Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

अमानवीय पुँजीवादको डरलाग्दो अवसान यात्रा

अमानवीय पुँजीवादको डरलाग्दो अवसान यात्रा

  • बिहिवार, चैत्र २० २०७६

  • छवी सुवेदी


  • विश्व चर्चित लेखक हरारे अमेरिकाको अनुपस्थिती र आफ्ना सहयोगीप्रतीको उदासिनतालाइ पुँजीवादप्रतिको खतरा ठान्छन् र पुँजीवादलाई मर्नबाट जोगिन मानवीय बन्न आग्रह गर्दछन। अमेरिका स्वयं पुँजीवादको नाफामुखी प्रजातन्त्रबाट आज पीडित भएको छ। न्युयोर्कमा बस्ने खरबपतीहरु अस्पतालमा न्युयोर्कवासीहरु मृत्युले छटपटिदा समेत सरकारलाई सहयोग गर्न तयार छैनन् । हरेक ठाउँमा, विषयमा नाफा खोज्ने पुँजीवादले आफ्ना नागरिकको मृत्युमा समेत नाफा देख्नुलाई अस्वभाविक मान्न सकिँदैन।

    उत्तरी मकाउको एउटा गाउँ वाङ्झीयामा सन् १८४४ जुलाई ३ को दिन अमेरिका र चीनविच सन्धि भयो। यो नै अमेरिका र चीनबिचको पहिलो सन्धी हो। पहिलो अफिम युद्ध भर्खर सकिएको थियो। अमेरिकालाई व्यापारीहरुले चीनको बजार आफ्ना निमित्त खोलिदिन दबाब दिदै आएका थिए। चीनले भर्खरै युद्ध हारेको थियो। पश्चिमी मुलुकहरुको माग पूरा गर्न चीन बाध्य भयो । बेलायतले भारतीय अफिम चीनमा पुन बेच्न थाले । जर्मनीमा जन्मिएका अमेरिकी व्यापारी जोन ज्याकोव एस्टोरले चीनमा टर्कीको अफिम बेचेर लाखौं डलर कमाइसकेका थिए । उनले चीनमा मात्र होइन ,न्युयोर्कमा पनि खुला रुपले अफिम बेच्ने गरेको कुरा इतिहासकार जोन कुओ वेइ त्चेनले लेखेका छन् ।

    अमेरिकाका ३२औं राष्ट्रपति 'फ्र्याक्लीन डि रुजवेल्ट'का मावली हजुरबुबा वारेन डिलानोले सन् १८३० पश्चात् चीनमा अफिम बेच्न थाले। सन् १८३० मा तीस लाख चिनियाँ अफिमका दुर्व्यसनी भैसकेका थिए। राज्यका अधिकारीहरु अफिमका व्यापारीबाट मोटो घुस खान्थे। अमेरिकालाई आफ्नो उत्पादन बेच्न त बजार चाहिएको नै थियो । प्रभाव विस्तार गर्नु पनि थियो। फलस्वरुप अमेरिकी राष्ट्रपति जोन टाइलरका प्रतिनिधि कालेब कुशिङ वाङ्झीयाको कुनलाम मन्दिरमा पुगेका थिए। सो सन्धिपछि अमेरिकाले चीनमा व्यापार गर्नुका साथै अस्पताल र चर्च पनि खोल्न पाउने भयो।

    दोस्रो अफिम युद्धमा अमेरिका तटस्थ बसे पनि उसका सैनिकहरुले केही चिनियाँ किल्ला कब्जा गरे। दोस्रो अफिम युद्ध पश्चात् अमेरिकाको चीनमा प्रभाव थप विस्तार भयो। चीनले भने यी दुवै युद्धबाट आफुलाई कमजोर र हेपिएको महसुस गर्यो। चिनियाँ मस्तिष्कमा पश्चिमी मुलुकप्रतिको नकारात्मक धारणा उम्रीन शुरु भयो। अफिमले धेरै चिनियाँहरुलाई बर्बाद गर्यो। सन् १८९८ मा अमेरिकाले स्पेनबाट फिलिपिन्स खोस्यो। चीन भने झन कमजोर हुँदै गयो।

    पहिलो विश्वयुद्धको लगत्तै चिनियाँ जनता विदेशी अपमानको विरुद्ध आन्दोलित भए । आफ्ना शासकहरुलाई नझुक्न खबरदारी गरे। चीनियाँ जनताले जापानीहरुको वर्वर आक्रमणको पनि सामना गर्नु पर्यो। सन् १९४९ मा चीन एक जनवादी गणतन्त्रको रुपमा उदायो। अमेरिकाले चीनलाई जनवादी शासनमा जानबाट रोक्न धेरै प्रयत्न गर्यो। कोरियन युद्धमा अमेरिका र चीन आमनेसामने भए। उक्त लडाइँमा माओ त्सेतुङका छोरा समेत झण्डै चालीस लाख मानिस मारिए। जसमध्ये चालीस हजार अमेरिकी थिए। दुई देशबिचको सम्बन्ध अवरुद्ध भयो। चीन समाजवाद स्थापनाको आफ्नै बाटोमा विभिन्न चुनौतीको सामना गर्न व्यस्त भयो।

    सन् १९७१ को अप्रीलमा चीनको पिङपोङ टिमले अमेरिकी पिङपोङ टिमलाई चीनमा निम्तो दियो। जुन पिङपोङ कुटनीतिका नामले चिनिन्छ । सन् १९७१ कै जुलाइमा अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर गोप्य रुपमा चीन पुगे। सम्बन्ध पुनर्स्थापित गर्न उनले पहल गरे। सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीनको भ्रमण गरे। मार्गरेट म्याकमिलनले 'निक्सन र माओ' नामक आफ्नो किताबमा लेखे अनुसार उक्त भ्रमणले विश्व परिवर्तन गर्यो। निक्सन चीनले आफुलाई भियतनामबाट निस्किन मद्दत गरोस् भन्ने चाहान्थे भने माओलाई अमेरिकी प्रविधि र विशेषज्ञ ज्ञान चाहिएको थियो । उक्त भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधार गर्यो।

    makau.jpg

    सन् १९४९ देखि सन् १९७६ सम्म चिनियाँ अर्थतन्त्र राष्ट्रिय आवश्यकतामा केन्द्रित रह्यो। मौरिस मेइस्नरका अनुसार माओकालको अन्तसम्म चीन विश्वको छैटौं ठूलो औद्योगिक उत्पादक बन्यो। सन् १९७८ पश्चात् चीनले आफ्नै विशेषताको बजार अर्थतन्त्र अवलम्बन गर्यो। सन् १९८० मा चीन अमेरिकाबीच ५ अरब डलरको व्यापार भयो। शुरुमा चीनबाट निर्यात हुनेमा कपडा र जुत्ता लगायतका सामान थिए । सन् १९९० पश्चात् कम्प्युटर ,मोबाइल र अरु इलेक्ट्रोनिक सामान निर्यात गर्न थाल्यो। सन् २००६ मा चीन क्यानडापछिको अमेरिकाको दोस्रो ठूलो व्यापारिक साझेदार बन्यो। सन् २००८ मा आर्थिक मन्दीसँग लड्न चीनले अमेरिकालाई ७०० अरब डलर दियो र अमेरिकाको सबैभन्दा ठूलो दाता बन्यो। सन् २००९ मा जर्मनी लाई उछिनेर चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बन्यो।सन् २०१० मा चीनले जापानलाई उछिनेर दोस्रो ठूलो अर्थतन्त्र बन्यो। सन् २०११ मा चीनसँगको अमेरिकी व्यापार घाटा २९५.५ अरब डलर पुग्यो। व्यापारघाटा बढ्दै जानु, चीनलाई तिर्नु पर्ने रिन थपिदै जानु अमेरिकाको निमित्त निश्चय नै टाउको दुखाइको विषय बनेको छ ।

    बाराक ओबामाको पालादेखि अमेरिका चीन सम्बन्धमा तुलनात्मक रुपमा बढी दबाब देखिन थाल्यो। सन् २०१६ मा राष्ट्रपति चुनावको उम्मेदवारको रुपमा बोल्ने क्रममा निउ ह्याम्पशायरको एक र्यालीमा डोनाल्ड ट्रम्पले भने- चीनलाई हाम्रो मुलुकमाथि थप अरु बलात्कार गर्ने अनुमति दिन सकिँदैन।  उनका अभिव्यक्तिहरु पिटर नावारोद्वारा लिखित पुस्तक 'चीनद्वारा मृत्यु' बाट प्रभावित जस्ता देखिन्छन् । सन् २०१८ को मार्चमा ट्रम्पले ट्विट गरे- व्यापार युद्धहरु नै सहि छन् र जित्नलाई सजिलो पनि ।

    सोही वर्षको अप्रीलमा अमेरिकी विदेश मन्त्रालयकि एक अधिकारी 'किरोन स्किन्नर'ले भनिन- यो लडाइँ निश्चय नै फरक सभ्यतासँग हो। पहिलोपटक हाम्रो ठूलो शक्ति प्रतिस्पर्धी ककेसियन नभएर अरु नै छ। उनले पछि मन्त्रालय छाडिन ,सायद हटाइयो। सन् २०१९ को अक्टोबरमा आफ्नो पुस्तक 'ट्रम्प भर्सेस चीन'माथि चर्चा गर्दै गिङरिचले भने- यदि हाम्रा पनाति पुस्ताले चिनियाँ भासा बोल्न नपरोस् र बेइजिङको आदेश पालना गर्न नपरोस् भन्ने चाहानुहुन्छ भने यो शिर्षकमाथि राष्ट्रव्यापी सम्वाद शुरु गरौं।

    'चीन ब्रीटिश साम्राज्य, नाजी जर्मनी र सोभियत संघभन्दा हाम्रो लागि ठूलो खतरा हो।' सोही महिनामा आयोजित एक कार्यक्रममा विश्व राजनीति प्रतिस्ठानका अध्यक्ष जोन लेन्झोस्कीले चिनियाँ खतरासँग जुझ्न अमेरिकाले नयाँ रणनीति विकास गर्नुपर्ने बताए। अमेरिकाले चीनलाई २२५ करोड देखि ६०० करोड बराबरको बौद्धिक सम्पत्ति वार्षिक रुपमा चोर्दै आएको आरोप पनि लागाएको छ। चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिवप्रती पनि अमेरिका सकारात्मक छैन। अमेरिकी लेखन ,साहित्य सबै चीन विरुद्ध सोझिएको छ। डिन कुन्जको उपन्यास 'अध्यारोका आँखाहरु' मा वुहान भाइरसको आजभन्दा बाह्र वर्ष पहिले उल्लेख गरिनु, राष्ट्रपित डोनाल्ड ट्रम्पले र विदेशमन्त्री माइक पेम्पेओले कोरोनालाई 'चिनियाँ भाइरस भन्नु' आदि एउटा योजना तहमा प्रचार गरिएको भनेर चिनियाँहरु बुझ्दछन्। इण्डोप्यासिफिक रणनीतिलाई पनि धेरैले चीन घेर्ने रणनीतिका रुपमा बुझ्दछन।

    हावर्ड विश्वविद्यालयका अर्थशास्त्री रिचर्ड बि फ्रीम्यानका अनुसार चीनले विकासोन्मुख देशको सूचीमा रहेर धेरै कम ज्याला र उच्च प्रविधिको साथ विकसित देशहरुसँग प्रतिस्पर्धा गरिरहेको छ। कम ज्याला र उच्च प्रविधिको संयोजन अमेरिकाको लागि चुनौती हो। अमेरिकीहरु आजभोलि आफ्नो आम्दानीको ठूलो हिस्सा चिनियाँ सामानमा खर्च गर्छन् । अमेरिकामा पचास लाख चिनियाँ मुलका मानिसहरु बसोबास गर्दछन। चीनमा झन्डै सत्तरी हजार अमेरिकी कम्पनीहरु काम गरिरहेका छन् । माइक्रोसफ्टको अमेरिकापछी बेइजिङमा ठूलो प्रयोगशाला छ। चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरु अमेरिकी अधिकारीहरुसँग भन्छन्- हाम्रो केही अंश तपाईभित्र छ भने सोही अनुरुप तपाईं पनि हामिभित्र हुनुहुन्छ । यालेका इतिहासकार एर्ने वेस्टाड 'विदेश मामिला' मा लेख्छन् - अमेरिकाले चीनसँगको सम्बन्ध बिगार्दा त्यसको दुरगामी प्रभाव पर्दछ । चीन सोभियत संघजस्तो अमेरिका विघटनको पक्षमा देखिदैन। शिङहुवा विश्वविद्यालयका विदेश मामिला जानकार यान सुएतोङ भन्छन्- अमेरिका र सोभियत संघको सम्बन्ध एउटा वास्केटमा दुई वटा अण्डा जस्तो थियो भने अमेरिका र चीनको सम्बन्ध एउटा अण्डाभित्रको जुम्ल्याहा पहेलो भाग जस्तो छ। यसको अर्थ चीनमा राज्य नियन्त्रीत पुँजीवादले पनि अमेरिकाको जस्तै आर्थिक असमानता निम्त्याइरहेको छ भन्ने पनि हो।

    xi trump.jpg

    इटालीको अन्तर्राष्ट्रिय मामिला प्रतिस्ठानका निर्देशक 'नाथाली टोस्सी' कोरोना महामारी प्रकरणमा अमेरिकाको अन्तर्राष्ट्रिय अनुपस्थितिप्रती आश्चर्य प्रकट गर्दछन। अमेरिका कोरोना महामारीबाट थलिएका आफ्ना सहयोगीहरुको दैलोमा गएन। बरु चीन पुग्यो। आफुमाथि लगाइएको प्रतिबन्धको समर्थन गर्ने इटालीमा सानो देश क्युवा पुग्यो। विश्व चर्चित लेखक हरारे अमेरिकाको अनुपस्थिती र आफ्ना सहयोगीप्रतीको उदासिनतालाइ पुँजीवादप्रतिको खतरा ठान्छन् र पुँजीवादलाई मर्नबाट जोगिन मानवीय बन्न आग्रह गर्दछन। अमेरिका स्वयं पुँजीवादको नाफामुखी प्रजातन्त्रबाट आज पीडित भएको छ। न्युयोर्कमा बस्ने खरबपतीहरु अस्पतालमा न्युयोर्कवासीहरु मृत्युले छटपटिदा समेत सरकारलाई सहयोग गर्न तयार छैनन् । हरेक ठाउँमा, विषयमा नाफा खोज्ने पुँजीवादले आफ्ना नागरिकको मृत्युमा समेत नाफा देख्नुलाई अस्वभाविक मान्न सकिँदैन। सायद यहि भएर होला सन् २०१६ मा हावर्डको राजनीतिक प्रतिस्ठानले गरेको एक सर्वेक्षणमा १८ देखि २९ बर्ष समुहका अमेरिकी नागरिकहरुमध्ये १९ प्रतिशतले मात्रै आफू पुँजीवादी भएको स्विकारे भने ४२ प्रतिशतले पुँजीवादलाई समर्थन गर्ने बताए। लेखक स्टेवेन पिअर्ल्स्टिनले आफ्नो पुस्तक 'के अमेरिकी पुँजीवाद बाँच्न सक्छ' मा भन्छन्- पुँजीवाद मरिसकेको त छैन तर यसलाइ स्वयं आफैबाट जोगाउन धेरै ढिला भैसकेको छ।' पुँजीवादको विकल्प समाजवाद मात्र हुन सक्छ। अफिम युद्धदेखि आजको व्यापार युद्धसम्मको यात्राबाट चीन र अमेरिकाले विश्वलाई यहि पाठ सिकाएका छन् ।

    सन्दर्भ सामाग्रीहरु
    १ न्युयोर्क टाइम्स , जुन २८ ,१९९७
    २ वोक्स डट कम ,फेब्रुअरी २६ ,२०१९
    ३ हिस्ट्री डट कम, इरिन ब्लाकेमोर
    ४ द न्युयोर्कर ,जनवरी ६ ,२०२०
    ५ द एटलान्टिक,जुन २५ ,२०१९

    प्रतिक्रिया
    सम्बन्धित समाचार