Naya Samaj: Nepal's Digital Portal
  • बिहिवार, जेठ २२ गते २०७७
  • Jun 04 2020 Thursday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

बुद्ध दर्शनका विशेष योगदानहरु

बुद्ध दर्शनका विशेष योगदानहरु

  • सोमवार, चैत्र १० २०७६

  • श्याम श्रेष्ठ


  • निर्वाणको अवधारणा

    चार आर्यसत्यलाई स्वीकार गरेर अष्टाङ्गमार्ग अपनाएर प्राप्त हुने कुरा बुद्धको विचारमा निर्वाण हो । ‘निर्वाण’ शब्दको तात्पर्य निभ्नु हो । बुद्धले ‘निर्वाण’ भनेर त्यस अवस्थालाई भन्नुभएको छ , जहाँ मान्छेमा तृष्णा क्षीण भयो , राग , द्वेष , मोह बाँकी रहेन , ती सबै बत्तीझैँ , आगोझैँ , बल्दाबल्दै निभे । जब तृष्णा निभ्छ , राग , द्वेष , मोह र भोगको इच्छा निभ्छ , जन्म–पुनर्जन्मको इच्छा पनि निभ्छ , मान्छेको धर्तीमा आवागमन गर्ने र दुःख भोग्ने प्रक्रियको पनि अन्त्य हुन्छ भन्ने बुद्धको धारणा देखिन्छ । ठीक यही अवस्थाको नाम ‘निर्वाण’ हो ।

    bhudd.jpg

    बुद्धको प्रगतिशीलता केमा देखिन्छ भने तत्कालीन उपनिषदहरुले र पण्डा पुरोहितहरुलेझैँ मरेपछिको स्वर्गमा बुद्ध विश्वास गर्नुहुन्नथ्यो । बुद्धले भनेको निर्वाण यहीँ र अहिल्यै व्यक्ति जीवित रहँदै प्राप्त गर्न सकिने कुरो हो , यो मरेपछिको स्वर्ग होइन । हरेक व्यक्ति लगातारको साधनाबाट जब सबै किसिमका तृष्णा वा आसक्तिबाट मुक्त हुन्छ , अस्तित्वको स्वभावसम्बन्धी अज्ञानता (बुद्धको शब्दमा अविद्या) बाट मुक्त हुन्छ , उसले यहीँ र अहिल्यै ‘निर्वाण’ प्राप्त गर्नसक्छ , ‘निर्वाण’ त्यो अवस्थाको नाम हो , जहाँ व्यक्तिले प्रयत्न गरेर आफूभित्र दुःखको जरो कारण निमिट्यान्न पार्छ । हामीले पटक पटक भनिसकेका छौँ – बुद्धको ठम्याइमा दुःखको जरो कारण भनेको तृष्णा र आसक्ति हो , अविद्या हो । जुन व्यक्तिले निर्वाण प्राप्त गर्छ , त्यसले सदासर्वदाको लागि धर्तीमा आइरहनुपर्ने , अस्तित्वमा रहिरहनुपर्ने र दुःख पाइरहनु पर्ने जस्ता बन्धनबाट मुक्ति प्राप्त गर्छ । जसले निर्वाण प्राप्त गर्छ , त्यसलाई बुद्धको शब्दमा ‘अर्हत्’ भन्ने गरिन्छ । ‘अर्हत’ को अर्थ हो – योग्य , पवित्र वा आदरणीय ।

    ‘निर्वाण’ शब्दको अर्थलाई लिएर बुद्ध धर्मका पक्षपोषक र विरोधीहरु दुवैथरी बीच ठूलो विवाद देखिन्छ । एकथरि यस्ता छन् जो ‘निर्वाण’ को शाब्दिक अर्थ निभ्नु हो भन्ने व्याख्यालाई आफ्नो ढंगले विस्तार गर्दै निर्वाणको तात्पर्य त्यसैले अस्तित्वको अन्त वा विनाश हो भनेर भन्छन् । बुद्धले ‘निर्वाण’ मार्फत् मान्छेलाई आफ्नो अस्तित्व नै निभाउन वा समाप्त गर्न सिकाउनु भयो भन्ने उनीहरुको तात्पर्य देखिन्छ । तर प्रारम्भिक बुद्ध धर्मका अहिलेसम्म उपलब्ध सामग्रीहरु हेर्दा निर्वाणको त्यस्तो विनाशकारी नकारात्मक अर्थ भएको देखिँदैन । बुद्ध स्वयंले आफ्नै जीवनकालमा निर्वाण प्राप्त गर्नुभएको देखिन्छ । बुद्धका अनुसार निर्वाणको अर्थ व्यक्तिको अस्तित्वको समाप्ति होइन , न त निर्वाणको अर्थ अस्तित्वको बत्ती निभ्नु वा मृत्यु हुनु हो । निर्वाणको अर्थ मान्छेमा सम्पूर्ण इच्छाहरु र आसक्तिहरुको समाप्तिको अवस्था हो , जुन स्थितिमा पुग्दा व्यक्तिमा दुःख र दुःखको कारण रत्तिभर बाँकी रहँदैन, जन्म–पुनर्जन्मको इच्छा र आवश्यकता बाँकी रहँदैन । निर्वाणको अर्थ निभ्नु त निभ्नु नै हो , तर मान्छेको अस्तित्व नै निभ्नु होइन , बरु उसका कामना र इच्छाहरु निभ्नु हो , कुनै पनि कुराप्रतिको मोह वा आसक्ति निभ्नु हो , त्यो प्राप्त नहुँदा हुने द्वेष निभ्नु हो । सारमा, निर्वाणको अर्थ बुद्धको विचारमा दुःखको जरो कारण निभ्नु हो । यो भनेको मान्छेमा पूर्ण होश , शान्ति र समत्वको अवस्था हो । उहाँका अनुसार निर्वाणको अर्थ व्यक्तिको मृत्यु वा अस्तित्वको समाप्ति होइन , यो मान्छेको जीवनकालमै शील , समाधि र प्रज्ञामार्फत् यहीँ र अहिल्यै हरेक व्यक्तिले आफ्नो लगातारको साधनाबाट हाँसिल गर्नसक्ने कुरो हो । यो व्यक्ति वा व्यक्तित्वको मृत्यु होइन , यो व्यक्तिमा सबै किसिमको अहंकार र मोहको मात्र मृत्यु हो । यो अविद्या वा अज्ञानताको मात्र मृत्यु हो ।

    बुद्धको जीवनकालमै उहाँका शिष्यहरुद्वारा बुद्धलाई सोधियो – जसले निर्वाण प्राप्त गर्छ त्यो मान्छे मृत्युपछि अस्तित्वमा रहन्छ कि रहँदैन ? बुद्धले यो प्रश्नको जवाफ दिन नै इन्कार गर्नुभयो । यो प्रश्नको जवाफमा उहाँले पूरै मौनता साध्नुभयो । यो मौनताको अर्थ बुद्धको अज्ञानता भन्ने देखिन्न , बरु यस्ता प्रश्नहरुमा छलफल केन्द्रित गर्नु नै बेकार छ र यो समयको खेरो र बुद्धि विलास मात्रै हुन्छ भन्ने उहाँको धारणा देखिन्छ । अरु थुप्रै यस्तै सैद्धान्तिक–दार्शनिक प्रश्नहरुमा पनि बुद्धले हमेशा बुद्धिविलास र व्यर्थको बहसलाई निरुत्साहित पार्न खोजेको भेटिन्छ । बुद्ध यस मामलामा व्यवहारनिष्ठ हुनु भएको देखिन्छ । तिनै सवालमा उहाँले छलफललाई प्रोत्साहित गर्नु भएको देखिन्छ , जसले दुःखबाट तत्काल मुक्ति दिलाउन व्यक्तिलाई मद्दत गर्छ ।

    बुद्धले भन्नुभएको ‘निर्वाण’ को तात्पर्य ध्यान वा समाधिमा लीन भएर विश्व र समाजबाट अलग्गै बस्नु हो । पूर्णत ः निष्क्रिय र समाजका ओराली – उकालीप्रति बेमतलब हुनु हो भनेर अर्थ लगाउनेहरु पनि एकथरि छन् । यो ‘निर्वाण’ बारे गलत र भ्रमपूर्ण बुझाइ हो । बुद्ध स्वयंको जीवन यसको सबैभन्दा ठूलो प्रमाण हो । उहाँको बुद्धत्व प्राप्त गरेको दिन देखि मृत्युको घडीसम्म पूरै ४५ वर्ष कहिल्यै निष्क्रिय र समाजप्रतिको बेसरोकारका जीवन बिताउनुभएको देखिँदैन । बुद्धत्व प्राप्त गर्नासाथ ध्यानमा लीन भएर निष्क्रिय जीवन बिताउनुको सट्टा तत्काल समाजमा पुग्दै दुःख व्यहोरिरहेका सबै फाँटका अनगिन्ती मान्छेहरुबीच प्रत्यक्ष संवाद गर्दै उनीहरुलाई दुःखबाट मुक्त हुन अमूल्य सल्लाह , सहायता र शिक्षा दिँदै मानिसहरुमा जागरण ल्याउनमा उहाँले अत्यन्त सक्रिय भूमिका खेल्नुभएको देखिन्छ । विष शरीरमा फैलिनाको कारणले जलन भएर आफू अब मर्ने भनेर घोषणा गरेर अन्तिम सुताइ सुतिसकेपछि पनि शिक्षाका लागि उहाँलाई खोज्दै एकजना मान्छे उहाँको मृत्युशैयानिर भौँतारिँदै आइपुगेको उहाँले चाल पाएपछि फेरि जागृत मृत्यु निद्राबाट ब्युँझेर उसलाई अन्तिम शिक्षा दिएको ज्वलन्त उदाहरण बुद्ध स्वयंको जीवनमा भेटिन्छ । यी जम्मै यथार्थहरु केलाउँदा बुद्धले भन्नुभएको निर्वाणको अर्थ पूर्ण निष्क्रियता हो , विश्व र समाजप्रति बेसरोकार हुनु हो भन्नु पूर्णतया गलत र भ्रामक कुरा हो ।

    निर्वाण प्राप्त गर्नुको तात्पर्य निष्क्रिय र समाजप्रति बेसरोकार हुनु होइन , व्यक्ति आफू अज्ञानता र दुःखको जरो कारणबाट मुक्त हुनु हो र समाजलाई पनि त्यही बाटोबाट दुःखबाट मुक्त गर्न क्रियाशील हुनु हो । यो समाजबाट अलग्गिँदै ध्यानमा मात्र लीन हुँदै जोगी वा साधुको जीवन जीउनु होइन । निर्वाण प्राप्त गरेको व्यक्ति भनेको आसक्ति , अहंकार र अज्ञानताबाट मुक्त जागृत मान्छे हो र उसको काम भनेको समाजका तमाम दुःखी मान्छेलाई पनि आफूले अपनाएकै बाटो अपनाएर दुःखबाट मुक्त जागृत मान्छे बनाउन सहायता गर्नु हो । ध्यान त्यसको लागि साधन मात्रै हो , त्यो आफैँ साध्य होइन ।

    बुद्धका दार्शनिक विचारहरु

    क्षणिकवाद

    बुद्धको शिक्षाको एउटा सबैभन्दा महत्वपूर्ण पक्ष हो – क्षणिकवाद । संसारमा कुनै पनि कुरा स्थिर र स्थायी छैन , हरेक कुरा परिवर्तनशील अनित्य छ भन्ने बुद्धको शिक्षाको एउटा मुख्य सार थियो । बुद्धको विचार थियो – जुन कुराको जन्म हुन्छ , त्यसको मृत्यु पनि हुन्छ । जुन कुराको शुरु हुन्छ , त्यसको अन्त्य पनि हुन्छ । जहाँ मिलन हुन्छ , त्यहाँ विछोड पनि हुन्छ । जुन कुरा अस्तित्वमा आउँछ , त्यो अस्तित्वबाट जान्छ पनि , जहाँ उत्पत्ति हुन्छ , त्यहाँ विनाश पनि हुन्छ । यी सबै कुराको परिप्रेक्ष्यमा अस्थायित्व र परिवर्तन सम्पूर्ण अस्तित्वको आधारभूत विशेषता हो । ( हेर्नुहोस् ः सत्युक्त– निकाय– ३.६६ , मिलिन्द प्रश्न– २५ , २८ , विशुद्धिमाग्ग अध्याय – १७ , महानिदाससन्सुत्त– दीघ्घ निकायको – अंग्रेजी अनुवाद , पृष्ठ १३५– १३७) ।

    बुद्धका यी विचारहरु नितान्त द्वन्द्ववादी छन् । माक्र्स एंगेल्सले ग्रीक दार्शनिक हेराक्लिटस्का यस्तै विचारहरुलाई आदिम द्वन्द्ववादी चिन्तनको भू््रण भन्ने नाम दिनुभएको थियो । तर बुद्धका विचारहरु हेराक्लिटसभन्दा पनि केही पुस्ता अगाडिका देखिन्छन् । यस हिसाबले बुद्धका यी विचारहरुलाई आदिम द्वन्द्ववादको अहिलेसम्मको थाहा भएको पहिलो भू्रण विचार भनेमा अत्युक्ति हुँदैन । बुद्धका त्यति उपलब्ध नहुनाले त्यतिखेर प्राप्त साहित्यका आधारमा माक्र्स , एंगेल्सले हेराक्लिटसको विचारमा आदिम द्वन्द्ववादको पहिलो किरण देखेको हुन सम्भव छ । अन्यथा वैज्ञानिक चिन्तन र सत्यका त्यति महान् पक्षपोषकहरुले यो मामलामा गल्ती गर्नु सम्भव थिएन ।

    बुद्धका अनुसार प्रत्येक वस्तुको त्यही क्षण उत्पत्ति पनि भइरहेछ , विनाश पनि भइरहेछ । संसारमा कुनै पनि वस्तु एक क्षण पनि उस्ताको उस्तै बसिराख्दैन । यो लगातार बदलिरहन्छ । बदलाहटको प्रक्रिया नै वस्तु हो । आत्मा र भौतिक जगत दुवै लगातार बदलिरहन्छन् । स्थायी आत्मा भन्ने संसारमा कुनै कुरा छैन । बुद्धको यो विचार उपनिषदहरुमा विद्यमान स्थायी आत्माको अवधारणाभन्दा विल्कुल विपरीत देखिन्छ ।

    बुद्ध भन्ने गर्नुहुन्थ्यो , “यो संसार प्रायः ‘यो छ’ र ‘यो छैन’, यस्तो द्वैतमा चल्ने गर्छ । तर हे कच्चान , संसारमा वस्तुहरुको उत्पत्ति कसरी हुन्छ भन्ने कुरालाई जो सत्य र विवेकका साथ हेर्ने गर्छ , उसको दृष्टिमा यो संसारमा ‘यो छैन’ भन्ने कुरा छैन । हे कच्चान , यो संसारमा वस्तुहरु कसरी नष्ट हुन्छन् भन्ने कुरालाई जो सत्य र विवेकसाथ हेर्ने गर्छन् उनीहरुको दृष्टिमा ‘यो छ’ भन्ने कुरा छैन । ( हेर्नुहोस् ‘भारतीय दर्शनकी रुपरेखा’ नामक पुस्तकमा एम हिरियन्नाद्वारा उद्धृत अंश , पृष्ठ १४२÷१४३) एम. हिरियन्नाका अनुसार बुद्धका अनुसार सत्य न त सत् हो , न त असत् , यो परिवर्तन हो ।

    बुद्धका यी विचारहरुले कुनै पनि वस्तु उही समयमा छ पनि र छैन पनि भन्ने द्वन्द्ववादी धारणालाई निक्कै राम्ररी अभिव्यक्त गरेका छन् । संभवतः भारतीय दर्शनमा मात्र होइन, विश्व दर्शनमै यो आदिम द्वन्द्वात्मक चिन्तनको पहिलो किरण थियो । तर यो कुनै वैज्ञानिक खोजबाट निक्लेको विचार थिएन , तत्कालीन पण्डा पुरोहितवाद र उपनिषद्हरुविरुद्ध संघर्ष गर्दा निक्लेको धार्मिक प्रतिक्रिया मात्रै थियो ।

    हामीले प्रारम्भमै बुद्धको प्रतीत्य समुत्पादको मौलिक सिद्धान्तबारे पर्याप्त चर्चा गरिसकेका छौँ । बुद्धको क्षणिकवाद यही प्रतीत्य समुत्पादको सिद्धान्तमा आधारित देखिन्छ ।

    मूल्याङ्कन मासिक वर्ष २१ , पूर्णाङ्क १०५ , माघ फागुन २०५९ मा प्रकाशित

    प्रतिक्रिया
    सम्बन्धित समाचार