Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

पूर्वको भौतिकवादी दर्शनः सांख्य दर्शनको चिरफार

पूर्वको भौतिकवादी दर्शनः सांख्य दर्शनको चिरफार

  • शुक्रवार, चैत्र ७ २०७६

  • प्रज्ञानरत्न


  • ज्ञान सिद्धान्त

    कस्तो छ सांख्य दर्शनको ज्ञान सिद्धान्त ?

    सांख्य दर्शनका अनुसार इन्द्रियहरु , मन र महत ज्ञानका गाडीहरु हुन् , यिनै गाडी चढेर मान्छे ज्ञानको ढोकामा पुग्दछ ।

    वस्तु र इन्द्रियहरुको मिलन भएपछि अनुभूति र प्रभाव पैदा हुन्छ । मीठोे अनुभूति , तीतो अनुभूति , सुखद अनुभूति , दुःखद अनुभूति सबै इन्द्रियहरु र वस्तुहरुको संयोगबाटै पैदा हुन्छ । नून भन्ने वस्तुसित जिब्रोको मिलन भएपछि नूनिलो अनुभूति पैदा हुन्छ ।

    सांख्य दर्शनका अनुसार , मनको काम चाहिँ अनुभूति र प्रभावहरुको विश्लेषण गर्नु हो र विश्लेषणको निचोड महत अर्थात् बुद्धिसमक्ष पुर्याउनु हो । महत अर्थात् बुद्धि भनेको भौतिक कुरो हो । त्यसैले , महतसित चेतना हुँदैन र यो आफैँले ज्ञान पैदा गर्दैन । परन्तु महत खासगरी , सात्विक गुण भएको कुरो भएकोले महतसित चेतना जोडिएपछि बल्ल ज्ञान पैदा हुन्छ । बल्ल अनुभूति ज्ञानमा बदलिन्छ ।

    उदाहरणको लागि , एउटा निष्पट्ट अँध्यारो कोठा छ । कोठामा अति सुन्दर गुलाफको फूल छ , फूलको अगाडि ऐना छ । सांख्य दर्शनका अनुसार ऐना हुँदैमा अँध्यारो कोठाको ऐनामा फूल देखिन्न । त्यो देखिनको लागि बत्तीको प्रकाश जरुरी हुन्छ । जब बत्ती बल्छ , बल्ल ऐनामा गुलाफको फूल देखिन्छ । ठीक त्यस्तै , महत भनेको ऐना हो , यो एउटा अचेत भौतिक वस्तु हो , जसको प्रतिबिम्ब उतार्ने गुण त छ , तर यो आफैँसित भने प्रकाश छैन , र ज्ञानको लागि प्रकाश नभई हुँदैन । त्यो प्रकाश भनेको पुरुष हो अर्थात् शुद्ध चेतना । महतसित पुरुषको वा चेतनाको मिलन भएपछि बल्ल ज्ञान हुन्छ ।

    एउटा मान्छे जाँड खाएर फोहर नालीमा मुख जोतेर लेटिरहेछ । उसको नाक त्यतिखेर खुलै हुन्छ , परन्तु नाकमा गन्दा नालीको दुर्गन्धले स्पर्श गर्दैमा जाँडले बेहोश भएको त्यो मान्छेलाई दुर्गन्धको ज्ञान भइहाल्दैन । सांख्य दर्शनका अनुसार , दुर्गन्धको ज्ञान हुनको लागि उसको इन्द्रियको संवेदना , मनको विश्लेषण र बुद्धिसित होश जोडिनु जरुरी हुन्छ । इन्द्रिय , मन र महतासित जो होश जोडिएपछि बल्ल थाहा वा ज्ञान हुन्छ ।

    त्यसैले सांख्य दर्शनका अनुसार इन्द्रियहरुमार्फत् संवेदना हुनु नै ज्ञान हुनु होइन , न त मनले तर्क वा विश्लेषण गर्नु नै ज्ञान हुनु हो । ज्ञानको लागि मन र बुद्धिको साथसाथै होशको जरुरत हुन्छ , जहाँ होश वा चेतना हुँदैन त्यहाँ ज्ञान असम्भव हुन्छ । खालि बुद्धि हुँदैमा ज्ञान हुँदैन । ज्ञान हुनका लागि बुद्धि र चेतनाको मिलन हुनुपर्छ ।

    सांख्य दर्शनमा बुद्धि एक्लै पनि ज्ञाता होइन , चेतना वा पुरुष एक्लै पनि ज्ञाता होइन , दुवै मिलेपछि बल्ल मान्छे ज्ञाता हुन्छ । चेतना वा पुरुषको प्रकाश बुद्धिमा परेपछि बल्ल ज्ञान हुन्छ ।

    सांख्य दर्शनले इन्द्रिय , मन र महत अर्थात् बुद्धिलाई प्रकृतिबाट उत्पन्न भएको ठान्दछ र प्रकृतिकै कोटीमा राख्दछ । त्यसैले , सांख्य दर्शनको ज्ञान–सिद्धान्तका अनुसार प्रकृति र पुरुषको मिलनबाट मात्रै ज्ञान आउँछ । ज्ञानका निम्ति प्रकृति र पुरुष एक आपसमा सहायक हुन् । न त प्रकृति एक्लैबाट ज्ञानको प्रादुर्भाव हुन्छ न पुरुष एक्लैबाट । दुवैको संयोगबाट मात्रै ज्ञानको प्रादुर्भाव हुन्छ ।

    सांख्य दर्शनको ज्ञान–सिद्धान्त कहाँनेर भौतिकवादी देखिन्छ भने यसले चेतनाभन्दा स्वतन्त्र रुपले बाहिर रहेका वस्तुहरुको अस्तित्वलाई मान्दछ । हाम्रो चेतनामा प्रतिबिम्बित हुने वस्तुहरु , तिनका गुणहरु र सम्बन्धहरु तिनै प्रकृति वा बाहिरी संसारमा वस्तुहरु , तिनका गुणहरु र सम्बन्धहरु नै हुन् भन्ने कुरा यसले मान्दछ । ज्ञान भनेको आत्मगत कुरो होइन , यसको वस्तुगत आधार हुन्छ भन्ने कुरा सांख्य दर्शनले स्वीकार्छ ।

    तर सांख्य दर्शनको यो ज्ञान–सिद्धान्त अविचलित रुपमा भौतिकवादी भने हुन सकेको छैन, किनकि यसले चेतनालाई भौतिक संसारको ऐतिहासिक विकासको उपज ठान्दैन । चेतनालाई यसले प्रकृतिसरह नै आफैँ पैदा भएको र जहिले पनि स्वतन्त्र अस्तित्वमा रहेको कुरो ठान्दछ , यदि त्यसो हो भने धेरै पहिले संसारमा जीवित भन्ने कुनै वस्तु नै अस्तित्वमा नहुँदा पनि चेतनाको अस्तित्व थियो त ? के त्यतिखेर पनि ज्ञान र ज्ञाता भन्ने कुरा थियो त ?

    साख्य दर्शनको प्रस्थापना छ– थियो ।

    यो प्रस्थापना विज्ञानसम्मत वस्तुगत र यथार्थमा आधारित देखिन्न । र , यो प्रस्थापना ‘प्रकृति नै प्राथमिक हो , चेतना त्यसको उपज हो’ भन्ने भौतिकवादको मूल प्रस्थापनाको विपरीत हुन गएको छ । सांख्य दर्शनको भौतिकवादमा यहीँनेर विचलन आएको देखिन्छ ।

    तथापि , सांख्य दर्शनको ज्ञान हुनको लागि प्रकृति र चेतना दुवैमा संयोग हुनुपर्छ भन्ने अवधारणा भने एकदम सही देखिन्छ । यसले कम से कम , वस्तु जगत र आत्मिक जगत , पदार्थ र ज्ञान अलगथलग कुरा होइनन् , यी अन्र्तसम्बन्धित कुरा हुन् , दुवैको अन्र्तसम्बन्धबाट मात्र ज्ञान पैदा हुन्छ भनेर ज्ञानका बारेमा द्वन्द्वात्मक धारणा नै प्रस्तुत गरेको पाइएको छ । यसरी सांख्य दर्शनको ज्ञान सिद्धान्त भौतिकवादी द्वन्द्ववादको निकै नजिक आएको , तर अविचलित रुपमा भौतिकवादी द्वन्द्ववादी हुन नसकेको देखिन्छ ।

    मान्छे मान्छेका कुरा बीच सहमति र असहमति किन हुन्छ ? यस बारेमा पनि सांख्य दर्शनको व्याख्या निकै चाखलाग्दो र घतलाग्दो देखिन्छ । सांख्य दर्शनको प्रस्थापना छ– संसारका वस्तुका अनेकौँ पक्षहरु , गुणधर्महरु र सम्बन्धहरु हुन्छन् । संसार त्यस्तै वस्तुहरुद्वारा बनेको छ । तथापि ज्ञाता अथवा संसार थाहा पाउन खोज्ने कर्ताले ती पक्षहरु , गुणधर्महरु र सम्बन्धहरुमध्ये केहीमा मात्र ध्यान दिन्छ । बाँकीलाई उपेक्षा गर्छ । विभिन्न व्यक्तिले यथार्थलाई विभिन्न ढंगबाट हेर्छन् । उनीहरुको सोच र ढंगमा रहेको भिन्नताले गर्दा एउटै सवालमा पनि मतभेद हुने गर्छ । यति मात्र हैन , एउटै मान्छेले पनि अलगथलग समयमा अलगअलग ढंगले संसारलाई हेर्ने गर्छ । ( हेर्नुहो: Fundamentals of Indian Philosophy by R. Purigandla Abingdon Press, New York, 1975 , Page 129 )

    एउटा मान्छेले विभिन्न समयमा संसारलाई कसरी हेर्छ भन्ने कुरा थुप्रै कुरामा निर्भर गर्छ । तीमध्ये प्रमुख कारक तत्व हो –उसको विगत अस्तित्व । अर्थात् ऊ यसअघि कसरी बाँचिरहेथ्यो भन्ने कुरा । ( हेर्नुहोस् उही पृष्ठ १२९ नै )

    मान्छेको विगत अस्तित्वले उसको दृष्टिकोण र सोच निर्माण गर्छ भन्ने सांख्य दर्शनको यो अवधारणा ऐतिहासिक भौतिकवादसित ठ्याक्कै मेल खान्छ ।

    सांख्य दर्शनको धारणा के छ भने , मान्छे मान्छेका बीचमा सहमति यस कारणले हुन्छ कि विभिन्न मान्छेहरुका इन्द्रियहरु , मनहरु , अहंकार र बुद्धि एउटै प्रकृतिबाट पैदा हुन्छ । मान्छे मान्छे बीचका असहमतिहरु चाहिँ भिन्नाभिन्नै मान्छेहरुलाई गाँजिरहेको अज्ञानताको मात्रा र स्वरुपमा रहने भिन्नताले गर्दा हुन्छ । ( हेर्नुहोस् उही पृष्ठ)

    अज्ञानताको मात्रा र स्वरुपले नै असहमति वा मतभिन्नता हुन्छ भन्ने सांख्य दर्शनको धारणा विल्कुलै भौतिकवादी देखिन्छ ।

    सांख्य दर्शनको ठम्याइमा भ्रम कुनै वस्तुको बारेमा रहेको अज्ञानताले पैदा हुन्छ । ( हेर्नुहोस् , भारतीय दर्शनकी रुपरेखा , एम. हिरियन्ना , राजकमल प्रकाशन , नयाँ दिल्ली , १९९७ , पृष्ठ २८८) । मान्छेमा कुनै पनि वस्तुको ज्ञानमा अपुर्णता रहनु सामान्य दोष हो , यो जो कोहीमा पनि हुन्छ । सांख्य दर्शनको मुताविक अपूर्ण ज्ञानलाई पूर्ण ठान्नु नै जीवनको अधिकांश गडबडीको मूल कारण हो । दुई जना मान्छे कुनै खास वस्तुको बारेमा असहमत हुन सक्छन् । जब कि आंशिक रुपमा दुवैको मत सही हुन सक्छ । दुवैका बीचमा असहमतिको कारण यो हुन्छ कि प्रत्येक मान्छेले भ्रमवश आफूलाई नै पुर्ण सत्यको ज्ञाता ठानिरहेका हुन्छन् । ( हेर्नुहोस् उही पृष्ठ २८८) त्यसैले , सांख्य दर्शनका अनुसार भ्रम कुनै पनि वस्तुको यथार्थ थाहा नपाउनुबाट पैदा हुन्छ । सत्य कुनै पनि वस्तुको थाहा पाउनुबाट पैदा हुन्छ । अज्ञान नै भ्रमको मुहान हो , ज्ञान नै सत्यको मुहान हो । सांख्य दर्शनका मुताविक भ्रमको निवारण नै जीवनको मूल लक्ष्य हो ।

    सांख्य दर्शनले दुई प्रकारको भ्रमको उल्लेख गरेको छ – एक , एउटा वस्तु हुन्छ , त्यो वस्तुको एउटा सानो अंशको मात्र जानकारी प्राप्त गरिन्छ तर त्यही सानो अंशको आंशिक ज्ञानलाई पूरै वस्तुको ज्ञान ठानिन्छ । विभिन्न अन्धाहरुले हात्तीका विभिन्न अंग छामेर त्यही त्यही अंग नै हात्ती भन्ठानेजस्तै ।

    अर्को , वस्तु नै दुईटा भिन्नै हुन्छ । तर उनीहरुको बीचको भेदलाई उपेक्षा गरेर दुई भिन्न वस्तुलाई एउटै ठानिन्छ , चिचिन्डोलाई सर्प ठानेजस्तो । भ्रम दुई थरिको भए पनि त्यसको मूल कारण भने एउटै हो– वस्तुको अज्ञान । वस्तुको अज्ञान , वस्तुको मिथ्या ज्ञान वा अपूर्ण ज्ञान । त्यसैले, सांख्य दर्शनको सन्देश छ– टुक्रे ज्ञान वा मिथ्या ज्ञानबाट आफूलाई मूक्त गर , सत्य तिम्रो सामुन्ने आफैँ प्रकट हुनेछ ।

    भ्रम र सत्य सम्बन्धी सांख्य दर्शनको यो धारणा पनि बिल्कुलै भौतिकवादी देखिन्छ , किनकि यसले कुनै पनि वस्तुको पूर्णांगी ज्ञान र सही ज्ञान सम्भव छ भन्छ । यसले यो संसार ज्ञेय छ भन्छ । मान्छेले कोसिस ग¥यो भने मिथ्याबाट सही ज्ञानतिर , अपूर्ण ज्ञानबाट पूर्ण ज्ञानतिर अघि बढ्नु विल्कुलै सम्भव छ भन्छ । पर्याप्त ज्ञानको अभाव नै भ्रमको जरो हो भनेर यसले भन्छ । पर्याप्त ज्ञानको अभावलाई सांख्य दर्शनले दिएको सटिक शब्द छ– अख्याति ।

    सांख्य दर्शनको “अख्याति” सम्बन्धि धारणा पूर्वकै न्याय वैशेषिक दर्शनभन्दा बिल्कुलै भिन्न देखिन्छ । न्याय वैशेषिक दर्शनले “अन्यथाख्याति” अर्थात् विपरीत ज्ञानलाई नै भ्रमको मूल कारण ठान्दछ , सांख्य दर्शनले “अख्याति” अर्थात् अपर्याप्त ज्ञान वा अज्ञानलाई ।

    सांख्य दर्शनले तीन किसिमको प्रमाणसम्बन्धी धारणा अघि सारेको छ: अनुमान , शब्द र प्रत्यक्ष ।

    अनुमान र शब्द सम्बन्धी प्रमाण बारेको सांख्य दर्शनको धारणा न्याय वैशेषिक दर्शनसित पूरै मेल खान्छ । तर प्रत्यक्ष प्रमाणसम्बन्धी यसको धारणा भने भिन्नै छ ।

    यो छोटो लेखमा सांख्य दर्शनको प्रमाण अवधारणाबारे विस्तृतमा जानु सम्भव छैन । त्यसैले , अत्यन्त संक्षिप्तमा यसबारे बताउने जमर्को गरौँ ।

    सांख्य दर्शनमा अनुमानलाई त्यो परिस्थितिको प्रमाण ठानिएको छ , जब हामी कुनै घटना वा वस्तुबारे सबै कुरा जान्दैनौँ । हामीले थाहा पाएको वा अनुभूति गरेको , थोरै कुराका आधारमा हामीले थाहै नपाएको वा अनुभूति नै नगरेको कुराबारे केही भन्नु अनुमान हो । कुखुरा पनि हराउनु , स्याल पनि कराउनु एकै बेला पर्दा स्यालले नै कुखुरा लग्यो भन्नु अनुमान हो । धुवाँ आएको देखेर त्यहाँ पक्कै आगो लागेको छ भन्नु अनुमान हो । धुवाँ आएको देखेर त्यहाँ पक्कै आगो लागेको छ भन्नु अनुमान हो ।

    शब्द प्रमाण त्यतिखेर प्रमाणका रुपमा हुन्छ , जब अनुभूति र अनुमानबाट कुनै कुरा थाहा पाइन्न । शब्द प्रमाण भनेको बोलेको कुरालाई प्रमाण मान्नु नै हो ।

    प्रत्यक्ष प्रमाण भनेको आफैँले प्रत्यक्ष अनुभूति गरेको कुरालाई प्रमाण मान्नु हो । जस्तो – आफैँले देख्नु , आफैँले स्याउको स्वाद चाखी हेरेर स्याउको स्वाद यस्तो छ भनेर थाहा पाउनु ।
    सांख्य दर्शनको प्रमाणसम्बन्धी अवधारणा पनि भौतिकवादी उपायबाट ज्ञान प्राप्त गर्ने अवधारणाका रुपमा देखिन्छ ।

    मूल्याङ्कन मासिक वर्ष १७, पूर्णाङ्क ७१ कार्तिक–मंसिर÷२०५६

    प्रतिक्रिया
    सम्बन्धित समाचार