामा बसेर तल हेरिन्छ । उनीभन्दा अगाडिका विद्धानहरूले यसरी हेर्न सकेका थएनन् । इतिहासको अर्को पक्ष हो– परिवर्तन र विकास । यदि परिवर्तन भएन भने विकास हुँदैन । निम्नबाट उच्चतर्फ र तथ्यबाट सत्यतर्फ विकास हुनु इतिहासको विशेषता हो । नयाँले पुरानेलाई निषेध गर्छ । निषेध भनेको विकास हो । माक्र्सले इतिहासको अध्ययन गर्न ऐतिहासिक भौतिकवादको विधि विकास गरेका छन् ।

    समाजको संरचना

    समाजको संरचनालाई मुख्य दुई भागमा बाढेर अध्ययन गर्न सकिन्छ ।
    १. उत्पादक शक्ति
    २. उत्पादन सम्बन्ध

    उत्पादन सम्बन्ध र उत्पादक शक्ति मिलेर नै समाजको निर्माण र विकास हुन्छ । इतिहासको भौतिकवादी धारणाको निर्माण गर्न हामीले उत्पादक शक्ति र उत्पादन सम्बन्ध के हो भन्नेबारेमा जान्न आवश्यक हुन्छ ।

     उत्पादक शक्ति

    माक्र्सका अनुसार उत्पादक शक्ति निम्न तीन प्रकारका छन्ः

    १. श्रम
    २. उपकरण (श्रम र उत्पादनका साधनबीचमा हुने कार्य नै उपरण हो । )
    ३. उत्पादनका साधन

    उत्पादन सम्बन्ध

    उत्पादन सम्बन्धका विषयमा दुई कुरा महत्वपूर्ण छन् । ती हुन्ः
    १. संगठन
    २. विचाधारा

    संगठन

    उत्पादन सम्बन्धमा आधारित भएर बन्ने मानिसहरुका सम्बन्धलाई संगठन भनिन्छ । गठनका पनि तीन रुप छन्:

    क. परिवार, ख. वर्ग र ग. राज्य
    क. परिवार
    प्रिवारको आधार के हो ?

    माक्र्स भन्छन्, ‘‘मानिसहरु समुहबद्ध एउटा कारणले हुन्छ– त्यो हो उत्पादन ’’ उत्पादन दुईखाले छन्– भौतिक वस्तुको उत्पादन र सन्तान उत्पादन । सन्तान उत्पादनका लागि हुने परिवार र त्यस सम्बन्धलाई जोड्ने प्रचलन:नियमलाई विवाह भनिन्छ । परिवारलाई चार भागमा बाँढेर अध्ययन गर्न सकिन्छ । ती हुन्–
    १.रक्त सम्बद्ध परिवार (cosanguine family)
    २.हाडनाता बर्जित परिवार (punaluan family)
    ३.युग्म परिवार (pairing family)
    ४.एकनिष्ठ परिवार (monogamus family )

     रक्त सम्बद्ध परिवार  

    यो प्राचिन परिवार हो । रक्तसम्बन्धभित्र हुने विवाहबाट निर्माण भएको परिवार । यस विवाहलाई पुस्ताको आधारमा छुट्याइन्थ्यो । त्यो भनेको हजुरबाहरुको पुस्ताको विवाह बुबाहरुको पुस्तासँग हुँदैन थियो । त्यसैगरी बुबा र छोरा पुस्ता, छोरा र नाती पुस्ताबीच पनि विवाह चल्दैन थियो । सबैको आफ्नै पुस्ताको बीचमा मात्र विवाह हुने भएकाले त्यस समयमा पुस्ताकै आधारमा परिवार बन्दथ्यो ।

    हाडनाता बर्जित परिवार  

    परिवार निर्माणको यो दोस्रो चरण हो । यस चरणमा परिवारको विकास भएर सक्तसम्बन्धभन्दा बाहिरकोसँग विवाह हुने चलनको विकास भयो र त्यसैको आधारमा परिवार निर्माण हुन्थ्यो । हाडनाता नपर्नेहरुको बीच परिवार बन्ने प्रकृयालाई नै हाडनाता वर्जित परिवार भनिन्छ ।

    युग्म परिवार  

    ल्याइते सहायक र व्याइते मुख्य हुने परिवारलाई युग्म परिवार भनिन्छ । यस्तो परिवारमा श्रीमान् र श्रीमती जतिपनि हुन सक्दछ तर समाजले स्वीकृति दिएको मुख्य हुन्थ्यो । समाजले स्वीकृति दिएको श्रीमतीलाई व्याइते भनिन्थ्यो ।

    यस्तो परिवारमा व्याइतेबा जन्मिएको सन्तान पैतृक सम्पत्तीको पहिलो हकदार हुन्थ्यो ।

    एकनिष्ठ परिवार

    एक पटकमा एक जनासँग मात्र विवाह भएर बन्ने परिवार एकनिष्ठ परिवार हो । यसतो परिवारमा एक पछि अर्कोसँग विवाह गरेर नयाँ परिवार बनाउनु परेमा पुरानो परिवारसँग सम्बन्धविच्छेद गरेर मात्र सकिन्छ ।

    पूँजीवादी व्यवस्थामा यस्तो विवाह कानुनी रुपमा मात्र सम्बधव हुन्छ । तर व्यवहारिक रुपमा भने त्यस्तो हुँदैन । किनभने समाजको संरचना नै त्यो अवस्थामा पुगेको हुँदैन । पूँजीवादी समाजमा महिला र पुरुषबीच बराबरी अधिकार नहुने भएकाले यस परिवारमा विवाह सम्बन्ध पूर्ण रुपमा लागु हुँदैन ।

    समाजवादमा भने यस्तो परिवारका लागि कानुनको आवश्यता नै पर्दैन । किनभने समाजको संरचनानै एकनिष्ठ परिवार भन्दा अर्को परिवार स्वीकार नहुने अवस्थामा पुगेको हुन्छ ।

    पूँजीवादमा परिवारको सम्बन्धमा सम्पत्ती मुख्य हुन्छ र प्रेम सहायक हुन्छ तर समाजवादमा प्रेम प्रधान हुन्छ । प्रेममा आधारित परिवार हुन्छ । एकनिष्ठ परिवारमा पुगेपछि परिवारको विकासक्रमको एउटा चक्र पुरा हुन्छ । त्यसकारण समाजवाद विगतका सम्पूर्ण समाज व्यवस्थाभन्दा उत्कृष्ठ हुन्छ ।

    वर्ग

    वर्गभनेको के हो ? वर्ग कसरी उत्पन्न हुन्छ ?
    वर्ग संगठनको दोस्रो रुप हो । मानिसहरु उत्पादनका लागि संगठीत हुन्छन् । सन्तान उत्पादनका लागि संगठीत हुँदा परिवार र भौतिक वस्तु उत्पादनका लागि संगठीत हुँदा वर्ग बन्दछ । वर्गको आधार भौतिक उत्पादन हो र त्यसको सुरुवात श्रम विभाजनबाट हुन्छ । त्यही श्रम विभाजनले नै वर्गहरुलाई विभाजन गर्दछ । पूँजीको भाग तीनमा माक्र्स लेख्छन्– आफ्नो आयको आधारमा मानिसहरुको वर्ग बन्दछ । मार्क्सले पुँजीमा वर्गलाई तीन भागमा  विभाजन गरेका छन्–

    १. जमिन्दार वर्गः जमिनबाट आयश्रोत प्राप्त गर्ने वर्गलाई जमिन्दार वर्ग भनिन्छ ।
    २. पूँजीपति वर्गः पूँजीको परिचालनबाट आय आर्जन गर्ने वर्गलाई पुँजीपति वर्ग भनिन्छ ।
    ३. श्रमिक वर्गः श्रमबाट आय आर्जन गर्ने वर्ग श्रमिक वर्ग हो ।

    लेनिन भन्छन्– ‘‘उत्पादन प्रक्रियामा उसको हैसियत कस्तो प्रकारको छ भन्ने कुराले वर्गको निर्धारण हुन्छ ।’’ लेनीनको यो परिभाषा को शोषक र को शोषित छ भन्ने तर्फ लक्षित देखिन्छ ।

    हरेक कुरा सकारात्मकबाट आउँछ र विकासक्रममा नकारात्मक बन्दछ । हेगेल भन्छन्– ‘‘न्याय अन्यायमा फेरिन्छ ।’’ वर्ग पनि सुरुमा न्यायको रुपमा आएको थियो र विकाक्रममा त्यो अन्यायमा फेरियो । वर्ग भनेको भौतिक वस्तुको उत्पादन गर्न बनेको मानिसहरुको समूह हो । जंगली युग र वर्वर युगमा श्रम विभाजन थिएन । जंगली युगमा प्रकृतिमा जे पाइन्छ त्यही खोजेर खाने गरिन्थ्यो भने वर्वर युगमा पशुपालन र खेती सुरु भएको थियो । दास युग आएपछि श्रम विभाजन सुरुभयो । दास युगभन्दा पहिला श्रम प्रमुख थिएन तर दास युग आएपछि भने मानव श्रम मुख्य हुन्छ । यसरी श्रमको विभाजनसँगै वर्गसमाजमा शोषणको सुरुवात हुन्छ । त्यसपछि सकारात्क रुपमा आएको वर्गीय समाज नकारात्मकमा फेरिन्छ ।

    वर्गका प्रकार

    वर्गहरुको शत्रुतापूर्ण अवस्था नीजि सम्पत्तीको उत्पत्तिबाट हुन्छ । निर्वर्गीय समाज वर्गीय समाजमा रुपान्तरण दास व्यवस्थाबाट हुन्छ । वर्गीय सामाजिक व्यवस्थाहरु तीन प्रकारका छन् । यी तीन सामाजिक व्यवस्थामा तीन भिन्न प्रकारका समाजिक वर्गहरु हुन्छन् ।

    १. दास समाजिक व्यवस्था – मालिक र दास वर्ग
    २. सामन्तवादी समाजिक व्यवस्था – जमिन्दार र कृर्षक वर्ग
    ३. पूँजीवादी सामाजिक व्यवस्था – पूँजीपति र श्रमिक वर्ग/सर्वहारा वर्ग

    पूँजीवादी समाजिक व्यवस्थाको समाप्त भएर समाजवादी सामाजिक व्यवस्थाको स्थापना भएपछि पुनः वर्गहरुको उन्मुलन हुन्छ । समाजवादी व्यवस्थामा जाँदा सर्वहारा वर्गले आफूलाई शासक वर्गमा फेरेर वर्गहरुको उन्मुलन गर्दछ भन्ने कुरा माक्र्सवादले गर्दछ । माक्र्सका अनुसार समाजवाद वर्गविहिन समाजिक व्यवस्था हो ।

    वर्गहरुको उन्मुलन कसरी हुन्छ ?

    उत्पादक शक्तिमा परिवर्तन आएपछि/भएपछि मात्र वर्गहरुको उन्मुलन हुन्छ । माक्र्सले भनेजस्तो सर्वहारा वर्ग शासकवर्गमा फेरिने वित्तिकै वर्गको उन्मुलन नहुने रैछ भन्ने कुरा समाज व्यवस्थाले देखाएको छ । त्यसकारण वर्गीय व्यवस्थाको उन्मुलन गर्न सक्ने उत्पादन शक्तिको विकास भएपछि मात्र त्यो सम्भव हुने देखिन्छ ।

    अहिले मानव श्रमलाई विस्तापित गर्नेगरी भएको नयाँ उत्पादन शक्तिको विकासले श्रमका कारण जन्मिएका वर्गहरुको पनि उन्मुलन हुनसक्दछ । त्यो उत्पादक शक्ति भनेको विज्ञान—प्रविधि हो ।

    राज्य

    परिवार र वर्गहरुको उत्पत्ति उत्पादनका लागि र त्यो समाजको संरक्षणका लागि राज्यको उत्पत्ति भयो । जब वर्गहरुबीचमा संघर्ष हुन्छ, त्यसलाई मध्यस्तता गर्न तस्रो पक्षको आवश्यकता पर्दछ । त्यहि तेस्रो पक्ष राज्यको रुपमा उत्पत्ति भयो । राज्य कसैले चाहेका कारण उत्पत्ति भएको होइन, त्यो त ऐतिहासिक आवश्यकताले उत्पत्ति भएको हो

    राज्यकाे उत्पत्ति सम्बन्धमा ३ सिद्धान्त छन्: रुसोको सामाजिक सम्झौता, टमस हब्सको समाजिक सम्झौता र जोन लकको समाजिक सम्झौता । यी तीनै सिद्धान्तले भन्छ, दुई पक्षबीच हुने झगडा मिलाउने काम समाजको सहभागिता÷समाजिक सम्झौताबाट हुन्छ ।

    राज्य भन्ने कुरा दास युगभन्दा पहिला थिएन । जब वर्गहरुबीच असमाञ्जस्य जन्मियो तब राज्यको उत्पत्ति भयो । त्यसकारण वर्गहरुबीचको संघर्ष÷बेमेल÷शत्रुता मित्रतामा फेरियो भने राज्यको अन्त्य हुने कुरामा कुनै संखा छैन । तर वर्गहरुबीच हुने झगडाको अन्त्य हुन्छ कि हुँदैन त्यो भन्न सकिँदैन

    राज्यका रुपहरु

    क) समाजको स्वरुपको आधारमा 
    १) एकल जातीय र २) बहुजातीय

    ख) शासन व्यवस्थाको आधारमा 
    १) राजतन्त्रात्मक
    २) राष्ट्रपतीय
    ३) व्यवस्थापकीय

    ग) प्रतिनिधित्वको आधारमा 

    १) अविजात/निरंकुश तन्त्र: यो कुलघरानको शासन गर्ने सामन्तवादी व्यवस्था हो । यो व्यवस्था सामन्तवादी राज्यव्यवस्थासम्म कायम रह्यो ।
    २) प्रतिनिधिमूलक राज्य: प्रतिनिधिमूलक व्यवस्था नै पूँजीवादी व्यवस्थाको मूल कुरा हो । प्रतिनिधिमूलक व्यवस्थाविना पूँजीवादी व्यवस्था सम्भव छैन । पूँजीपती वर्गले आफूलाई राज्यको प्रतिनिधि ठान्दछ । मुद्रा पूँजीवादको मूल आधार हो । मुद्रामा सबै कुरा छ तर मुद्रा आफैमा केही पनि होइन । मुद्राले आर्थिक वस्तुको प्रतिनिधित्व गरे जस्तै पूँजीपतीले पनि पूँजीवादी राज्य व्यवस्थाको प्रतिनिधित्व र्गदछ । त्यसैले पूँजीपतिहरु पनि राज्यको मुद्रा हुन ।

    सय रुपैयाँले त्यो बराबरको सबै वस्तुलाई आफ्नो नियन्त्रणमा लिए जस्तै पूँजीपतिले पनि आफू बराबरको समाजमा प्रतिनिधित्व गर्दछ । पूँजीवादी व्यवस्थाका लागि पूँजीपति वर्गको प्रतिनिधित्व अनिवार्या हुन्छ ।

    ३) सहभागितामूलक राज्य: यो समाजवादी व्यवस्थामा हुने राज्य हो । सहभागितामूलक राज्यको पूर्ण अभ्यास समाजवादी व्यवस्थामा मात्र गर्न सकिन्छ ।

    उत्पादन सम्बन्धको अर्को रूप: विचारधाराबारे

    मानिसको सामाजिक चेतना नै विचारधारा हो । कुनैपनि सिद्धान्त सामाजिक चेतना बनेपछि मात्र विचारधारा हुन्छ अर्थात् कुनैपनि सिद्धान्त विचारधारा हुन सामाजिक चेतना बन्नुपर्छ । कुनै वाद पनि कुनै समाजले स्विकार गरेको छैनभने त्यो विचारधारा हुँदैन । विचारधाराका लागि सामाजिक स्कृति अनिवार्य छ ।

    विचारधाराले गर्ने काम के हो ?

    समाजले गरेको सृजना/उत्पादनलाई स्थायित्व दिने काम नै विचारधाराको मुख्य काम हो । समाजले ल्याएको नयाँ कुरालाई वैधानिकता दिने काम विचारधाराले गर्दछ । विचारधाराले समाजले हासिल गरेका उपलब्धीलाई अर्को परिवर्तन नआएसम्म स्थाइत्व दिने काम पनि गर्दछ ।

    वैज्ञानिक टि.एच. हक्सले भनेका छन्– ‘‘कुनैपनि नयाँ सत्य विद्रोहीको रूपमा आउछ र अन्धविस्वासको रूपमा त्यसको अन्त्य हुन्छ ।’’ नयाँ विचारधारा समाजमा स्थापित भएपछि विस्तारै जडशुत्र बन्छ र समाजको विकासलाई रोक्ने काम गर्छ । त्यसपछि त्योभन्दा उच्च विचारधाराले त्यसलाई विस्तापन गर्दछ ।

    विचारधारा अंग्रेजीको आइडोलोजीको नेपाली अनुवाद हो । कुनै पनि सिद्धान्त सार्वभौम भएर समाजले स्विकार गरेको खण्डमा त्यो विचाराधारा हुन्छ नै तर सर्वभौम नभएका विचार पनि समाजले स्वीकार ग¥यो भने त्यो विचारधारा हुन्छ ।

    यसरी समाजले स्वीकार गरेको विचारधाराको माध्यमद्धारा शासक वर्गले आफ्नो शासन गर्दछ । त्यसपछि त्यो विचारधारा शासक वर्गको सम्पत्ति बन्दछ । विचारधाराकै माध्यमबाट शासकहरूले सत्तालाई परिवर्तन हुनबाट रोक्ने प्रयत्न गर्दछ । किनकि सत्ता÷समाज परिवर्तन भयो भने उनीहरूको सत्ता गुम्दछ ।

    विचारधाराको प्रकारहरू:

    १) राजनैतिक विचारधारा
    २) कानुनी विचारधारा
    ३) नैतिक विचारधारा
    ४) कलात्मक विचारधारा/वैज्ञानिक विचारधारा
    ५) धार्मिक विचारधारा
    ६) दार्शनिक विचारधारा

    राजनीतिक विचारधारा

    मान्छे सवैभन्दा पहिला राजनीतिक रूपमा सचेत हुन्छ । अर्थात् मान्छेले राजनीतिक प्रयत्नबाट आफ्नो अस्थित्वलाई प्रमाणित गर्दछ । विचारधाराको विकासक्रम राजनीतिक चेतनबाट हुन्छ । राजनीतिक चेतना नभएको मान्छे मान्छे हुन लायक नै होइन ।

    राजनीतिक चेतना नभएकाहरू स्वतन्त्र हुन पनि लायक हुँदैनन् । माक्र्स भन्छन्– ‘‘सवहारा वर्ग शोषित हुनका लागि स्वतन्त्र छ । ऊ जहाँ गएर पनि शोषित हुनसक्छ ।’’ जमिनसँग जोडिएका दासहरुलाई भूदास भनिन्छ । त्यस्ता दासहरू जमिन बेचिदा जमिनसँगै बेचिन्थे । तर पनि भूदासहरू दासहरूभन्दा स्वतन्त्र हुन्थे । भूदासहरू गाउँबाट भागेर जब सहरमा श्रम गर्न जान्छन् तव उनीहरू श्रमीकमा बदलिन्छन् । श्रमीक भूदासभन्दा स्वतन्त्र हुन्छन् तर मालिक छान्न स्वतन्त्र ।

    सुरुमा मजदुरहरूमा पनि राजनीतिक चेतना हुँदैन । पछि राजनीतिक चेतना आउछ । जब मजदुरहरूमा राजनीतिक चेतना आउछ तव उनीहरूले क्रान्ति गर्दछन् । लेनीन भन्छन्– मजदुर आन्दोलनले गर्ने भनेको ट्रेडयुनियनबादसम्म मात्र हो ।

    राजनीति के मा आधारित हुन्छ ?

    सामाजिक चेतनाको पहिलो रूप राजनीति हो । राजनीति स्वामित्वमा आधारित हुन्छ । समाज, राज्य वा कुनैपनि कम्पनीहरूमा व्यक्तिले आफ्नो अधिकार÷अस्थित्व÷स्वामित्व के हो भनेर खोज्ने कुरा नै राजनीति हो ।

    प्रुँधो भन्छन्– ‘‘नीजि सम्पत्ती भनेको चोरी हो ।’’ वस्तुमा मूल्यको सृजना श्रमिकको श्रमबाट हुन्छ । त्यसैले उत्पादनमा श्रमिकको स्वामित्व हुनुपर्छ भन्ने माक्र्सवादी राजनीति हो ।

    अतः व्यक्ति वा समुदायले आफ्नो पाउनुपर्ने स्वामित्वको खोजी ग¥यो भने त्यो राजनीति हुन्छ ।

    (नोटः यसका लागि कम्युनिष्ट घोषणा पत्र र दर्शनको दरिद्रता दुई  पुस्तक अध्ययन गर्न आवश्यक छ ।)

    कानुनी विचारधारा

    राजनीतिक विषयलाई संस्थागत÷वैधता दिने विचारधारालाई कानुनी विचारधारा भनिन्छ । त्यसैले डाक्टर, वकिल र न्यायधिसहरूले राजनीति गर्दैन त्यसका लागि राजनीतिज्ञ नै चाहिन्छ । वुद्धिजीविले पनि राजनीति गर्दैन त्यसका लागि दार्शनिक चाहिन्छ ।

    हेगेलको कृति ‘राइट अफ फिलोसोफी’को पहिलो लाइनमा लेखिएको छ–‘‘यथार्थ तर्कसंगत छ, तर्कसंगत यथार्थ छ ।’’ अर्थात् वस्तुगत जगतलाई तर्कले यथार्थ जगत बनाउने काम गर्दछ ।

    नैतिक चेतना/विचारधार

    नैतिक चेतना भन्नाले समाको उत्कृष्ट मूल्यमान्यता भन्ने बुझिन्छ । समाजले स्थापित गरेको मूल्यमान्यता नै नैतिक चेतना हो । नैतिकता समाजबाट नै स्थापित हुन्छ ।

    राजनीतिक, कानुनी र नैतिक चेतना वस्तुगत चेतना हुन् किनकि यिनीहरू मानव निर्मीत हुन्छन् । कलात्मक, धार्मिक/वैज्ञानिक र दार्शनिक चेतना आत्मगत चेतना हो । यो आन्तरिक हुन्छ र पूर्ण पनि हुन्छ । कलात्मक चेतनालाई सौन्दर्य चेतना पनि भनिन्छ । यो नैतिक चेतनाभन्दा उच्च चेतना हो ।

    समाजको पूर्ण चेतनालाई तीन भागमा विभाजन गरेर अध्ययन गरिन्छ ।

    हेगेलका अनुसार – कलात्मक, धार्मीक र दार्शनिक । हामीले वर्गीकरण गर्दा कलात्मक, वैज्ञानिक र दार्शनिक । यसलाई वाद, प्रतिवाद र संवाद पनि भन्न सकिन्छ ।

    कलात्मक विचारधारा

    नैतिक विचारधाराले कलात्मक विचारधारा निर्माण गर्न भूमिका खेल्दछ । कलात्मक विचारधारा भनेको चौथौ चरण हो । कलात्मक चेतनाले वस्तुलाई समष्टिमा मात्र व्यक्त गर्दछ । नैतिक चेतनामा विभाजन र विश्लेषणमा बुझ्ने हुन्थ्यो । कलात्मक चेतनामा यसो हुँदैन ।

    कलात्मक चेतना फाइन आर्ट र युजफुल आर्ट गरी दुई खालका छन् । कलात्मक चेतना भनेको ललितकला हो । कला पूर्ण हुनुपर्छ । कला तार्कीक भयो भने त्यसको अस्थित्व नै समाप्त हुन्छ ।

    कलात्मक चेतना समष्टिमा हुने भएकाले वस्तुको सबैपक्ष जान्न सकिँदैन । त्यसपछि कलात्मक चेतना विकास भएर वैज्ञानिक चेतनामा बदनिन्छ । वैज्ञानिक चेतना वस्तुको सिंगो रूपलाई विभाजन गरेर वस्तु कसरी बनेको छ भन्ने जान्न सक्ने क्षमता राख्दछ ।

    सेन्टसाइमन्ट र आगष्ट कम्टेका अनुसार चेतना धर्मबाट सुरु हुन्छ र दार्शनिक हुँदै विज्ञानमा पुगेर पूर्ण हुन्छ । यी प्रत्यक्षवादी दार्शनिक थिए । उनीहरू भन्थे जे कुरा फ्याक्ट छ, जुन कुराबाट काम गर्नसकिन्छ, त्यसैलई आधार मानेर काम गर्नुस् । माक्र्स भन्छन्–‘‘मान्छेले आफ्नो अगाडि आएको जिम्मेवारी पुरा गर्नुपर्छ । नभएको कुरा खाजेर किन हिड्ने ।’’

    यसरी वैज्ञानिक चेतनाले खण्ड–खण्डमा वस्तुहरूको विश्लेषण गरिसकेपछि दार्शनिक चेतनाले पुन वस्तुको सवैपक्षको समष्टिमा व्याख्या गर्दछ । दर्शनशास्त्री भन्नु र दार्शनिक भन्नु फरक कुरा हुन् । दर्शनको अध्ययन गरेर त्यो चेतनमा रूपान्तरण भयो भने मात्र दार्शनिक हुन्छ । दर्शन भनेको वस्तुगत चेतना हो र दार्शनिक भनेके चिन्तन हो । त्यसकारण मानव जगत वस्तुगत चेतनाबाट सुरु हुन्छ र चेतनागत जगतमा पुगेर पूर्ण हुन्छ ।

    (इतिहास, दर्शन र प्रकृतिको माक्र्सवादी अध्ययनबारेका मूल्यवान अध्ययन सामग्रीहरु क्रमशः प्रस्तुत गरिनेछ ।)

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार