Naya Samaj: Nepal's Digital Portal
  • शुक्रवार, जेठ २३ गते २०७७
  • Jun 05 2020 Friday

BETA

images

Copyright ©

Site By: Sobiztrend Technology

दर्शनशास्त्रः अन्तर्वस्तु र रुप भनेको के हो ?

दर्शनशास्त्रः अन्तर्वस्तु र रुप भनेको के हो ?

  • बिहिवार, चैत्र ६ २०७६

  • नयाँ समाज


  • १) दार्शनिक प्रवर्ग, जसले प्राकृतिक तथा सामाजिक यथार्थका दुई पक्षहरुको परस्पर सम्बन्धलाई परावर्तित गर्दछ: वस्तु वा परिघटनाको निर्माण गर्ने तत्वहरु तथा प्रक्रियाहरुको विशेष रुपले व्यवस्थित योग, अर्थात् अन्तर्वस्तु, तथा यो अन्तर्वस्तु र यसका परिवर्तित रुपहरुको अस्तित्व र अभिव्यक्तिको विधि, अर्थात् रुप । रुपको अवधारणाको अन्तर्वस्तुको आन्तरिक संगठनको अर्थमा पनि उपयोग गरिन्छ र यस अर्थमा संरचनाको प्रवर्गमा यसको अगाडि विकास गरिन्छ ।

    पूर्वमाक्र्सवादी, विशेषगरी आदर्शवादी दर्शनमा रुपलाई संरचनासम्म सीमित गरिएको थियो र अन्तर्वस्तुलाई तत्वहरु तथा गुणहरुको कुनै अव्यवस्थित योगको समान बनाइएको थियो, जसले अन्तर्वस्तुमाथि रुपको प्राथमिकताविषयक आदर्शवादी धारणाहरुलाई सुदृढ बनाउन र लामो ऐतिहासिक अवधिसम्म रहीरहनमा योगदान गरेको थियो । भौतिकवादी द्वन्द्ववादमा संरचना, आन्तरिक व्यवस्थाबद्धतालाई अन्तर्वस्तुको अपरिहार्य अवयव मानिन्छ ।

    संरचनाको परिवर्तनसँग वस्तुको अन्तर्वस्तु, त्यसका भौतिक र रासायनिक गुणहरुमा पनि सारभूत परिवर्तन हुन्छन् । रुपको पनि, जसले अन्तर्वस्तुको विविध परिवर्तन, त्यसको अस्तित्वका विधिहरु र अभिव्यक्तिहरुलाई समावेश गर्दछ, आफ्नाे निश्चित संरचना हुन्छ । विकासको प्रक्रियामा अन्तर्वस्तु तथा रुपको वस्तुगत अधीनता क्रमानुसार, अन्तर्वस्तु तथा रुपको पारस्परिक क्रियामा अन्तर्वस्तुका विभिन्न तत्वहरुको रुपमाथि प्रभाव र साथसाथै रुपका विभिन्न तत्वहरुको अन्तर्वस्तुमाथि प्रभाव आवश्यक रुपले सामेल हुन्छ । अन्तर्वस्तु तथा रुपको पारस्परिक सम्बन्धमा अन्तर्वस्तु विषयका प्रमुख र निर्धारक पक्ष हो र रुप त्यो पक्ष हो, जुन अन्तर्वस्तुमा तथा त्यसको अस्तित्वका ठोस अवस्थाहरुमा परिवर्तनमाथि निर्भर भएर परिवर्तित हुन्छ । आफ्ने पालोमा रुपले सापेक्षिक रुपमा स्वतन्त्र हुनुको कारण अन्तर्वस्तुमाथि सक्रिय प्रभाव पार्दछ: रुपले, जुन अन्तर्वस्तुको अनुरुप हुन्छ, त्यसको विकासको गतिलाई तीव्र बनाउँदछ, जबकि रुपले, जुन परिवर्तित अन्तर्वस्तुको अनुरुप रहंँदैन, त्यसको अगाडिको विकासलाई अवरुद्ध गर्दछ ।

    अन्तर्वस्तु तथा रुपका पारस्परिक क्रिया द्वन्द्वात्मक प्रतिपक्षहरुका पारस्परिक सम्बन्धहरुको विशुद्ध उदाहरण हो, जसको विशेषता अन्तर्वस्तु तथा रुपको एकता र साथसाथै तिनीहरुको बीचमा अन्तर्विरोध तथा टकराव हो । अन्तर्वस्तु तथा रुपको एकता सापेक्ष, अस्थायी हो, विकासको प्रक्रियामा तिनीहरुको बीचमा अनिवार्य रुपले टकराव तथा अन्तर्विरोध उत्पन्न हुन्छन् । फलस्वरुप अन्तर्वस्तु तथा रुपको बीचमा विसंगति उत्पन्न हुन्छ, जसको अन्ततः पुरानो रुपको परित्याग र परिवर्तित अन्तर्वस्तुको तदनुरुप नयाँ रुपको उत्पत्तिको माध्यमबाट समाधान हुन्छ । अन्तरवस्तु तथा रुपको बीचका अन्तर्विरोधहरुको उत्पत्ति, विकास तथा तिनीहरुमाथि नियन्त्रण प्राप्ति, तिनीहरुको बीचमा संघर्ष (अन्तवस्तुको रुपमा तथा रुपको अन्तर्वस्तुमा संक्रमण, पुरानो रुपमा नयाँ अन्तर्वस्तुको समावेश, अन्तर्वस्तुमाथि रुपको प्रभाव, आदि) विकासको द्वन्द्वात्मक सिद्धान्तका महत्वपूर्ण अवयव हुन् ।

    समाजको विकासमा अन्तर्वस्तु तथा रुपको अन्तर्सम्बन्ध विशेषगरी जटिल तथा द्वन्द्ववादको दृष्टिले अन्तर्विरोधपूर्ण छ । उत्पादनको विधि, आधार तथा उच्च संरचना, अर्थव्यवस्था तथा राजनीतिमा अन्तर्वस्तु तथा रुपको बीचमा अन्तर्विरोध सामाजिक विकासका सबभन्दा महत्वपूर्ण उत्प्रेरक शक्तिहरुमध्ये एक हो ।

    २) चिन्तनमा अन्तर्वस्तु तथा रुप तर्कशास्त्रका आधारभूत अवधारणाहरु हुन् । तर्कको रुपमा भौतिकवादी द्वन्द्ववादमा चिन्तनको अन्तर्वस्तुको अर्थ त्यो विशिष्ट स्वरुपमा प्राकृतिक र सामाजिक यथार्थ हो, जसमा त्यो वैज्ञानिक तथा सैद्धान्तिक चिन्तनको विषयको रुपमा अगाडि आउँदछ, अर्थात् संज्ञानको ऐतिहासिक विकासको क्रममा मूर्त हुने अवधारणाहरु, विचारहरु, सिद्धान्तहरु, विभिन्न प्रकारका अमूर्तकरणहरु तथा आदर्शीकरणहरुको योगको रुपमा ।

    चिन्तनका रुप वैचारिक क्षेत्रमा विषयसँग सामाजिक कर्ताको क्रियाकलापका विभिन्न विधिहरु हुन्, जुन चिन्तनको अन्तर्वस्तुमा वस्तुगत यथार्थका नियमसंगतिहरु र गुणहरुको पुनर्सिजनातिर लक्षित हुन्छन् (प्रवर्ग, अमूर्तकरणबाट मूर्ततिर अग्रग्ति, अनुमानका विभिन्न रुपहरु, आदि) । चिन्तनका रुपहरुको कुल योगले एउटा निश्चित ढंगबाट संज्ञानात्मक अन्तर्वस्तुलाई संगठित गर्दछ र नयाँ ज्ञानको प्राप्तिको कर्ताको चिन्तनलाई निर्देषित गर्दछ ।

    ३) कलामा अन्तर्वस्तु तथा रुप समग्र रुपमा कलाको अथवा कलाका पृथक–पृथक कृतिहरुका परस्पर आश्रित पक्षहरु हुन्, जसमा अन्तर्वस्तुको अग्रणी भूमिका हुन्छ । कलाको अन्तर्वस्तु हो, विविधरुपी यथार्थ, त्यसको सौन्दर्यात्मक मौलिकतामा मुख्यतया मानिस, मानवीय सम्बन्ध, आफ्नाे सम्पूर्ण मूर्त अभिव्यक्तिहरुसहित समाजको जीवन ।

    रुप कलाकृतिको आन्तरिक संगठन, मूर्त संरचना हो, जसको रचना अन्तर्वस्तुलाई उद्घाटन गर्न, त्यसलाई मूर्त रुप दिनको लागि विशिष्ट आलंकारिक, अभिव्यंजनात्मक साधनहरुको सहायताबाट गरिन्छ । कुनै कलाकृतिको अन्तर्वस्तुका मुख्य तत्वहरु हुन्, त्यसको विषयवस्तु तथा विचार । विषयवस्तुले जीवनका परिघटनाहरुको परिधिलाई प्रकट गर्दछ, जसलाई यो कृतिविशेषमा अभिव्यक्त गरिन्छ ।

    विचारले यथार्थका पुनःसृजित परिघटनाहरु तथा टकरावहरुको सारलाई व्यक्त गर्दछ, सौन्दर्यात्मक आदर्शको दृष्टिकोणबाट यिनीहरुको कलात्मक तथा भावनात्मक मूल्यांकन गर्दछ र यसरी मानिसलाई निश्चित सौन्दर्यात्मक, नैतिक तथा राजनीतिक निष्कर्षहरुसम्म पु¥याउँदछ । कुनै कलाकृतिको कलात्मक रुपका अनेक पक्षहरु हुन्छन् । त्यसका मुख्य तत्वहरु हुन् विषय, रचना, कलात्मक भाषा, अभिव्यंजनात्मक साधन (शब्द, अनुप्रास, लय, स्वरशैली, स्वरसंगति, वर्ण, रंजन, रेखाचित्र, अभिकल्प, प्रकाश–छायाँचित्रण, आयाम, नृत्य–पग, मंचन, फिल्म, आदि) । आकारवादको विपरीत, जसले अन्तर्वस्तुलाई रुपबाट पृथक गर्दछ, तथा प्रकृतिवादको विपरीत, जसले यिनीहरुलाई समान मान्दछ, माक्र्सवादी सौन्र्यशास्त्रले अन्तर्वस्तु तथा रुपको बीचमा अविच्छिन्न एकता तथा सामन्जस्यलाई कलात्मकताको एउटा सबभन्दा महत्वपूर्ण कसी मान्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार